खडेरीले पानीका मुहानहरु सुकेर पूर्वका विभिन्न स्थानमा पानीको अभाव हुन थालेको छ । वर्षैभरि पानी बगिरहने मुहानहरु पनि क्रमशः सुक्न थालेपछि जनजीवन कष्टकर बन्न थालेको छ । कतिपय जिल्लामा सदरमुकाम तथा केही गाविसमा पनि घर–घरमा धारा पु¥याइएका छन् तर पानी भने आउन छाडेको छ । कतिपय पोखरी र इनारहरु पनि सुक्न थालेका छन् । ताप्लेजुङ नगरपालिकासहित हाङ्देवा, फुरुम्बु, लित्तिम, लेलेप लगायत माथिल्लो क्षेत्रका सबै ढुङ्गेधारा, सधैँ बगिरहने खोल्सा र पोखरी पनि सुक्न थालेका समाचार प्रकाशमा आएको छ । तीनजुरे–मिल्के–जलजले क्षेत्रमा पनि यही स्थिति छ । त्यसो त तराईका जिल्लाहरुमा पनि पोखरी र इनारहरु सुक्न थालेका छन् । पानीको सतह तल जाँदा कतिपय ट्युबवेलमा पनि पानी आउन छाडेको छ ।
पुस माघमा परेको हिउँ जेठ–असारसम्म हिमालमा रहने भए पनि यो वर्ष भने फागुन–चैतदेखि नै हिमाल सुक्खा र फुस्रो देखिएका छन् । हिमाल नै रितिन थालेपछि खोलाहरुमा पनि पानीको मात्रा घटेको छ । यसले गर्दा सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । सिँचाइका साथै खानेपानीको पनि हाहाकार मच्चिँदा खेतीपातीमा पनि नकारात्मक असर पर्न थालेको छ । सिँचाइ अभावमा कृषिको उत्पादकत्व घट्ने निश्चित छ । यसले सम्बन्धित किसानलाई मात्र नभएर देशका सम्पूर्ण नागरिक र सिङ्गो देशकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ ।
यो अवस्थालाई अन्त्य गर्न सरकारको ध्यान यसतर्पm जानु आवश्यक छ । पानीका मुहान सुक्दै जानुका कारण खोज्न सरकारले विज्ञहरुको टोलीमार्पmत् अध्ययन गरी समाधानका वैकल्पिक उपायहरु पनि खोज्नु अपेक्षित छ । पानीका मुहान र जलाधार क्षेत्र संरक्षणमा विशेष योजना सञ्चालन नगर्ने हो भने समस्या झन् विकराल बन्दै जाने देखिन्छ । यसका लागि बेलैमा काम नथाल्ने हो भने पछि पश्चाताप गर्नुको कुनै अर्थ हुने छैन ।
त्यसो त विज्ञहरुले ‘ग्लोबल वार्मिङ’ को प्रभावले वातावरणमा असन्तुलन हुँदा यस्ता समस्याहरु देखिने गरेको बताउने गरेका छन् । प्राकृतिक स्रोतहरुको अत्यधिक दोहन र कार्बनको बढ्दो उत्सर्जनले प्राकृतिक असन्तुलन बढाएर अनेक समस्याहरु सिर्जना भइरहेका छन् । पानीको मुहान सुक्नुको कारण पनि यही हो । त्यसैले वातावरणीय सन्तुलनका लागि प्रकृतिको संरक्षण गर्न जनचेतना पैmल्याउने काममा पनि सरकारले चासो देखाउनु आवश्यक छ ।