सुनसरी / पहाडी क्षेत्रहरुमा परेको अविरल बर्षाको कारण सप्तकोशीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । koshi barrage वर्षाका कारण विभिन्न खोला तथा नदीहरु बढ्दा त्यसको प्रत्यक्ष प्रभाव सप्तकोशी नदीमा पर्ने गरेको छ । सातवटा नदीहरु मिलेर बनेको सप्तकोशी र त्यससँग मिसिने अन्य खोलाहरुको पानी आउँदा सप्तकोशीको बहाव यसवर्षको उच्च मापन गरिएको हो । गए राति पानीको बहाव २ लाख ३३ जहजार आठसय ८० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको कोशी ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । तर, आज बिहान भने केही घटेको कक्षले जानकारी दिएको छ । बिहान ९ बजेको मापन अनुसार बहाव १ लाख ९८ हजार ९ सय ८५ क्यूसेक प्रतिसेकेन्ड मापन भएको नियन्त्रणकक्षका भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । पहाडी जिल्लाहरुमा हुने वर्षा अनुसार नै कोशी नदीमा जलस्तर बढ्ने भएकाले सोहीअनुसार बहाव घटबढ भइरहेको र अहिले कूल ५६ वटा ढोकामध्ये २० वटा खोलिएको अधिकारीहरुले जनाए । ९ लाख क्यूसेक प्रतिसेकेन्ड पानी बवाव गर्ने क्षमता रहेको कोशी ब्यारेजमा वर्षौंदेखि थुप्रिएको बालुवाले तीन लाख क्यूसेकमै पानी झण्डै पुल नै छुने गरी बग्ने गर्छ । बहाव क्षमता कम भएकाले अहिले डेढलाख क्यूसेक भन्दा बढी पानी हुनासाथ कोशी ब्यारेजमा खतरा सूचक रातो झण्डा लगाउने गरिएको छ ।