धरान/महान्यायाधिवक्ता हरि फुँयालले संविधानको सङ्क्रमणकालीन व्यवस्थामा प्रधानमन्त्री पुनःनिर्वाचित हुने व्यवस्था नभए पनि राष्ट्रपतिलगायतको पुनःनिर्वाचनको व्यवस्था रहेको बताएका छन् । hari puyalसोमबार साँझ ब्लाष्टसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गरे राष्ट्रपति–उपराष्ट्रपतिलगायतको पुनःनिर्वाचन हुन सक्ने सङ्केत गरे । फुँयालले प्रधानमन्त्री केपी शर्मा ओली पद त्याग गरी सत्ता हस्तान्तरणका लागि तयार रहेको तर संवैधानिक व्यवस्थाका कारण समस्या भएको जिकीर गरे । उनले संविधानको धारा २९८ मा अविश्वासको प्रस्ताव पेश गरी प्रधानमन्त्रीलाई हटाउन सक्ने व्यवस्था रहे पनि पुनःनिर्वाचन गर्ने व्यवस्था नरहेको जनाए । संविधानको धारा ३०५ बमोजिम सङ्क्रमणकालीन व्यवस्थामा बाधा अड्काउ फुकाउ गर्नुपरेमा मन्त्रिपरिषद्बाट निर्णय गरी राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया संसद्मार्पmत् अघि बढाउन सक्ने उनले बताए । तर सो प्रक्रियालाई संसद्ले अनुमोदन गर्नुपर्ने उनको भनाइ छ । फुँयालले संविधानको धारा २९७ (४) मा राष्ट्रपति र उपराष्ट्रपति को तथा २९९(८) मा सभामुख र उपसभामुखको पुनःनिर्वाचनको व्यवस्था रहेको भन्दै प्रधानमन्त्रीको पुनःनिर्वाचन गरिए राष्ट्रपतिलगायतका पदहरुमा पनि पुनःनिर्वाचन हुनसक्ने सङ्केत गरेका हुन् । प्रधानमन्त्री ओली सत्ता हस्तान्तरणका लागि तयार रहेको जिकीर गर्दै उनले त्यो प्रक्रियाका लागि शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग प्रमले छलफल थालेको जानकारी दिए ।