धरान \ साउन २२ लाई कालोदिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले शनिबार लिम्बुवानको ९ जिल्ला बन्द गर्ने घोषणा गरेको छ । १८३१ साउन २२ गते कै दिन लिम्बुवानसँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै कालो दिनको रुपमा परिषद्ले मनाउँदै आएको छ । २०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गराउँदै आएको छ । janamukti बन्दमा उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात, बजार पूर्ण रुपमा बन्द गरिदिनको लागि परिषद्ले आह्वान गरेको छ । बन्दको अवज्ञा गरी कुनै पनि क्षति भए स्वयम जिम्मेवारी हुनु पर्नेसमेत परिषद्ले चेतावनी दिएको छ । बन्द बिहानको ५ बजेदेखि साँझ ५ बजेसम्म रहने पार्टीका केन्द्रीय उपाध्यक्ष एवं लिम्बुवान इन्चार्ज चन्द्रबहादुर खापुङहाङले बताए । उनले आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान राज्यको पक्षमा पार्टी रहेको बताए । बन्दमा प्रेश, कुटनीतिक नियोगका गाडी, परीक्षार्थी बोकेको गाडी, एम्बुलेन्स, शब बाहान तथा मोटरसाइकलहरुलाई छुट दिने बताइएको छ ।