काठमाडौँ/ उपत्यकाका प्रमुख नदी सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १६९ औँ हप्तामा आज बल्खुपुलको ललितपुर क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आजको सफाइमा समाजसेवी विनित अग्रवालले सफाइका लागि ५० जोर गम बुट, ५० वटा थुन्चे, १०० जोर पञ्जालगायत सामग्री हस्तान्तरण गर्नुभयो । सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नवजीवन विद्यालय सामाखुसी, सिजन मिडिया मिस टिन कलेज प्रतियोगिताका २५ प्रतिस्पर्धी र अभिभावक, लगायतको सहभागिता रहेको बागमती समितिका सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापा, कलाकार सुनिल थापा लगायतका अभियानकर्मीको सहभागिता थियो । विष्णुमती सफाइको १०४ औँ हप्तामा आज टेकु दोभानस्थित कुलेश्र महादेव मन्दिर क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राष्ट्रिय झन्डा जोगाऔँ अभियान लिएर ७५ जिल्लाको यात्रा गर्नुभएका लक्ष्मी प्रजापतिको सहभागिता रहेको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । रुद्रमती सफाइको १२८ औँ हप्तामा आज रातोपुल–सिफल– कालोपुल– भत्केको पुलसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका वरिष्ठ उपाध्यक्ष रोहित गिरिले बताउनुभयो । सफाइमा वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, आनन्दभूमि स्कुललगायतका संस्थाको सक्रियता थियो । यसैगरी नख्खुखोलामा नख्खुखोला सुधार समिति, गुह्येश्वरीमाथिको बागमतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी लगायतका संस्थाले सफाइ गरेका थिए ।