चितवन/कार्यालय चितनवले जिल्लामा घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको छ। प्रहरीको विभिन्न युनिटबाट सञ्चालन गरेको उक्त अभियानअन्तर्गत एकैदिन कच्चा पदार्थसहित झन्डै १० हजार लिटर घरेलु मदिरा नष्ट गरेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। उनका अनुसार जिल्लामा रहेको प्रहरीको १० वटा युनिटले सोमबार दिनभर विभिन्न क्षेत्रमा अभियान चलाएको थियो। उक्त अभियानमा चितवनका विभिन्न क्षेत्रबाट मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ सात हजार ६३० लिटर र तयारी घरेलु मदिरा दुई हजार ७० लिटर बरामद गरी नष्ट गरिएको थियो। यस्तै मदिरा बनाउन प्रयोग हुने १०६ थान भाँडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ। यो अभियानलाई निरन्तर अघि बढाउने चितवन प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरसहित नारायणगढ, चनौली, गीतानगर, भण्डारा, लोथर भोजाड, दिव्यनगर बछ्यौली, मुग्लिन क्षेत्रमा एकैचोटी मदिरा नियन्त्रण अभियान सञ्चालन गर्दा यसरी बरामद गरी नष्ट गरिएको हो। निर्वाचन नजिकिएसँगै घरेलु मदिराको प्रयोग पनि बढ्न सक्ने भएकाले यसतर्फ समेत निगरानी गरिएको प्रहरीले जनाएको छ।