काठमाडौं/ सरकारले तोकेभन्दा लाखौं बढी शिक्षण शुल्क असुल्ने निजी मेडिकल कलेजले पढाइ पूरा गरेपछि काममा लगाउँदा दिने सुविधामा भने चरम शोषण गर्ने गरेको पाइएको छ। मेडिकल कलेजमा एमबिबिएसअन्तर्गत साढे चार वर्षको अध्ययन पूरा गरेपछि एकवर्षे प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) अवधिमा दिने निर्वाह भत्तामा चरण शोषण हुने गरेको हो।

अधिकांश निजी मेडिकल कलेजले पर्याप्त मेडिकल अफिसर राख्दैनराखी इन्डोर, इमर्जेन्सी सेवा इन्टर्नकै भरमा चलाइरहेका छन्। सैद्धान्तिक अध्ययन पूरा गरेपछि विद्यार्थीले सम्बन्धित मेडिकल कलेजको शिक्षण अस्पतालमा वरिष्ठको मातहतमा एक वर्षको इन्टर्नसिप गरेपछि मात्रै स्वतन्त्र रुपमा काम गर्न पाउँछन्। त्यसमा पनि भर्नाका समयमा कलेजहरुले निर्वाहभत्ता उपलब्ध गराउने शीर्षकमा तीन लाखसम्म लिने गर्छन्। इन्टर्नसिपको समयमा अध्ययन पनि सँगसँगै हुन्छ। तर, चिकित्सकलाई खानेबस्ने सुविधा होस् भनेर भत्ता दिने अन्तर्राष्ट्रिय प्रचलन छ। एमबिबिएस पास भइसकेको अवस्थामा पनि चिकित्सक इन्टर्नसिपका समयमा कलेजबाटै ठगिने गरेका छन्।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका ६ मेडिकल कलेजका विद्यार्थीले निर्वाह भत्ता न्यायोचित नभएको भन्दै बढाउन माग गरेर डिन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले पारिश्रमिकसहित काम गर्ने समयसमेत स्पष्ट तोक्न माग गरेका छन्। काठमाडौं विश्वविद्यालयअन्तर्गतका १० मेडिकल कलेजले भने औसत १२ हजार निर्वाह भत्ता दिइरहेका छन्।

विद्यार्थीका अनुसार कलेजले इन्टर्न विद्यार्थीलाई साताको १ सय २० घन्टासम्म काम गराउने गरेका छन्। अस्पतालले इन्टर्नलाई लगातार ३२ घन्टासम्म काम लगाउने गरेको भनाइ चिकित्सकको छ। अधिकांश निजी मेडिकल कलेजले मेडिकल अफिसर (एमबिबिएस चिकित्सक) पर्याप्त राख्दैनराखी इन्डोर, इमर्जेन्सी सेवा इन्टर्नकै भरमा चलाइरहेका छन्, जसले गर्दा सेवाको गुणस्तर कम हुने, जोखिम अवस्थाका बिरामीलाई समस्या देखिने र इन्टर्नले समस्याको समयमा वरिष्ठ चिकित्कबाट सल्लाहसमेत लिन नपाउँदा सिकाइसमेत कमजोर हुने गरेको छ।

बढी घन्टा काम लगाउने तर सुविधा भने निकै कम भएको गुनासो विद्यार्थी चिकित्सकको छ। कामप्रतिको सम्मान हुनेगरी पारिश्रमिक खोजेको गण्डकी मेडिकल कलेजका इन्टर्न डाक्टर पुरुषोत्तम अधिकारीले बताए।

विद्यार्थीका अनुसार आइओएमले मातहतको त्रिवि शिक्षण अस्पतालमा कार्यरत इन्टर्न डाक्टरलाई मासिक १५ हजार दिन्छ। केयूअन्तर्गतका मेडिकल कलेजका विद्यार्थीले महिनाको ११ हजार भत्ता र रात्रि ड्युटीको अतिरिक्त १ हजार ५ सय पाउँछन्।

गर्कोस्थित किस्ट मेडिकलमा कार्यरत इन्टर्नले ९ हजार ६ सय, चितवन मेडिकलमा १० हजार, नेसनलमा १० हजार, जानकीमा ८ हजार ५ सय, युनिभर्सलमा ९ हजार ५ सय र गण्डकीमा कार्यरतले ९ हजार ६ सय निर्वाह भत्ता पाउँछन्।

जानकी मेडिकल कलेजका इन्टर्न डाक्टर चित्र गिरीले समस्याबारे त्रिविअन्तर्गतका प्रमुख कलेजका इन्टर्न डाक्टरले हस्ताक्षर संकलन गरी आइओएम डिनलाई बुझाएको जानकारी दिए। ‘कलेजसँग सुविधा पुनरवलोकन गर्न पटकपटक माग गरे पनि सुनुवाइ नभएपछि आइओएम पुग्नुपरेको हो,युनिभर्सल मेडिकल कलेजका इन्टर्न चिकित्सक सुमन अधिकारीले भने।

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. जगदीशप्रसाद अग्रवालले इन्टर्नहरुले ज्ञापनपत्र बुझाउनासाथ कलेजलाई पत्राचार गरेर जबाफ मागेको बताए। ‘कति घन्टा काम लगाउनुभएको छ र कति पैसा दिने गर्नुभएको छ ? लेखेर पठाउने भनी पत्राचार गरेको छुु, अग्रवालले भने, ‘यसको सिरियस्ली फलोअप हुन्छ। उनले एक स्तरको सीप र ज्ञान भएका विद्यार्थीलाई दिनुपर्ने सुविधा न्यायोचित र वैज्ञानिक हुनुपर्ने बताए।

निजी मेडिकल कलेजले महंगो शुल्क उठाए पनि कर्मचारी तथा चिकित्सकलाई शोषण गर्ने गरेको थुपै्र घटना यसअघि नै बाहिर आइसकेका छन्। इन्टर्नसिप गरिरहेका चिकित्सकको सन्दर्भमा पनि युनिभर्सल मेडिकल कलेजमा तीन वर्षअघि र नोवल मेडिकल कलेजमा दुई वर्षअघि आन्दोलन भएको थियो। आन्दोलनपछि केयूमातहतका कलेजमा निर्वाह भत्तामा एकरुपता कायम गरिएको थियो। आइओएमअन्तर्गतका कलेजमा भने आन्दोलन चर्किए पनि सञ्चालकले प्रलोभन र त्रास देखाएर तुहाउने गरेको आरोप विद्यार्थीको छ। ‘अहिले पनि इन्टर्नसिप अवधि लम्ब्याइदिने र भएको भत्ता पनि काट्ने धम्की आइरहेको छ,एक विद्यार्थीले भने।