धरान/कोशी अञ्चल प्रहरीले सञ्चालन गरेको ‘डेल्टा अप्रेशन’ ले एक युवालाई लागूऔषधसहित घरबाटै पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कोशी अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले धरान–१५ का ३० वर्षीय भुवन अधिकारीलाई घरबाटै पक्राउ गरेको हो । सोमबार साँझ ५ बजेतिर घरपछाडी रहेको ट्वाइलेटमा टिनले छोपेको अवस्थामा कालो प्लाष्टिक भित्र एभिल, डाइजेलाव, लुपिजेसिक गरी १६८ एम्पुल लागूऔषध र १ सय क्याप्सुल स्पामोप्रोक्सिभन नामक लागूऔषध बरादम गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बरामद सामग्रीसहित अधिकारीलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । उनलाई लागूऔषध मुद्दामा अनुसन्धान सुरु भएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तमकुमार कार्की सरुवा भएर आए लगत्तै कोशी अञ्चलभरी डेल्टा अप्रेसन सुरु गरेको छ । जस अन्तर्गत विभिन्न चरणमा लागूऔषधहरु बरामद् गरिसकेको छ ।