केराबारी / लामो समयदेखि रिक्त स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी एमालेका नेता कार्यकर्ताहरुमा उम्मेदवारको आकांक्षी बढी देखिएका छन् ।

केराबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि तीन–तीन जनाको नाम सिफारिस भएपनि टुंगो लागि सकेको छैन । गाउँपालिकाको अध्यक्षको लागि नेकपा एमालेको तर्फबाट डिल्लीराम शर्मा अधिकारी, प्रेम महत, शान्ति भूजेलको नाम चर्चामा छ ।

अध्यक्षका लागि कांग्रेसवाट प्रकाश वस्नेत, रोहित कार्की, तिलक ठाडा मगरको नाम चर्चामा रहेको छ । बस्नेत केराबारी गाउँपालिकाको संयोजक हुन भने कार्की र मगर क्रसर व्यवसायी हुन् । यद्यपि कार्की क्षेत्रीय सभापतिसमेत सम्हालिसकेका पार्टीका नेता हुन् ।

नेकपा माओवादी केन्द्रले केराबारी गाउँपालिकामा सबैभन्दा पहिले चुनावी प्रचार–प्रसार अभियान थालेपनि उम्मेदवारी घोषणामा भने पछि परेको छ ।

पार्टी कमिटीबाट गाँपालिकाको अध्यक्षमा हस्तबहादुर लिम्बू, भक्तशेर लिम्बू र चुरानसिंह बिकलाई सिफारिस गरेको छ ।

माओवादीले सिंगो गाउँपालिकाको ४ वार्डमा आफ्नो जित हुने दाबी गरेको छ । पार्टीभन्दा पनि व्यक्ति हेरेर यसपटक मतदान गर्ने पक्षमा रहेका मतदाताहरुको चाहना अनुसार जनताले रुचाएका र केही गर्न सक्ने क्षमता भएका सबैलाई मिलाएर लान सक्ने उम्मेदवारीको छनोट गर्न क्रममा रहेकोले केही दिनमा नै सबै टुंगो लाग्ने माओवादीले जनाएको छ ।