स्थानीय तहको पहिलो चरणमा भएको निर्वाचनको परिणाम धमाधम आइरहेका छन् । बुधबारसम्म दिएको मतपरिणामअनुसार तीन ठूला दलहरु काङ्ग्रेस, एमाले र माओवादी नै अग्रपङ्क्तिमा देखिएका छन् । पछिल्लो संविधानसभा निर्वाचनमा निकै राम्रो मतका साथ चौथो स्थानमा उपस्थिति देखाएको राप्रपा भने यसपटक धेरै खस्किएको देखिएको छ ।

अधिकांश स्थानमा राप्रपा निकै पछाडि छाडिएको छ । बरु मतदाताहरुले नयाँ दलका नयाँ उम्मेदवारहरुप्रति रुचि देखाएको देखिन्छ । काठमाडौँ महानगरपालिकाका मतदाताले साझा पार्टीका किशोर थापा र विवेकशील पार्टीका रञ्जु दर्शनाप्रति देखाएको चासोले यसलाई पुष्टि गर्छ । कुनै जनाधार नै नभएका दलका यी उम्मेदवारहरुले प्राप्त गरेको प्रारम्भिक मतका आधारमा के भन्न सकिन्छ भने मतदाताहरुले परिवर्तनका पक्षमा आप्mनो अभिमत जाहेर गरेका छन् ।

यसले पुराना दलहरुप्रति उनीहरुको अविश्वासलाई पनि प्रकट गरेको छ । दलहरुले मतदाताहरुको यो मनस्थितिलाई बेलैमा बुभ्mनु आवश्यक छ । मतदाताहरु नयाँ दलप्रति किन आकर्षित हुन्छन् ? पुराना दलहरुप्रति उनीहरुको अविश्वासको कारण के हो ? यस विषयमा दलहरुभित्र आन्तरिक छलफल र बहस हुन आवश्यक छ ।

हुन त यो गोप्य विषय भने होइन । सबैलाई थाहा छ– पुराना दलहरुको कार्यशैली । चुनावका बेला ठूल्ठूला भाषण गर्ने, घोषणापत्रमा पूरा हुन नसक्ने सपनाका अनेक महलहरु खडा गर्ने र जितेपछि फर्किएर मतदाताका बीच नजाने, वाचा पूरा गर्न आवश्यक नठान्ने तथा भ्रष्टाचार र अनेकौँ अराजक क्रियाकलाप गर्ने तिनका कार्यशैली देखिएकै हुन् ।

यसैकारण मतदाता विकल्पको खोजीमा छन् । अब पनि दलहरुले आप्mनो कार्यशैलीमा सुधार नगर्ने हो भने मतदाता सधैँभरि पुरानै दलहरुका पछाडि कुदिरहन्छन् भन्ने कसैले पनि नठाने हुन्छ । सशक्त विकल्प पाएमा मतदाताले कुनै पनि बेला फरक बाटो रोज्न तयार हुनेछन् । तदाताहरु अब धेरै सचेत भइसकेका छन् ।

उनीहरुले दलहरुले आप्mनो स्वार्थअनुकूल गरेका तालमेललाई पनि खारेज गरिदिएका छन् । अब नेतृत्वले गरेको हरेक निर्णय तल्लो तहका कार्यकर्ता अथवा मतदाताले अक्षरशः पालना गर्छन् भन्ने स्थिति रहेन । कार्यकर्ता र मतदाताले अाफ्नाे विवेक प्रयोग गर्छन् । कार्यकर्ता र मतदातामा यो स्तरको चेतना आएको देखिन्छ ।

जनभावनाविपरीत निर्णय गर्ने नेताहरुका लागि पनि यो महत्वपूर्ण पाठ हो । दल र तिनका नेताहरुले यसबाट शिक्षा लिनु आवश्यक छ । आम मतदाताको यो मानसिकतालाई बुझेर दलहरुले जनभावनाअनुसार चल्नु आवश्यक छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि इमानदारीपूर्वक नागरिकको सेवामा अाफुलाइ समर्पित गर्नुपर्छ । अन्यथा अर्को निर्वाचनमा मतदाताले अवश्य पनि विकल्प खोज्नेछन् । यसलाई सबैले हेक्का राख्नुपर्छ । नागरिक भाषण सुन्न होइन, काम देख्न चाहन्छन् ।