ह्वाइट हाउसमा डोनाल्ड ट्रम्प कार्यकालको एक सय औं दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रम र त्यसपछि पनि मेलानिया ट्रम्पको पहिरन चर्चा भइरहेको छ । एक सयौं दिनसम्म उनले लगाएका हरेक पहिरनका बारेमा मिडियाले चर्चा गर्दै आएको छ । डेलिमेलका अनुसार स्कर्ट र कोटका साथमा म्याचिङ सुजु उनको पहिलो छनोट बनेको छ । प्रत्येक पहिरनमा लगाउने बेल्ट उनको सिग्नेचर फेसन बनेको छ । मेलानियाले हालै चार हजार एक सय डलरको पेन्सिल स्कर्टसँग जोडी मिल्ने कोट लगाएर अर्जेन्टिनाको प्रथम महिला जुनियाना आवादालाई भेटेकी थिइन् । उक्त पहिरन डिजाइनर जोसेफ अल्टुजाराले तयार गरेका थिए । ट्रम्पको चुनावी अभियानमा पनि जोसेफले मेलानियाका लागि सजिलो, रमाइलो र स्मार्ट देखिने पहिरन बनाइदिएका थिए । कम्मरमा बेल्ट भएका गाउन उनको सिग्नेचर ब्रान्ड बनेको छु, जोसेफले भनेका छन्, यस्ता पहिरनले उनको फिगरलाई अझै आकर्षक देखाउँछ । कम्मरमा बेल्ट भएका गाउन मेलानिया ट्रम्पको सिग्नेचर ब्रान्ड बनेको छ । यस्ता पहिरनले उनको फिगरलाई अझै आकर्षक देखाउँछ। डोनाल्ड ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति बनेपछि उनकी पत्नी मेलानिया प्रथम महिला पनि विश्वभर चर्चाको पात्र बनेकी छन् । डोनाल्डले राष्ट्रपतिको शपथग्रहण गर्दा मेलानियाले लगाएको पहिरनमा अन्तर्राष्ट्रिय मिडियाको ध्यान केन्द्रित भएको थियो । स्लोभानियानी मोडलबाट प्रथम महिलाजस्तो शक्तिशाली पदमा पुगेकी मेलानिया पहिलेदेखि नै फेसनप्रति सचेत थिइन् । प्रथम महिलाका रूपमा केही समयअघि उनी विदेश भ्रमणको क्रममा जोर्डन पुगेकी थिइन् । जोर्डनकी रानी क्विन रानियाको साथमा उनको पहिरन र व्यक्तित्व खुलेको थियो । क्विन रानियालाई संसारको सर्वाधिक फेसनेबल र प्रभावशाली महिलाको रूपमा लिइन्छ । त्यस्तै चिनियाँ राष्ट्रपति सि जिंगपिंगलाई भेट्दा पनि निकै मेलानिया उत्तिकै आकर्षक रूपमा प्रस्तुत भएकी थिइन् । मेलानिया जुनसुकै पहिरनमा १२ क्यारेटको इन्गेजमेन्ट रिङ लगाउन छुटाउँदिनन् । फेसन स्टायलसम्बन्धी लेख्दै आएका राचेल रुबिटजका अनुसार मेलानिया कहिल्यै नराम्रो ड्रेसअप गर्दिनन् । आफू कसरी आकर्षित र राम्री देखिन्छु भन्ने उनले राम्ररी बुझेकी छन् । अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त डिजाइन डियोर, गिभान्ची, डोल्स एन्ड गब्बानका डिजाइनहरू उनले प्रयोग गदैए आएकी छन् । चुनावी अभियानका क्रममा ट्रम्पको राजनीति रणनीतिविरुद्धमा रहेका केही डिजाइनरले भने उनका लागि पहिरन डिजाइन गर्न अस्वीकारेका थिए । विश्व प्रसिद्ध फेसन पत्रिका भोगको कभरमा मेलानिया सन् २००५ मा विवाहको गाउनमा छाइसकेकी छन् । प्रथम महिला बनेपछि भने कभरमा उनी आएकी छैनन् । सो पत्रिकाको कभरमा हिलारी क्लिन्टन र मिसेल ओबामा पनि छाइसकेका छन् । हुन त ट्रम्प कार्यकालको एक सय औं दिनसम्ममा मेलानियाको आलोचना पनि नभएको होइन । एसोसिएट प्रेसका अनुसार डोनाल्ड पत्नी मेलानियाले आप्रवासी कानुन तोडेको आरोप छ । उनलाई काम गर्ने अनुमति नलिई अमेरिकाका दसवटा मोडलिङ एजेन्सीमा काम गरेको आरोप लागेको छ । तर उनले आफू कानुनसम्मत नै अमेरिकामा छिरेको र सोहीअनुसार काम गर्दै आएको बताएकी छन् । आप्रवासीप्रति निकै रुष्ट राष्ट्रपति डोनाल्डले उनकी पत्नीका बारेमा गरिएका टिप्पणी सही नभएको दाबी गरेका छन् । डोनाल्ड र मेलानियाको भेट एक मोडलिङ प्रतियोगितामा भएको थियो ।

एजेन्सी