गत साता नेपाल शाकाहारी समाजले वनभोज आयोजना गर्‍यो । भोजमा सहभागी एक शाकाहारीले बडा आकर्षक टिसर्ट लगाएका थिए । उनको टिसर्टभन्दा आकर्षक थियो त्यसको अग्रभागमा लेखिएको वाणी : माई स्टमक इज ए गार्डेन, नट ए ग्रेभयार्ड (मेरो पेट फूलबारी हो, चिहानघारी होइन) ।वनभोजमा शाकाहारीहरूले आफ्ना अनुभव साटासाट गरे र आफूले परिवार या टोलछिमेकमै सबैलाई शाकाहारी हुन प्रेरित गरिरहेको सुनाए। फलफूल, सागपात, अनाज, काजु, बदामलगायत वनस्पतिजन्य खाद्य पदार्थमात्र उपयोग गर्ने र अहिंसामा विश्वास गर्ने शाकाहारीको वनभोजमा सबैको मुहारमा बेग्लै खुसियाली थियो । विचार मिल्ने र व्यवहार पनि मिल्नेहरूको जमघट निकै रमाइलो र प्रेरणादायी पनि हुँदो रहेछ । एक शाकाहारी साथीले मनको कुरा खोले, 'म अन्तर्मुखी स्वभावको भएको हुँदा प्राय: बिदाको दिनमा घरमै बस्न रुचाउँछु । तर, शाकाहारी वनभोजको निम्ता पाएपछि घरमै खुम्चिएर बस्न मन मानेन । यहाँ आएको त लाइक माइन्डेड साथीमात्र होइन, लाइक हार्टेड साथीहरूसँग भेट भयो । म अति खुसी छु ।' भेलामा शाकाहारी हुनुको तात्कालिक र दीर्घकालीन लाभको चर्चा भयो र हिंसामुक्त समाजको परिकल्पना पनि गरियो । यो आलेखमा शाकाहारी हुनुका लाभ के छन्, हामी किन आफ्नो रुचिलाई बदल्न सकिरहेका छैनौं र हामी बाँचिरहेको समाजमा मांसाहार र शाकाहारको हालको अवस्था र यसले संकेत गर्ने भविष्यको आकलन गरिनेछ । राजधानीमा दैनिक कति पशु मारिन्छ ? केही समयअघि गोरखापत्रमा प्रकाशित एक फिचरमा हरेक दिन राजधानीका बासिन्दाको मासुको माग पूर्ति गर्न पाँच सय राँगाभैंसी, एक हजार पाँच सय खसी, सात हजार कुखुरा, एक सय पचास सुँगुर र सात हजार किलो माछा बाहिरबाट आयात गरिने तथ्यांक दिइएको थियो । सोही समाचारमा यतिखेर कुखुराको मासुमा आत्मनिर्भर भए पनि खसीबोकामा सत्तरी प्रतिशत तथा राँगामा साठी प्रतिशत मासु भारतबाट आयात हुने गरेको खुलाइएको थियो । अर्को एक तथ्यांकअनुसार हरेक दिन सयौं ट्रक विभिन्न पशु लोड गरेर काठमाडौं भित्रन्छन् । एउटा ट्रकमा बीस वटासम्म राँगा, दुई सय वटासम्म बाख्रा खाँदेर ल्याइन्छ । काठमाडौंवासीले दिनकै सय टनभन्दा बढी त खसीको मासुमात्रै उपभोग गर्छन् । यो कुल उपभोगको २१ प्रतिशतमात्र हो । वनभोजमा भेला भएका हामी चानचुन सयजना शाकाहारी बडा उत्साहित भएर समाजलाई हिंसामुक्त र मानिसलाई अधिक मानवीय वनाउने कुरा गरे पनि राजधानीमा भइरहेको मांसाहारको यथार्थ चित्र यसप्रकार कहालीलाग्दो छ।
मृत जनावरलाई विसर्जन गर्ने चिहानमा हो, पेटमा होइन । पेट शरीरको राजधानी हो, मृत पशुको रक्तमांस पठाउने मुर्दाघर होइन ।
मान्छेको स्वभाव विचित्रको हुन्छ । मानिस औधी बुद्धिमान प्राणी भएर पनि निश्चित कुरामा आँखा चिम्लिन रुचाउँछ । अधिकांश मानिस सत्यतथ्य सुन्न चाहँदैनन्, किनभने जानेर वा नजानेर मानिसहरू आफू बाँचिरहन सहारा भएका भ्रमहरू रहिरहून्, भ्रमहरू कसैगरी टुट्न नपाऊन् भन्ने चाहन्छन् । अन्यथा शाकाहारी हुनुजस्तो स्वस्थ, वैज्ञानिक, नैतिक र पर्यावरणीय हिसाबले अत्यावश्यक भइसकेको विषयलाई वास्तै नगरी बस्ने थिएनन् । मानिस मासु किन खान्छन् ? मानिसहरूले मासु खान रुचाउने कारणमध्ये एउटा के हो भने तिनीहरू सोच्छन्, मासु खाएपछि साँढेजस्तै बलियो भइन्छ । तर, साँढेले त घाँसपात या अनाज खान्छ । यो सबै मांसाहारीलाई थाहा छ यद्यपि सत्यतथ्यभन्दा आफूलाई बाँच्ने बहाना दिएको भ्रम नै मानिसलाई प्रिय भइदिन्छ । कतिपय मानिस स्वादका लागि मासु खान्छन् । तर, मासुको स्वाद खासमा त्यसमा राखिएको अत्यधिक तेल, कृत्रिम मसला या मनोवैज्ञानिक कारणले आएको हो भन्ने तथ्य हेक्का राख्न चाहँदैनन् । मांसाहारी सोच्छन्, नियमित रूपमा मासु नखाए शरीरलाई पोषण पुग्दैन र कुनै पनि सिर्जनात्मक काम गर्नसमेत सकिँदैन । तर, संसारका महान् बुद्धिजीवी अरस्तु, प्लेटो, लियोनार्दो दा भिन्ची, सेक्सपियर, डार्विन, इमर्सन, अल्बर्ट आइन्सटिन, जर्ज वर्नार्ड शा, एच जी वेल्स, लियो टोल्सटोय, स्टिभ जब्स आदि सबै शाकाहारी थिए । उनीहरूको सिर्जनशीलता सबैले देखेकै छन् । विख्यात गायक ब्राएन आडम्स नेपालमा आउँदा आफ्ना कुकलाई सँगै लिएर आएका थिए । आडम्स पूर्ण शाकाहारी हुन् । यो हामी सबैले थाहा पाएकै कुरा हो । फलफूल, सागपात, दाल, अनाज एवं दुग्ध पदार्थबाट वनेको खाना सन्तुलित भोजन हुन्छ र यसले शरीरमा कुनै प्रकारको विषाक्तता पैदा गर्दैन । तर, खानामा मांसाहार समाविष्ट छ भने कुनै न कुनै प्रकारको विष शरीरमा प्रवेश गर्छ । हरेक प्राणीलाई आफ्नो प्राणको माया हुन्छ । पशु या पन्छीको हत्या गर्ने बेलामा उसको मनमा आसन्न मृत्युको पूर्वानुमानले ठूलो भय पैदा हुन्छ । भय पैदा हुँदा उसको शरीरमा अनेक प्रकारका विषाक्त रसायन फैलिन्छन् । ती पशुको मांस सेवन गर्दा ती विषहरू पनि मानिसले खान्छ र अन्तत: मानिसको शरीरमा पनि विषाक्तता भरिन्छ । यथा समयमा त्यो विषको प्रभाव प्रकट हुन्छ र मांसाहारीहरू रक्तचापको समस्या, युरिक एसिड, डिप्रेसन आदिबाट ग्रसित हुन्छन् । मांसाहार गर्दा जनवारबाट मानिसमा अनेक रोगहरू सर्ने गर्छन् । बर्ड फ्लुको आतंक सबैले थाहा पाएकै कुरा हो । साल्मोनेला संक्रमित पशुबाट त्यो रोग सजिलै मानिसमा सर्छ । हृदयाघातको सम्भावना मांसाहारीलाई भन्दा शाकाहारीलाई तीस प्रतिशत कम हुन्छ । शाकाहारीलाई डिप्रेसनको सम्भावना न्यून हुने विभिन्न वैज्ञानिक शोधबाट पत्ता लागेको छ । शाकाहारी मानिसलाई चल्तीका रोग लाग्ने सम्भावना न्यून हुन्छ, मांसाहारीलाई अधिक हुन्छ । किनभने मांसाहार मानिसको शरीरको प्रकृति र आवश्यकताअनुरूप छैन । मृत जनवारलाई विसर्जन गर्ने चिहानमा हो, पेटमा होइन । पेट शरीरको राजधानी हो, मृत पशुको रक्तमांस पठाउने मुर्दाघर होइन । संवेदना हुन्थ्यो भने मासु किन्ने बेलामा समझदार मानिसको अन्तरमनमा असहाय पशुको करुण क्रन्दन अवश्य गुञ्जिने थियो । तर, पशुको शरीर चपाउनेलाई दयामाया कहाँबाट आउँथ्यो । हामीलाई सानो चोट लाग्दा कति पीडा हुन्छ ? एउटा निर्दोष पशुको शरीरमा जिउँदै छुरा चलाउँदा कति पीडा हुँदो हा ? शक्तिसम्पन्न मानिसका सामु हरेक पशु असहाय हुने हुँदा ऊ आफ्नो प्राण दिन विवश छ, बाँच्न जति चाहे पनि विद्रोह गर्ने शक्ति छैन । अलिकति करुणा त मांसाहारीको मनमा पनि पैदा हुँदो हो । विश्व स्वास्थ्य संगठनले वैज्ञानिक अनुसन्धानपश्चात् स्वस्थ रहनका लागि सबैले खाने कुरामा एउटा नियम अपनाउनुपर्ने बताएको छ : फाइबर अर्थात् रेसादार खानेकुरा खाऊ, बोसोयुक्त खानेकुरा कम गर । रेसादार भोजन केवल शाकाहारी खानाबाट प्राप्त हुन्छ । फलफूल, सलाद, अंकुरित अनाज, गहुँको आटा या खैरो चामलमा अत्यधिक मात्रामा फाइबर र पोषक तत्र्व हुन्छ । मासुमा फाइबर शून्य हुन्छ, खराब कोलेस्ट्रोल र मोटोपन बढाउने बोसो अत्यधिक हुन्छ । मोटोपन मधुमेहलगायत अधिकांश रोगको जननी हो भन्ने तथ्य जाग जाहेर नै छ । शाकाहारी भोजनमा शरीरका हड्डी र दाँतहरू स्वस्थ एवं बलियो बनाउन अत्यन्त आवश्यक तत्र्व क्याल्सियम प्राप्त हुन्छ । तर, मांसाहारबाट क्याल्सियम प्राप्त हुँदैन । यी सबै यथार्थका बीच मानिसले मांसाहार त्याग्न सक्दैनन् । यो आश्चर्यको विषय हो । मांसाहार र विसंगति सबै मातापिताले आफ्ना बाबुनानीलाई बगैंचामा घुमाउन लैजान्छन् तर बधशालामा लग्दैनन् । बगरेको मासुपसल नजिकै हिँड्दा जस्तै मांसाहारीले पनि नाक छोपेको हुन्छ । मासुपसलबाट निस्कने दुर्गन्ध र मसानघाटबाट निस्कने गन्ध उस्तै हुन्छ । मांसाहारी हुनु जनावरको हत्यामा भागीदार हुनु हो । बाँच्ने हक पशुलाई पनि छ । प्राणीको हत्या गर्नु कुनै पनि अर्थमा मानवीय गुण होइन । जीवनमा संगति नहुँदा मानिस यो विसंगति जिउन विवश छ । भनिन्छ, हरेक मांसाहारी व्यक्तिले आफूले खाने मासुका लागि आफैंले जनावर मार्नुपथ्र्यो भने सबै शाकाहारी हुने थिए । हामीले मानिसको इतिहासमा सबभन्दा धेरै हिंसा गरेको दोष नाजीहरूलाई दिन्छौं । तर, मांसाहारीले खानका लागि हत्या गरिएका पशुको आँकडा नाजीहरूले मारेका मान्छेभन्दा कैयौं गुणा धेरै भइसकेको छ । यस हिसाबले प्रत्येक मांसाहारी नाजी जत्तिकै हिंसाको भागीदार हुने देखिन्छ । शाकाहारी संकल्प शाकाहारी हुन इच्छा छ भने सुरुमा एक या दुई महिनाका लागि मांसाहार नगर्ने संकल्प गर्न सकिन्छ । त्यति समयमा आफूमा आएको परिवर्तन अवलोकन गर्न सकिन्छ । शाकाहार गर्न थालेपछि शरीर हलुका हुन थाल्छ, स्वास्थ्य राम्रो हुन्छ र मनमा सकारात्मक विचार पैदा हुन्छन् । इमर्सनले भनेका छन्, मानिस प्रयोगका लागि शाकाहारी हुन आरम्भ गर्छ र अन्तत: यो प्रयोग एक सुखद अनुभूति बनेर जीवनशैलीमा रूपान्तरण हुन्छ । 'म बाँच्नका लागि कुनै पनि प्राणीले उसको बाँच्ने अधिकार गुमाउन नपरोस् । 'यो सद्विचार मात्रले शाकाहारी हुने संकल्प गरेको हरेक व्यक्तिको मनमा एक प्रकारको मीठो अनुभूति, आनन्द, अमनचैन पैदा हुन्छ । उसको मन सकारात्मक र कल्पनाशील हुन्छ । पन्छीहरूका पखेटा हुनु र तिनीहरू उन्मुक्त भई उड्नु अझै पनि हामीलाई अद्भुत लाग्छ । चराहरू पंख फैलाएर खुला आकाशमा उडेको दृश्यले विचारशील मानिसको मनमा स्वतन्त्रताको आकांक्षा पैदा हुन्छ । शाकाहारी हुनु हाम्रो स्वास्थ्यको कुरामात्र होइन, यो त समग्र पृथ्वी ग्रहको स्वास्थ्य र दीर्घजीवनको सवाल हो । बधशालाका भित्ताहरूमा पारदर्शी सिसा लगाइएको हुन्थ्यो भने सायद सबैले मांसाहार छोडिदिने थिए । अनेक प्रकारका एन्टिबायोटिक्स खुवाएर, हार्मोनको सुई लगाएर मासु बढाउने ध्येयले हुर्काइएका पशुको आहार कुनै हिसाबले स्वस्थकर छैन । थालमा आएको मासु देखेर बधशालामा करुण क्रन्दन गरिरहेको पशुको याद आउने हो भने कोही पनि मासु खान राजी हुने थिएन । केभिन निलन भन्छन् : म शाकाहारी भएँ किनभने जब मैले मासु उत्पादनका लागि निर्मम ढंगले पशु पालन गरेको देखेँ, बधशालाहरूमा पशुलाई दिइएको असह्य प्रताडना देखेँ, यस्तो अमानवीयता देखेपछि म द्रविभूत भएँ । मभित्रको मानवीय चेतनाले मलाई शान्ति दिएन, किनभने मैले मासु खानु पशुहरूप्रतिको त्यही दुव्र्यवहारलाई मौन समर्थन गर्नु थियो । हिंसा नगर्नु, प्रेम विस्तार गर्नु । भगवान् गौतम बुद्धको मूल सन्देश यही हो । कसैले भगवान् बुद्धलाई प्रेम गर्छ, गुरु मान्छ भने उसले स्वत: अहिंसा व्रत पालना गर्छ, ऊ स्वत: शाकाहारी हुन्छ । बुद्ध भन्छन् : सबै प्राणीलाई माया गर । यही साँचो धर्म हो । शाकाहारी हुनु एउटा अन्तरयात्राको आरम्भ हो । यो यात्राले हामीलाई अहिंसा, मैत्रीभाव, करुणा र शान्तिको अवस्थामा पुर्‍याउन सक्छ । हरेक प्राणी या वनस्पतिको भिन्न प्रकृति र गुणधर्म हुन्छ । हामीले खाएको अन्न, सागपात या फलफूल हाम्रो शरीरमा प्रवेश गर्नासाथ शरीरको गुणधर्ममा घुलन हुन्छ । मानिसले सुन्तला खाँदा सुन्तलाको रस तत्क्षण उसको शरीरको अंश बन्छ । किनभने, वनस्पतिमा चेतनाको अंश नगण्य मात्रामा हुन्छ । तर, कुनै प्राणीको मासु खाने हो भने शरीरमा प्रवेश गर्नासाथ मासुको गुणधर्म खानेवालाको शरीरमा हावी हुन थाल्छ र उसको मनको सन्तुलन बिग्रन्छ । पशुमा विकसित भइसकेको चेतना र भावनाका कारण यस्तो हुन्छ । शाकाहारले सत्व गुण बढाउँछ सृष्टिमा सबै कुरा तीन गुण युक्त हुन्छन् : सत्व, रजो र तमोगुण । हामीले खाने हरेक भोजनमा यी तीन गुणको मात्रा धेरै वा थोरै अवश्य हुन्छ । शाकाहारी भोजनमा सत्वगुण अत्यधिक हुन्छ । मांसाहारी भोजनमा राजोगुण र तमोगुण अधिक हुन्छ । सत्व गुण पवित्रता एवं ज्ञानको स्रोत हो । सात्विक मानिस व्यक्तिगत लाभहानिलाई पन्छाएर सबैको हित र कल्याण हुने सेवा कार्यमा रमाउँछ । उसको चेतना उन्नत हुन थाल्छ । ऊ ससाना खुसीहरू देख्न र रमाउन सक्छ । राजसी खानपिनले मानिसलाई चञ्चल र आवेशयुक्त बनाउँछ । राजसिक मानिस केवल व्यक्तिगत लाभ तथा सफलताका लागि काम गर्छ । तामसी खानपिनले अज्ञानता एवं निष्क्रियता बढाउँछ । तामसिक मानिस अरूको श्रममा बाँच्न चाहन्छ, अरूको काँधमा चढेर अगाडि बढ्न संकोच गर्दैन र अन्याय फैलाएर समाज व्यवस्थालाई बिगार्छ । पशुहरू हाम्रो आहारका निम्ति जन्मेका होइनन् । तिनीहरूको जीवन तिनीहरूकै खुसीको लागि हो । पशुहरूलाई आफ्नो जीवन शान्तिपूर्वक बिताउन पाउने अधिकार छ । आफूलाई सर्व श्रेष्ठ प्राणी ठान्ने मानिसले खानका लागि असहाय पशुलाई मार्नु वीरता होइन र यसो गर्नु मानिसलाई शोभा पनि दिँदैन । पृथ्वी सबै प्राणीको साझा घर हो । निमुखा पशुहरू बधशालामा हत्या गरिनुअघि सायद कस्तो पुकार गर्दा हुन् ? शाकाहारी भोजमा सहभागी प्रीति कार्कीले कवितामा सुनाइन् ती पशुहरूको पुकार : हे मानव, मेरो यौटा बिन्ती सुनिदेऊ, तिमीले पुज्ने देवतालाई भनिदेऊ, तिमी उसको सन्तान सही, मलाई केवल बाँच्ने अधिकार मागिदेऊ अन्नपुर्णपाेस्टबाट