रङ्गेली /तीन वटा प्रदेशमा भएको पहिलो चरणको स्थानिय तहको निर्वाचन उत्साहको साथ सम्पन्न पछिको नतिजाले सबैको ध्यान खिचिरहेको बेला विराटनगरमा अब हुने दोस्रो चरणको निर्वाचनका लागि चुनावी सरगमी बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, तथा मधेशबादी दल उम्मेदावरी छनौट पक्रिया जुटेका छन् भने नेकपा माओवादी केन्द्रले यसअघि नै नगर क्षेत्रको उम्मेदवारी घोषाणा गरि चुनावी अभियनलाई तिव्र रुपमा अगाडी बढएका छन् । निर्वाचनको मिति नजिकिएसँगै शिर्ष दलले कस्तो उम्मेदवारी नगर क्षेत्रमा उठाउने भन्ने विषयमा स्थानियबासीमा जनचासो विषय भन्दै गएको छ । कतिपय युवाहरू राम्रो छवि भएका सक्षम व्यक्तिलाई निर्वाचनमा उठाउने कसरत पनि सुरु गरेका छन् । सोही प्रयास स्वरुप विराटनगरको वडा नम्बर २ हनुमान मन्दिरको एक घरमा आजभोली दैनिक रुपमा भीडभाड बढ्दो छ । उक्त घरमा हुने बिहान बेलुकाको छलफल अबको स्थानीय तहको निर्वाचनमा कसरी भूमिका खेल्ने र कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा केन्द्रीत हुने गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहेका तथा गैरराजनीतिक व्यक्तित्वको रुपमा परिचित महेश बाहेतीको घरमा हुने यसखालको छलफलले २ नम्बर वडाका कांग्रेस एमालेलाई टाउको दुखाइ बनेको छ । किनकी आर्थिक, सामाजिक, राजनीतिक र संचारको क्षेत्रमा पनि आफ्नो परिचय कायम गरिसकेका बाहेतीलाई आजकाल दर्जनौं युवाको टोलीले त्यस वडाको उम्मेद्वार बन्न आग्रह गर्दै आएका छन् । ‘अन्य पार्टीमा उम्मेद्वार बन्न नदिने लर्को लागेको छ तर बाहेतीलाई उम्मेद्वार बनाउनेको लर्को छ,’ एक स्थानिय युवाले भने । त्यसको लागि विराटनगरमा ‘हाम्रोलाई होइन राम्रोलाई जिताउँ’ अभियान समेत सामाजिक संजालमा सुरु भइसकेको छ । त्यस्ता युवाहरुमा यि नै ठूला पार्टीमा आवद्धहरु छन् । भारतको राजस्थान युनिभर्सिटीबाट ह्युमन रिसोर्स र चेन्नईस्थित एम्म युनिभर्सिटीबाट हस्पिटल मेनेजमेन्टमा एमबिए गरेका बाहेती क्षमतावान व्यक्तित्व मानिन्छन् । उनी विराटनगरका एक सामाजिक क्षेत्रका अभियान्ता पनि हुन् भने जुनियर जेसिजको पूर्व कार्यकारी उपाध्यक्ष र लायन्स क्लब अफ विराटनगर सिटिजन्सको पूर्व उपाध्यक्ष समेत हुन् । ‘मेरो घरमा अचानक राजनीतिक माहोल आएको छ,’ बाहेतीले भने, ‘निर्वाचनमा उठ्ने मेरो इच्छा होइन, तर सपोर्ट गर्नेहरुले उठ्न भनिरहेका छन् ।’ बाहेती म्याजिक फुटवेयरको कन्ट्रि हेडका रुपमा कार्यरत एक व्यवसायी पनि हुन् । उनी व्यवस्थापनको विषयमा विशेष दखल राख्छन् । ‘मलाई राजनीति गर्नुछैन, तर विराटनगरको विकासमा योगदान गर्ने इच्छा भने छ,’ विराटनगर विकासको लागि लामो योजना निर्माण गरेको बताउँदै उनले भने, ‘विकास निर्माणको लागि अरुलाई गाली गर्ने होइन आफैं अग्रसर हुनुपर्छ ।’ विराटनगर भनेको औद्योगिक क्षेत्र पनि हो । औद्योगिक क्षेत्रको समस्या के छ भन्ने विषयमा पनि बाहेती ज्ञाता छन् । सोही क्षेत्रबाट पनि उनलाई नेतृत्व लिन दबाब आइरहेको छ । ‘साथीहरुबाट स्वतन्त्र ढंगले निर्वाचनमा उठ्न दबाब आएको छ,’ अहिलेको स्थानीय निर्वाचनको माहोललाई नजिकबाट हेरिरहेका बाहेतीले भने, ‘पार्टीबाट उठ्न विभिन्न अफरसहित नेताहरु पनि सम्पर्कमा आइरहेका छन् ।’