असल उम्मेद्वार खोज्नेले असल मतदाता पनि बन्नुपर्छ

मनिता घिमिरे

प्रतिस्पर्धी उम्मेद्वारलाई गालीगलौज नगरी, प्रतिस्पर्धीको चरित्रहत्या नगरी तथा व्यापक खर्च नगरी चुनावमा प्रतिस्पर्धा गर्न सम्भव छ ? मैले यो प्रश्न धेरैलाई सोधें । राजनीतिक कार्यकर्ताहरुलाई पनि सोधें । सबैले प्रश्न अनौठो माने र मिश्रित जवाफ दिए ।

चुनाव भनेको प्रतिस्पर्धा हो र लोकतन्त्रको आधार नै चुनाव हो, चुनाव बिनाको लोकतन्त्र कल्पना गर्न सकिँदैन । हाम्रो देशमा गालीगलौज नगरी, चरित्रहत्या नगरी तथा पैसा खर्च नगरी चुनावी प्रतिस्पर्धाको कल्पना नै गर्न नसकिने वस्था आइसकेको छ । यो प्रवृत्ति दक्षिण एसियाकै साझा रोग हो । चुनावलाई हिँसा, गालीगलौज, चरित्रहत्या, गुण्डागर्दी, असामाजिक क्रियाकलापको पर्याय नै मान्न थालिएको छ । यो कुसंस्कृतिलाई तोड्न सकिन्छ कि सकिँदैन ? अवश्य सकिन्छ र सक्नुपनि पर्छ ।

यो वर्ष नेपालमा स्थानीय, प्रदेश र केन्द्र गरी तीनवटा चुनाव हुन गइरहेको छ । चुनाव भाँड्ने र रोक्न नकारात्मक प्रवृत्तिहरु क्रियाशील भइरहेको सबैलाई थाहा भएकै कुरा हो । तीनवटा चुनाव विकृति नै विकृतिको संवाहक बन्यो भने लोकतन्त्रले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ, देशले दीर्घकालीन रुपमा ठूलो क्षति ब्यहोर्ने छ । त्यसैले चुनावी विकृतिको नियन्त्रण यही स्थानीय चुनावबाट थाल्न सबै एकजुट बन्नुपर्छ ।

चुनावको विकृति नियन्त्रण गर्न सकिएन भने जनप्रतिनिधिको नाउँमा धनप्रतिनिधि निर्वाचित हुन्छन् । यस्तो भइरहेको पनि छ । सकारात्मक विचार राख्ने, असल तथा इमानदारले चुनाव हार्ने र खराबले जित्ने अवस्था झनझन बढ्दै गइरहेको छ । त्यसैले चुनावी प्रतिस्पर्धामा देखिने विकृति नियन्त्रण गर्नु सबैको कर्तव्य हुन आउँछ । यसमा सबैभन्दा जिम्मेवार स्वयं उम्मेदवार नै हुन्छन् । उम्मेद्वारहरुले चाहे भने चुनावी विकृति नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण नेपालमा पनि केही ठाउँमा देखिएको छ ।

शान्ता चौधरी र विश्वप्रकाश शर्माको उदाहरण

गत संविधानसभा चुनावमा झापामा नेपाली कांग्रेस पार्टीको तर्फबाट विश्वप्रकाश शर्मा उम्मेद्वार बन्नुभएको थियो । उहाँले उम्मेद्वार बनेपछि प्रतिस्पर्धी उम्मेद्वारहरुको प्रशंसा गर्दै आफूले कसैको आलोचना नगर्ने र कसैलाई गाली पनि नगर्ने घोषणा गर्नुभयो । त्यो क्षेत्रमा नेपालकै नमूना चुनाव भयो । मुख्य प्रतिस्पर्धी उम्मेदवार एकजनाले शालिन चुनाव लड्ने, गालीगलौज नगर्ने घोषणा गरेपछि त्यसको असर सबैमा पर्न गयो । अन्य उम्मेद्वारहरुले पनि गालीगलौज र चरित्रहत्याको राजनीति गर्न सक्ने अवस्था रहेन ।

चुनावमा विश्वप्रकाश पराजित हुनुभयो, एमालेको उम्मेद्वार विजयी हुनुभयो । मतगणना सकिँदा एमालेको उम्मेदवार त्यहाँ हुनुहुन्नथ्यो । शर्माले विजयी उम्मेद्वारलाई फोन गरेर पर्खिनुभयो । बधाई दिएर फोटो खिचाउनुभयो । सो फोटो आफ्नो फेसबुकमा समेत राखेर उहाँले निकै हार्दिकतासाथ र दिल खोलेर बधाइ ज्ञापन गर्नुभयो । विश्वप्रकाशले मत हार्नुभयो तर जनताको मन जित्नुभयो । मैले उहाँको यो शैलीलाई चुनाव लड्ने विश्वप्रकाश मोडल भन्ने गरेकी छु ।

अर्काे उदाहरण शान्ता चौधरीको छ । उहाँ नेकपा एमालेको तर्फबाट गत संविधानसभा चुनावमा दाङबाट उम्मेदवार बन्नु भएको थियो । उहाँले पनि कसैलाई गालीगलौज गर्नुभएन । प्रतिस्पर्धी विरुद्ध लक्षित प्रचार पनि गर्नुभएन । कसैको चरित्र हत्याको प्रयास पनि गर्नुभएन । उहाँको चुनावी खर्च पनि त्यसबेला चर्चित रह्यो । जनताले नै चुनावी खर्चका लागि उहाँलाई दालचामल उठाएर दिए । शान्ताले पनि चुनाव हार्नुभयो । चुनाव हारे पनि जनता माझ उहाँ उत्ति नै लोकप्रिय हुनुहुन्छ । राजनीतिकर्मीले बारम्बार चुनावी परीक्षणमा जानुपर्ने हुन्छ । एउटा चुनाव हार्दैमा केही हुँदैन । निरन्तर जनतामाझ रह्यो भने अर्काे चुनाव जित्न सकिन्छ । जस्तो कि सुशील कोइराला, केपी ओली, माधव नेपाल लगायतका ठूला नेताहरुले चुनाव हार्नुभएको थियो ।  तर पछि उहाँहरु निर्वाचन जितेर प्रधानमन्त्री समेत बन्नुभयो ।

असल कि खराबको छनोट ?

लोकतन्त्रमा मत हार्नु प्राविधिक विषय पनि हो तर जनताको मन जित्नु ठूलो कुरा हो । एउटा चुनाव जित्दैमा व्यक्तिको राजनीतिक भविष्य बन्छ भन्ने छैन । एउटा चुनाव हार्दैमा राजनीतिक भविष्य सकिन्छ भन्ने पनि छैन । राजनीति भनेको चुनावमा हुने हारजितभन्दा माथिको कुरा हो । राजनीति भनेको आदर्श, मूल्य मान्यता र जनताप्रतिको समर्पणका लागि हो । चुनावमा सहभागी हुनु आफैंमा जित हो । चुनाव भनेको महान प्रकृया हो, लोकतन्त्रको प्राण हो । चुनावमा असल रुपमा प्रस्तुत हुनु नै बास्तविक जित हो भन्ने बुझ्न आवश्यक छ । त्यसैले चुनाव हारेर पनि जित्ने शैलीको चुनावी प्रतिस्पर्धा गर्न आवश्यक छ ।

स्थानीय चुनावमा हजारौं मानिस उम्मेद्वार बन्दैछन् । सबैले चुनाव जित्ने होइनन्, निश्चित संख्याले मात्र जित्छन् । आज हार्नेहरुले भोलि जित्न सक्छन् । यो चुनाव हार्नेले अर्काे चुनाव जित्न सक्छन् । चुनावमा उम्मेदवार बन्दा असल प्रतिस्पर्धा गरेर जनता माझ स्थापित बन्न सकिन्छ र भविष्यमा चुनावी विजयको आधार तयार पार्न सकिन्छ । यो कुरा स्थानीय चुनावमा उम्मेद्वार बन्ने सबैले बुझ्न आवश्यक छ ।

चुनाव भनेको आफू असल देखिने हो, आफ्नो असल विचार र भावना जनता माझ लैजाने हो । अरुलाई खराब देखाएर आफू असल प्रमाणित हुनखोज्ने चुनावी शैलीको विरुद्धमा आजको पुस्ता उभिन जरुरी छ । अरुलाई होचो बनाएर आफू अग्लो देखिने प्रयास असामाजिक काम हो । प्रतिस्पर्धी खराब छ भने आफू असल देखिने हो, प्रतिस्पर्धीलाई खराब प्रमाणित गर्न खोज्ने प्रयास चुनावमा गर्न हुँदैन । प्रतिस्पर्धीलाई झन् खराब प्रमाणित गर्न खोजिन्छ भने त्यस्तो चुनावको धेरै खराब भन्ने प्रतिस्पर्धामा परिणत हुन्छ । को असल भन्ने प्रतिस्पर्धा गर्ने हो भने त्यसले चुनाव र समाज दुवैको हित हुन्छ । समाजमा असल लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्न सघाउ पुग्छ ।

चुनावलाई को धेरै असल भन्ने प्रतिस्पर्धाको रुप दिन आवश्यक छ । यसो गरिएन भने हामी खराबहरुमध्येको असल छनौट गर्नुपर्ने अवस्थामा पुग्छौं । बास्तवमा चुनाव भनेको असलहरुमध्येका असलको छनौट हो । असलहरुमध्येबाट सबैभन्दा धेरै असल उम्मेदवार छनौटको प्रतिस्पर्धा विकास गर्न सकियो भने त्यसले लोकतन्त्रलाई सुदृढ गर्छ, देशलाई बलियो बनाउँछ, भ्रष्टाचार नियन्त्रण गर्छ र देशलाई नयाँ युगमा लैजान मद्दत गर्छ ।

असल मतदाता बनौं

नेपालको सन्दर्भमा उम्मेद्वार मात्र असल भएर हुँदैन, मतदाता पनि असल हुन आवश्यक छ । विगत चुनाव हेर्यौं भने कतिपय सन्दर्भमा मतदाताले अति नै गलत उम्मेद्वार जिताएको देखिन्छ । जनताले दिएको मतलाई स्वीकार गर्नैपर्छ तर बहुमत जनताले गलत व्यक्तिलाई मतदान गर्छन् भने राजनीतिक विकृति बढ्छ । मतदाताले सही उम्मेदवार छनौट गर्न नसक्नु मतदाताको मात्र कमजोरी होइन । हामीले समग्र निर्वाचन प्रणाली, समग्र राजनीतिक प्रणाली तथा मनोविज्ञान नै दुषित बनाउँदै लगेका छौं । त्यसैले गलत उम्मेदवार पनि विजयी हुनसक्ने अवस्था छ ।

शालिन प्रतिस्पर्धा, शिष्ट र मर्यादित प्रचार शैली, भद्र प्रतिस्पर्धाको वातावरण बनाउन सकियो भने खराब उम्मेद्वारहरु टिक्न सक्दैनन् । खराब उम्मेद्वारको प्रवृत्ति नकारात्मक हुन्छ । शालिन शैलीको चुनाव भएमा चुनावमा अनावश्यक धेरै रकम खर्च गर्न पनि उम्मेद्वारले नसक्ने परिस्थिति सिर्जना हुनसक्छ । अहिले स्थानीय चुनावको गरमागर्मी छ । यो अवस्थामा शालिन र शिष्ट प्रचार शैली स्थापित गर्न सकेसम्म प्रयास गर्नु सबै राजनीतिक दल, उम्मेद्वारहरु र सर्वसाधारण नागरिकको कर्तव्य भएको छ । मतदाताले मत दिनु अगाडि नै आफू असल मतदाता भएको परिचय दिन आवश्यक छ । आज हरेक नेपालीले छातीमा हात राखेर आफंैलाई सोधौं– हामी असल उम्मेद्वार खोजिरहेका छौं तर के हामी असल मतदाता पनि बनिरहेका छौं ?

असल चुनाव र असल प्रतिस्पर्धाका लागि सबैभन्दा महत्वपूर्ण भूमिका मिडियाको पनि हो । नेपाली मिडियाले खासगरी चुनावको बेलामा नकारात्मक विचार, समाचार तथा टिप्पणी प्रकाशित गर्ने गरेका छन् । नकारात्मक विचार चाँडो फैलनु समाजको प्रवृत्ति नै हो । यस्तो प्रवृत्ति रोक्न मिडिया अगाडि बढ्नुपर्नेमा मिडिया नै नकारात्मक विचार प्रवाहको संवाहक बन्ने गरेको छ ।

समग्रमा भन्ने हो भने सबैले सकारात्मक भूमिका निर्वाह गरौं, नकारात्मक विचार र कार्यशैलीलाई अस्वीकार गरौं, स्वच्छ स्वस्थ प्रतिस्पर्धाका लागि योगदान गरौं । यसो भए देश सुन्दर बन्नेछ र नयाँ वर्ष २०७४ राष्ट्रको जीवनमा साँच्चै सार्थक बन्नेछ ।

साभार सरलपत्रिकाबाट ।( लेखिका घिमिरे राजनीतिका साथै विभिन्न सामाजिक बौद्धिक अभियानमा संलग्न छिन् । )