प्यास मेटाउन नपाउँदा सहारा मरुभूमिमा ४४ जनाको मृत्यु भएको छ । दर्जनाैँ मानिस बोकेको ट्रक उत्तरी नाइजेरियाको सहरा मरुभूमिमा बिग्रेपछि पानी पिउन नपाएर उनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय रेडक्रसले जानकारी दिएको हो । सहारा मरुभूमिबाट पैदल हिँडेर विभिन्न पहाड हुँदै नाइजेरियाको दिरकोउमा पुगेर ६ महिलाले ज्यान बचाएका थिए । ती महिलाहरूका अनुसार मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । उनीहरूको शव बुझ्न बिहीबारसम्म कोही पुग्न नसकेको रेडक्रसका अधिकारी लवाल तहरले बताए । नाइजरबाट लिबिया हुँदै उत्तर अफ्रिकाका आप्रवासी युरोपका विभिन्न मुलुकमा जाने गर्छन् । तर, सहारा मरुभूमि पार गर्न आप्रवासीले निकै जोखिम मोल्नुपर्छ । आप्रवासीले झोलामा केही लिटर पानी बोकेर ट्रकमा खाँदिएर यात्रा गर्छन् । सो मरुभूमिमा कति आप्रवासीको मृत्यु भएको छ भन्ने विषयमा अहिलेसम्म यकिन तथ्य फेला नपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्षको जुन महिनामा २० बालबालिकासहित ३४ आप्रवासीको शव सहारा मरुभूमिमा फेला परेको थियो । तस्करले बाटैमा छाडेपछि आप्रवासीको मृत्यु भएको अनुमान गरिएको थियो ।