काठमाडौं / साबिकको बिजेता भारतलाई पराजित गर्दै पाकिस्तानले पहिलोपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । इंग्ल्यान्डको लण्डनमा आइतबार भएको फाइनलमा साबिकको विजेता तथा चिरप्रतिद्वन्द्वी टोली भारतमाथी १८० रनको फराकिलो जित निकाल्दै पाकिस्तानले पहिलोपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । लण्डनस्थित दि ओभलमा पाकिस्तानले दिएको ३३९ रनको लक्ष्य पछ्याएको भारतले  ३० ओभर ३ बलमा अलआउट हुँदै मात्र १५८ रन बनाउन सक्यो । पाकिस्तानी बलर हावी भएको खेलमा भारतका हार्दिक पाँड्याले बाहेक अन्यले उलेख्य रन जोड्न सकेनन । भारतको सम्मान जनक स्कोरमा पाँड्याले ७६ रनको अर्धशतकीय पारि खेले । ४३ बलमा ४ चौका र ६ छक्का प्रहार गरेका पाँड्या कुनैपनि एकदिवसीय क्रिकेटको फाइनलमा सर्वा्धिक चाँडो अर्धशतक बनाउने खेलाडी समेत बने । उनले मात्र ३२ बलमा अर्धशतक बनाएका थिए । त्यसबाहेक भारतका युवराज सिंहले २२, शिखर धवनले २१ तथा रबिन्द्र जडेजाले १५ रन जोडे । उसका ओपनर रोहित शर्मा सुन्य रनमा आउट हुँदा कप्तान विराट कोहली मात्र ५ रनमा आउट भए । पाकिस्तानका मोहमद आमिर र हसन अलीले समान ३ – ३ तथा शादाब खानले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धा्रित ५० ओभरमा मात्र  ४ विकेट गुमाएर ३३८ रनको उच्च योगफल तयार गरेको थियो ।  बलियो भारतसामु उच्च लक्ष्य प्रस्तुत गर्ने क्रममा पाकिस्तानका ओपनर फखर जमानले शतकीय पारी खेले । शतक बनाएका जमानले १०६ बलमा ११४ रन बनाए । दोस्रो विकेटका रुपमा आउट भएका उनले १२  चौका ३ छक्का प्रहार गरे । त्यस्तै पाकिस्तानका अर्का ओपनर अजहर अलीले  ५९ रनको अर्धशतकीय पारी खेल्दा  मोहम्मद हाफिज ५७ रनमा अविजित तथा  इमाद वासिम पनि २५ रनमा अविजित रहे ।  यस्तै पाकिस्तानमा बाबरआजमले ४६  तथा  सोयब मल्लिकले १२ रन बनाए ।  भारतका लागि भुवनेश्वर कुमार, केदार जाधव र रविन्द्र जडेजाले समान एक एक विकेट लिए  । योसँगै पाकिस्तानले भारतसँग समूह चरणमा बेहोरेको हारको बदला समेत लिन सफल भयो । समूह चरणको खेलमा भारतले समूह चरणको खेलमा पाकिस्तानलाई १२४ रनले पराजित गरेको थियो ।  यस्तै १८ बर्षपछि पहिलोपटक एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको पाकिस्तानले च्याम्पियन्स ट्रफी जित्दै आफ्नो उपाधिको खडेरीमा पूर्ण्बिराम लगायो ।  पाकिस्तानले पछिल्लो पटक एकदिवसीय क्रिकेटको उपाधि सन् १९९२ मा जितेको थियो । सन् १९९९ को एकदिवसीय विश्वकपको फाइनलमा पुगेको पाकिस्तान त्यसपछि भने फाइनल पुग्न सकेको थिएन । यता, पाकिस्तानसँग पराजित भएपछि भारतको च्याम्पियन्स ट्रफीमा ह्याट्रिक गर्ने सपना अधुरो रह्यो । च्याम्पियन्स ट्रफीको आठौं सस्करणसम्म आइपुग्दा भारत र अष्ट्रेलियाले मात्र दुई दुई पटक उपाधि जितेको छ । यो सस्करणको उपाधि जितेको भए भारतले नयाँ इतिहास बनाउने थियो ।