वि.स. २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका रोहित प्रसाइ २०५० सालमा नेपाल विद्यार्थी संघ सुनसरीको सभापति बने । त्यस अघि पटक–पटक प्रहरीद्वारा पक्राउ परेका प्रसाई काँग्रेसको राजनीतिमा रहँदै उनी पछिल्लो समय उद्योगी–व्यापारीको संस्था उद्योग वाणिज्य संघ र सामाजिक गतिविधीमा सक्रिय रहदैं आएका छन् । उद्योग वाणिज्य संघ इटहरी वरिष्ठ उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष भएका उनी अहिले प्रदेश नं. १ बाट केन्द्रीय सदस्य छन् । उनले उद्योग वाणिज्य संघमा छँदा इटहरीलाई प्लाष्ट्रिक मुक्त क्षेत्र घोषणा गर्न, इटहरीलाई ‘क्लिन, ग्रीन एण्ड व्यूटीफूल’ नगर बनाउन, इटहरीको पर्यटकीय स्थल तालतलैयामा विदेशी मूर्तिकारलाई झिकाएर मूर्ति कला कार्यशाला सञ्चालन गर्न, इटहरीको मुक्तीघाट निर्माणलगायतका कार्य गर्न महत्वपूर्ण भूमिका खेलका थिए । आगामी असार १४ गते हुने स्थानीय निकायको निर्वाचनमा उनी इटहरी उप–महानगरपालिकाको काँग्रेसको तर्फबाट मेयर पदमा उमेद्वार बनेका छन् । अब इटहरीको विकासको लागि योजना के छन् ? यिनै विषमा गरिएको कुराकानीको सारः–

तपाइको राजनीतिक पृष्ठभूमि ? इटहरीमा म झण्डै तीन दशक देखि म प्रजातान्त्रिक आन्दोलनमा सक्रिय छु । २०४४ सालमा नेपाल विद्यार्थी संघको राजनीतिमा लागे पछि मैले राजबन्दी जीवन पनि विताएँ । त्यस पछि २०५० सालमा म नेपाल विद्यार्थी संघ सुनसरीको सभापति बने । त्यस पछि काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएको छु । तपाई त उद्योग वाणिज्य संघमा पनि लामो समय नेतृत्व लिनु भयो अव मेयरमा पनि टिकट पाउनु भयो नि ? उद्योग वाणिज्य संघमा रहँदा मेरो सक्रियता र पार्टीमा गरेको योगदानलाई मुल्याङ्कन गरेर इटहरीको सम्भावनालाई बुझेर मलाई मेयरको उमेद्वारको जिम्मेवारी दिएको छ । नीजी क्षेत्रमा काम गरेको अनुभवका आधारमा पनि इटहरीको विकास गर्न सकिन्छ । म सँग त्यो भिजन छ । म उद्योग वाणिज्य संघ इटहरीको दुई पटक अध्यक्ष समेत भएँ । पहिलो पटक ६७ सालमा उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष भएपछि अर्को कार्यकाल पनि मैले नै निर्वाचन जिते । त्यसपछि दुई पटक उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य निर्वाचित भएँ । जहाँ रहे पनि नयाँ तरिकाबाट काम गर्ने मेरो भिजनलाई देखेरनै अहिले काँग्रेसले मलाई यो जिम्मेवारी दिएको छ । नगरवासीले साथ दिएको खण्डमा म त्यो पुरा गर्नेछु ।

इटहरीको विकासमा तपाईका योजना के के छन् ? इटहरीका मानिसहरुको योग्यता र क्षमताले नै इटहरीको विकास सम्भब छ । त्यसमा नीजि क्षेत्रले इटहरीको विकासमा गरेको योगदानलाई यहाँको समुदायले कम अड्कल गर्न मिल्दैन । फेरि इटहरीले फरक धारको राजनीति खोजिरहेको अवस्था पनि छ । म व्यापारीको नेता भएर काम गर्दाको समयमा होस् वा राजनीतिमा मेरो भूमिका भनेको इटहरीको विकासमै केन्द्रीत छ । इटहरीमा मेरो नेतृव्वमा रामै्र काम भएको छ । त्यो इटहरीवासीले बुझेका छन् भन्ने लागेको छ । म भाषण होइन काम गरेर देखाउने मान्छे हँु त्ससको लागि हिजो जसरी व्यापारीसाथीहरुले काम गर्ने अवसर दिए अव इटहरीवासीले एक पटक त्यो अवसर दिएको खण्डमा इटहरीमा २० वर्षमा हुन नसकेको विकास पाँच वर्षमा गरेर देखाउने छु ।

इटहरीको विकासका लागि के–के कुरालाई प्राथमिकता दिनुभएको छ ? मैले विकास निर्माण र सामाजीक पूर्वाधार प्राथमिकता नदिने कुरै भएन । समग्र इटहरीको विकासको लागि मेरो पार्टीले ल्याएका घोषणा र प्रतिवद्धता आम जनतामा पुगेका छन् । यसमा पनि इटहरीलाई प्रदेश नम्बर एकको प्रमुख व्यापारिक केन्द्र बनाउने प्रतिबद्धता जनाउँछु । किन भने यो अभियान हाम्रै नेतृत्वमा यहाँसम्म आइ पुगेको छ । इटहरीलाई प्रदेश नम्बर एकको राजधानी बनाउन सारा शक्ती प्रयोग गरिने छ । साथै २ सय ५० शैयाका अस्पतालसहितको मेडिकल कलेज स्थापना इटहरीमा स्थापना गरिनेछ । यस्तै इटहरीको डुबानको दीर्घकालीन समाधानका लागि शेरा खोलामा बाँध निर्माण गर्ने समेत इटहरीबासीलाई विस्वस्त दिलाउन चाहन्छु । बृहत्तर इटहरी चक्रपथ निर्माण गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको राखिएको छ । यहाँको ड्रेनलाई व्यवस्थित गरी इटहरी व्यवस्थित र नमुना व्यापारिक शहर बनाइने छ । अन्य पार्टीले पनि तपाईकै जस्ता योजना बनाएका छन्, तपाई लाइनै भोट दिने पर्ने किन ? घोषणा पत्रमा भनेर मात्रै हुँदैन । अहिलेसम्म इटहरीको कुनै न कुनै तहबाट नेतृत्व गर्ने राजनीतिक दलले इटहरीवासीलाई के दिए । इटहरीलाई व्यापारिक शहरको रुपमा विकास गर्न उनीहरुको कति योगदन रहयो त्यो नगरवासीले मुल्याङ्कन गर्न जरुरी छ । अहिलेसम्म इटहरीले के पायो ? अहिलेसम्म इटहरीमा न अस्पताल छ ? न सबै ठाउँमा बाटो पुगेको छ ? कति पय नगरवासीले विजुलीको पोल सम्म देखेका छैनन् । पानीको धारा पुगेको छैन । २० वर्ष भनेको सानो समय होइन । काँग्रेसलाई पाँच वर्ष काम गर्ने मौका दिनुहोस । यहाँको विकास गर्न सकेनौ भने नगरवासीले हामी माथि प्रश्न गर्दा हुन्छ । अहिले इटहरीको विकासको अवसर आएको छ । त्यति मात्र होइन । मुलुकमा संविधान जारी गर्ने कुरा, सबैलाई मिलाएर लैजाने कुरामा, मधेशी, आदिवासी, जनजातिका माग पुरा गर्ने जस्ता विषयमा काँग्रेसले प्रमुख भूमिका निर्वाह गरेको हो । अव इटहरीको कुरा गर्दा इटहरीले परिवर्तन खोजेकै छ । त्यो विकासको लागि एक पटक नेपाली काँग्रेसलाई काम गर्ने अवसर नगरवासीले दिनु पर्छ । नत्र इटहरी पछि पर्नेछ । उदाहरणको रुपमा मैले नीजी क्षेत्र रहेर थुपै्र विकासका योजनामा नेतृत्व गरेको छु । यहाँ सामाजिक तथा व्यवसायिक क्षेत्रमा काम गर्दा इटहरीको विकासको लागि मुक्तीघाट निर्माण, तालतलैयामा अन्तराष्ट्रिय मुर्तीकला कार्यशाला, हरित नगरी इटहरीको अभियान, सफाई इटहरी अभियान, यहाँका व्यापारीको समस्याका बारेमा गरेको काम, फोहोर व्यवस्थापनको बारेमा गरेको योगदानको मुल्याङ्कन गर्दै इटहरीवासीले म लगायत हाम्रो पार्टीलाई नगरवासीले एक पटक काम गर्र्ने अवसर दिनु हुन्छ भने विस्वास छ ।

व्यापारिक र आर्थिक विपन्न रुपमा रहेका नगरवासीको लागि के प्रयास गर्नु हुनेछ ? व्यवसायकिक क्षेत्रका समस्या, घरवहाल समस्या मेरो पहिलो मुद्धा हुनेछ । घर वहालको समस्याका कारण घर धनी र व्यापारीले समस्या भोग्नु परिरहेको छ । पूर्वाञ्चलकै व्यापारिक नगरीको रुपमा विकास गरिने छ । इटहरीमा पारदर्शी कर प्रणाली लागू गर्ने, उपमहानगरपालिका भित्रै रहेर पनि दुर दराजमा रहेका रोजगारीको लागि तड्पिएका, दिनमा एक÷डेढ सय रुपैयाँ कमाई गरेर जिविको पार्जन गर्दै आएका आर्थिक रुपमा विपन्न, दलित, आदिवासी भूमिपुत्र जो सुकै हुनुहुन्छ । उहाँहरु विकासमा लगानी गर्न सक्ने अवस्थामा हुनुहुन्न । त्यो समस्या अहिलेसम्मको नेतृत्वले बुझ्न सकेन । मैले चिवर्नचन जितेको अवस्थमा सून्य लगानीमा सडक, पानी, विजुली, शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने छु । जसले गर्दा उहाँहरुको पहुँच नगरका विकासमा समान रुपमा देखिने छ ।

खेलकुद र बजारको विकासमा के–के योजना छ ? हामीले समग्र इटहरीको खेलकुदको विकासका लागि इटहरीमा प्रदेश स्तरीय अत्याधुनकि रंगशाला निर्माण र एक हजार जना क्षमताको सिटी हल निर्माण गर्नेछौं । इटहरीलाई खेलकुद मैत्री नगरको रुपमा विकास गर्नेछौं । इटहरी खेलकुदको शहर भनेर चिनाउन म लागि पर्नेछु । इटहरीलाई व्यापारिक केन्द्र बनाउनका लागि यहाँका सबै स्रोत साधानको अधिकतम उपयोग गर्ने काङ्ग्रेसले नीति लिएको छ । व्यापारिक शहर निर्माणका लागि व्यवसायिक क्षेत्रलाई शान्ति सुरक्षाको प्रत्याभूति गरी दोहोरो करबाट व्यापारीहरुलाई मुक्त गर्ने काङ्ग्रेसले योजना बनाएको छ । इटहरी कहिलै नसुत्ने शहरको रुपमा विकास गरिन्छ । इटहरीलाई व्यापारिक शहर बनाउन पहिलो प्राथमिकतामा राखेको काङ्ग्रेसले व्यापारिक कम्पलेक्सको निर्माण र भित्री बाटोको स्तरोन्नतिका लागि काम गर्नेछ । व्यापारी र घरधनीबीचको असमझदारी न्यूनीकरण गरी इटहरीमा व्यापार व्यवसाय गर्न प्रोत्साहन गर्दै हरेक बर्ष इटहरीमा ट्रेड एक्सपो गर्ने योजना अघि सारेको छ । इटहरीलाई प्रदेश नम्बर एकको कृषि उत्पादन संकलन तथा बिक्री केन्द्रको रुपमा विकास गरी कृषि बजार र कोल्ड स्टोरेज निर्माण गर्ने काङ्ग्रेसको योजना छ । सामाजिक प्रगतिका लागि के–के योजना छ त ? सामुदायिक विद्यालय र क्याम्पसहरुको पठन–पाठनलाई स्तरीय बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने हाम्रो योजना छ । यसैगरी इटहरी, तरहरा पकली र खनारमा इ–पुस्तकालय निर्माण गर्ने योजना छ । यस्तै इटहरीमा रहेको प्राथमिक स्वास्थ्य उपचार केन्द्रलाई ५० शैयाको ट्रमा सेन्टरको रुपमा विकास गरी प्रत्येक वार्डमा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गर्नेछौं । इटहरीमा रहेका भाषाभाषी र जातजातिको संरक्षण गर्ने प्रतिवद्धता जनाउँछु । इटहरीका विद्यालयहरुलाई शान्ति क्षेत्रको रुपमा विकास गरी स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने मेरो योजना छ । यसका साथै ज्येष्ठ नागरिकको समस्या सम्मानित रुपमा समाधान गरिनेछ । इटहरीवासीले इटहरी उपमहानगरपालिकाबाट पाइने सेवा सुविधा छिटो, छरितो र सरल प्रकृयाबाट पाउनु हुनेछ ।