‘सागर कसले बनायो,खै ढुङ्गा कसले बनायो, काँडै काँडा बीचमा पनि फूलको थुङ्गा खै कसले बनायो’ गीतका गीतकार राम रेप्चोङको गीत गायिका मेलिना राईको ‘मेलिना’ एल्बममा समावेश छ । यो गीतसँगै गीतकार रेप्चोङले आधा सास फेरि रहे (भाग–१ र भाग–२) साथै, आधा जीवन र सम्बन्ध एल्बम् बजारमा ल्याइसकेका छन् । उनीसँग साप्ताहिक ब्लाष्टले गरेको अन्तरङ्गः १.सागर कसले बनायो यो गीत कसका लागि बनाइएको गीत हो ? –यो मेलिना बहिनीको आउँदै गरेको एल्बम् मेलिनामा समावेश गरिएको गीत हो । यस गीतमा यर्थाथता छ । माया प्रेमको गीत बिक्ने भए पनि यो गीतले यथार्थतामा प्रेम बोकेको छ । यस गीतबाट एल्बमले पनि आशा बोकेको छ । सबैका लागि बनेको सुगम संगीत हो । २. प्रख्यात गायक संगीतकारहरुसँग काम गरिसक्नुभएको छ, गीतकारकाे सम्भावना कस्ताे छ नेपालमा ? –गीतकारको अवस्था अझै पनि अगाडि आउन सकेको छैन । सबैभन्दा बढी मारमा परेको भनेको हामी गीतकार हो जस्तो लाग्छ मलाई । किनभने मेरोे गीत गाइदेऊ भनेर पैसा तिरेर गाउन दिनुपर्छ । संगीतकारसम्मलाई आफैले पैसा दिएर आफ्नो सिर्जना बाहिर ल्याउनुपर्ने हुन्छ । फेरि रोयल्टीका कुराहरु त आयो तर सबै स्रष्टा र सर्जकले पाइरहेको छैन । व्यवसायिक भैनसकेको समय छ । ३.  दुईसयभन्दा बढी गीतहरु बजारमा आए, कस्तो गीतको सिर्जना भइरहेछ ? –म यथार्थमा डुब्ने व्यक्ति भएर होला, धेरै गीतहरु ठाउँ परिवेश र प्रकृतिलाई आधार मानेर रच्ने गर्छु । ४. अहिले त बजारमा गीतकार च्याउसरी उम्रिएका छन् नि ? –आफूलाई गीतकार भन्नु पनि लाजैमर्दो स्थिति छ । पैसा भए जो पनि सजिलै गीतकार हुनसक्ने, कलाकार हुनसक्ने यस क्षेत्रमा कहिलेदेखि संघर्ष गर्दैछ । त्यसको केही लेखाजोखा छैन । गीतको मापन त आजकाल युट्युबबाट हुन थालेको छ । वास्तविक श्रोता को हुन् ? त्यसको खासै खोजी छैन, मात्र गीतको दर्शक बढाउन लागिपरेका छन् । डलर दिएर भ्युवर्स बढाएर गीत चर्चित भयो भन्नु गलत हो । यसको आधारमा गीतलाई तुलना गर्न मिल्दैन । ५. पहिलेको तुलनामा अहिले गीतकारले सम्मान पाइरहेको छ, यस कुरालाई  स्वीकार्नु त हुन्छ ? –देशबाटभन्दा विदेशमा रहेका नेपाली श्रोता–दर्शकले दिइरहनुभएको छ । विदेशी संस्थाहरुले स्रष्टा सर्जकको सम्मान गरिरहनुभएको छ । सायद विदेशमा त्यसखाले संस्कारको विकास भएर होला, नेपाली श्रोता दर्शकले पनि त्यसको सिको गर्नुभएको । ६. अहिले र पहिलेका श्रोता दर्शकमा के  फरक पाउनु हुन्छ ? –अहिले दर्शक श्रोताको जजमेन्टल एकदम राम्रो छ । कस्तो गीतलाई कस्तो संगीत र आवाज मिल्छ भन्ने ज्ञान अहिलेका दर्शकलाई छ । चाँडै नै प्रतिकृया पाइने, हामीलाई अर्को सिर्जना गर्दा सावधानी अपनाउन सजिलो भइरहेछ । ७. गीतकार कसरी बन्नुभयो ? –म गीत लेख्नभन्दा गाउन रुचि राख्ने मान्छे । त्यो समयमा गाउन भनेर आएको, साहित्य खुब पढिन्थ्यो । विस्तारै लेख्नतिर लागियो । विस्तारै शीर्षकलाई आधार मनेर गीतहरु लेख्न थालेँ। गीत लेख्न अध्ययनको एकदमै महत्व हुँदो रहेछ ।