धरान । धरानमा उपमहानगरपालिकामा मत गणनाको क्रममा गणक कर्मचारीहरुले ‘एउटाको मत अर्कोकोमा गणना गरेको’ भन्दै सुरु भएको विवादको समाधान अझै हुन सकेको छैन् । अहिले एमालेबाहेकका अन्य दलहरुले भने पुनः मतगणना हुनु पर्ने माग राख्दै आएको छ । सोमबार राति करिव ११ बजेदेखि मतगणना स्थगित छ । बिहान ७ बजेदेखि सर्वदलीय बैठक बस्दै समस्याको समाधान गर्ने भनिए पनि हालसम्म निदान हुन सकेको छैन् । सर्वदलीय बैठकको एक चरण छलफल टुंगिए पनि अर्को चरणमा पनि छलफल चलिरहेको छ । एक चरणमा भएको छलफलमा हाल गणना सम्पन्न भएका ९, १० साथै गणना सुरु भएको ११ लाई थाती राखेर १२ नम्बरदेखि गणना सुरु गर्ने सहमति बनेको थियो । तर, माओवादी केन्द्रका कार्यकर्ताहरुले गणनास्थल बाहिर नाराबाजी गरिरहेका कारणले पनि उक्त कार्य सफल हुन सकेन् । दोस्रो चरणको छलफलमा भने राजनीतिक दलहरुका प्रतिनिधिहरुले धरान–९ र १० को पूर्ण गणना गर्नु पर्ने माग राखिरहेको निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए । निर्वाचन कार्यालयले भने उक्त कुरा सम्भव नभएको बताउँदै आइरहेको छ । कार्यालयले मतगणना सम्पन्न भएको ९ र १० को ‘रि–टोटलिङ’ गर्न सकिने कुरा अघि सारिरहेका छन् । यता सुजेन्द्र तामाङले धरानको १ देखि ८ सम्म दलका प्रतिनिधिहरुले व्यवहारिक रुपमा त्रुटी हेर्ने र भेटिएमा अदालतमा गएर उजुरी गर्ने सहमति बनेको बताए । त्यस्तै ९ र ११ को पुनः गणना गर्ने सहमति बनेको दाबी गरेका छन् । त्यस्तै १० को पनि दलहरुका प्रतिनिधिहरुले रिटोटलिङ गर्ने भन्ने सहमति बनेको बताए । यस कुरालाई निर्वाचन अधिकृत खतिवडाले भने अस्विकार गर्दै ‘उहाँहरुको त्यो माग’ रहेको बताए । ‘त्यही विषयमा अहिले अनौपचारिक रुपमा छलफल चलिरहेको छ ।’ उनले फोनसम्पर्कमा भने । सहमतिमा ल्याउने प्रयास भइरहेको बताइएको छ । मतगणना स्थगित भएसँगै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, निर्वाचन कार्यालय अनुगमन समितिका प्रतिनिधिहरु तथा प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो । समस्याको सामाधा चाडै सुल्झाउनको लागि दलहरु तथा निर्वाचन कार्यालयका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । संघीय समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको मत नेकपा माले साथै एमालेमा गणना गरेको सार्वजनिक भएपछि विवाद सुरु भएको थियो । उक्त विवाद पछि नेकपा माओवादीका नेता कार्यकर्ताहरुले धरानको सबै वडाहरुको पुनः मतगणना हुनु पर्ने चर्को माग राख्दै आइरहेका छन् ।