पूर्वाञ्चल सिङ्गीङ स्टारको तयारी कस्तो हुँदैछ ? साउन अन्तिम या भदौ पहिलो हप्ताबाट यसको अडिसन सुरु हुँदैछ । त्योभन्दा पहिले प्रेसमिट गरेर सबैलाई जानकारी गराउनेछु । अहिले मानसिक रुपमा तयारी भैरहेको छ, काम सुरु गर्न बाँकी छ ।

रियालिटी शो लाई निरन्तरता दिइरहनु भएको छ फाइदा भएर हो ? पैसाको फाइदा मात्र मैले हेरेको छैन । फाइदा सबै कुराको छ । सबै भन्दा पहिले त आफ्नो कामबाट सबैले चिनुन् भन्ने हो । विस्तारै काम राम्रो हुँदै गए पछि फलको आस हुने हो ।

पूर्वाञ्चल सिङ्गीङ स्टार गर्ने सोच कसरी आयो ? धेरै रियालिटी सो गर्नेहरु छन्, यहाँ राष्ट्रियस्तरमा पनि मोफसलमा पनि तर यहाँ गाउँघरमा लुकेर रहेका प्रतिभाको खोजी गर्ने कोही भएन । यही कुराको अभाव खड्किएर मैले पूरा गर्ने सोच बनाएर आयोजकको रुपमा अगाडि बढेँ ।

पूर्वाञ्चल सिङ्गीङ स्टार गर्नका लागि खर्च कति लाग्ने रहेछ ? आ–आफ्नो तरिकाले कार्यक्रम आयोजकहरुको बजेट बन्छ होला । समान्यतय मैले २० देखि २५ लाखभित्रमा कार्यक्रम पूरा गर्ने गरेको छु ।

रियालिटी शो प्रति नागरिकको विश्वास पहिलेको तुलनामा अहिले कम छ किन होला ? कलाकारकोे प्रतिभालाई हेरेर टप टेनसम्म उत्कृष्ट दसलाई ल्याउँछौं । त्यसपछि भनेको फाइनल राउण्डसम्म आउनका लागि अहिले पब्लिकका हातमा हामीले दिने गरेका छौं । सबै विजेता बन्न सक्दैनन् । सबैको चित्त बुझाउन पनि सकिँदैन । अहिले यो भोटिङ सिस्टमले गर्दा पनि हो ।

संगीतको क्षेत्रमा कसरी आउनुभयो ? मैले सबैभन्दा पहिले भोइस अफ टिम रियालिटी शो मा भाग लिएको थिए । छानिएर काठमाडांैसम्म पुगियो । खोजी प्रतिभाको रियालिटीमा भाग लिएँ त्यहाँ सफल भइएन । त्यस समयमा सुरतालको कुनै ज्ञान थिएन मात्र गीत गाउँथेँ भित्री कुराहरु थाहा थिएन । त्यो समयमा आफूले एकदम राम्रो गीत गाउँछु भन्ने लाग्थ्यो तर बुझ्दै जाँदा सुर तालको राम्रो ज्ञान भएमा प्रतिस्पर्धीलाई जित्न सकिने रहेछ । पछि रियालिटी शो नमस्ते प्रतिभा (२०६७)को विजेता भएँ । त्यही साल एल्बम् यस्तै हुन्छ पिरती बजारमा ल्याएँ । क्रमशः अहिलेसम्म संगीतको दुनियाँमा रमाइरहेको छु ।

संगीत तपाईका लागि के ? संगीत भनेको पानी जस्तै हो । जसरी मानिसको शरीरमा पानी खाँदा सबैतिर पुग्छ, त्यस्तै संगीत हाम्रो हरेक नसा–नसासम्म पुग्ने चिज रहेछ । हाँसिरहेको मानिसलाई रुवाउन सक्ने र रोइरहेको मानिसलाई हँसाउन सक्ने क्षमता नै संगीत हो ।

संगीतमा साधनाको महत्व कति रहन्छ ? साधना बिना संगीत अधुरो हुन्छ । नयाँ पिँढीलाई के भन्न चाहन्छु भने संगीतमा लागिसकेपछि साधना पनि गरौं । ट्रयाकको जमाना गयो, लाइभ गर्ने समय आइरहेछ । त्यसैले पनि संगीतमा रहनेहरुले अनिवार्य साधना गर्नुपर्छ ।

तपाईको अबका नयाँ योजनाहरु केही छन् ? सिङ्गीङ स्टारसँगै रहिरहेको मेरो बागीना कला केन्द्रलाई बृहत् बनाउने सोच छ । बागीनाको अर्थ बाजा, गीत र नाच हो । नामअनुसारको सबै कला सिकाउने थलो बनाउने योजनामा छु ।