निकै लामो समयको प्रतिक्षापछि सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका प्रकृयाहरु सम्पन्न भए लगत्तै साथीभाई, आफन्त, शुभ चिन्तकहरुबाट बधाई र शुभकामना पाइरहेकी छु ।  सुरुवातमै लेखौं यसपालीको स्थानीय निर्वाचनमा मेरा पति सोमनाथ सापकोटा गुल्मीको मुसिकोट नगरपालिकामा मेयर निर्वाचित हुनुभएको छ । सोही कारण आइरहेका बधाई र शुभकामनाले मलाई रोमाञ्चित नबनाउने कुरै भएन । तर, बजारमा एउटा नयाँ शब्द प्रयोगमा आएको छ – मेयरनी । सबैका बधाई र शुभकामना प्रीय लागेपनि मलाई ‘मेयरनी’ शब्द पटक्कै मन परेको छैन । यही शब्द र प्रबृत्तिको वपरिपरि रहेर आजको ब्लग लेख्दैछु । यो आधुनिक शब्द शब्दकोषमा हुने कुरै भएन । नगर प्रमुखलाई अंग्रेजीमा मेयर भनिन्छ । त्यही मेयरको स्त्रीलिंगी शब्द ‘मेयरनी’ मेरा लागि प्रयोग भइरहेको छ । गाउँघरमा सुब्बाको पत्निलाई सुब्बेनी र मास्टरको पत्निलाई मास्टरनी भनेजस्तै । यो शब्दले बोकेको भाव मैले बुझेको स्वतन्त्रतासगँ चाहिँ मेल खाँदैन । सर्वसाधारण मात्र होइन समाजका प्रतिष्ठित भनिएका व्यक्तिहरू, पत्रकार, कर्मचारी सबैको मुखबाट पटक पटक यही शब्द निस्कीरहेको छ । मलाई चाहिँ मन परिरहेको छैन । आखिर परिचय त मेरो पनि छ नि ! मेरो परिचयमा चित्त नबुझे फलानो नगरपालिकाको मेयरको पत्नि भन्दा चाहिँ ठीक ठीकै हुन्थ्यो होला । सम्बोधन पचाउन कठिन भएपनि हास्नु पर्ने बाध्यता छ नै, जबरजस्त हास्नुको पीडा पनि बेग्लै हुँदो रहेछ । सुन्दा सामान्य लाग्ने तर प्रतिकात्मक अर्थ बोकेका यस्ता शब्दहरु पितृसतात्मक सोचका उपज हुन् । जसले महिलाको स्वतन्त्र अस्तित्व र पहिचानलाई आजको दिनमा पनि नकारिरहेका छन् । महिलालाई पुरुषको सहयोगिको रुपमा मात्र स्वीकार गरिरहेको छन् । यसमा अर्को तर्क पनि जोडिहालौं, समाजमा जागिर गर्ने वा कुनै पदमा भएका महिलाहरू पनि छन् । तर पुरुषलाई चाहिँ त्यो पदसँग जोडिएको शब्दले बोलाईंदैन । मास्टरको जागिर गर्ने महिलालाई मास्टरनी मान्ने हो भने उनको पतिलाई मास्टर भन्नुपर्ने हो । तर खासै सुनिँदैन । ब्याकरणमा कुनै पद लिंग निर्माण गर्न सकिँदैन् । ब्याकरणको पाटो फरक भयो । वि.सं २०५५ पछि कामको सन्र्दभमा करीब तिन वर्ष म रुद्रवेनी बसेकी थिएँ । पछाडि परेको वर्गको जातिय, लैङ्गिक पहिचानको माग सहितको माओवादी द्धन्द्ध चर्केको बेला थियो । द्धन्दको प्रत्यक्ष प्रभाव परिरहकेको त्यो गाउँमा पनि महिलाहरुलाई उनीहरुका श्रीमानका नामका पछाडी ‘नी’ जोडेर बोलाउने प्रचलन यथावत थियो । श्रीमानसगँ हातेमालो गर्दै व्यापार सम्हालीरहेका र श्रीमानलाई सामाजिक काममा जान छुट दिदै घर भित्र र बाहिरको दोहोरो जिम्मेवारी निभाइरहेका आदरणीय दिदिहरुको पहिचान केवल गोपालनी, पारीश्वरनी, खुमेनी जस्ता शब्दहरुमा सिमित थियो । उनीहरुको नाम मात्र पत्ता लगाउन मलाई थुप्रै दिन लागेको थियो । राधा, लक्ष्मी, जमुना नाम रहेका दिदिहरुको पहिचान किन ‘नी’ मा सिमित रहेको होला भन्ने प्रश्नले मेरो मन दुखिरहन्थ्यो । अहिलै आफैं भोग्दैछु । विरोध जनाउँदै बल्बल्ल उनीहरुको नामबाट बोलाउने अभ्यासको शुरुवात गराएकी थिएँ । सायद उनीहरु आज नामबाट बोलाइन्छन् होला । तर गणतन्त्र स्थापना पछिको ११ वर्ष पछि भएको स्थानीय तहको निर्वाचनको परिणाम सँगै म जस्ता केही दिदि बहिनीहरुले आफ्नो पहिचानमा पुनः ‘नी’ मा जोडनु परेको तितो यर्थाता लाजै मान्नु पर्ने गरी हाम्रो सामु उभिएको छ । लोकतन्त्र गणतन्त्र स्थापना गर्नु भन्दा कठीन त मान्छे भित्र रहेको पितृसतात्मक सोच बदल्नु रहेछ । छोरीलाई स्वतन्त्र मानवको रुपमा नस्वीकार्दा सम्म संविधानमा उल्लेखित लोकतन्त्र र गणतन्त्रको लामो परिभाषा अर्थहीन भएको छ । अहिले पनि हामी छोरीलाई पराइको सम्पत्ति ठानी कन्यादान गर्ने, गोत्र सार्ने परम्परा लाई अवलम्वन गर्दैछांै । अनि के को समानता र स्वतन्तत्रा । खाली मौलिक हकमा मात्र सिमित छन् महिला स्वतन्त्रा र समानताहरु । लोकतान्त्रिक प्रकृयालाई अवलम्वन गर्दै मैले विश्वास गरेको मान्छेलाई अमुल्य मत दिने मतदाता, कठीन पलमा साथ दिने सहकर्मी र आफन्त सबै प्रति आभारी छु । दुखःमा सहयोग र खुशीमा साथ दिने सबै प्रति कृतज्ञ छु । मेरो असहमती खाली हाम्रो मनभित्र रहेको परम्पराबादी सोच प्रति मात्र हो । श्रीमान श्रीमतीको बिचमा समझदारी र साझेदारी जरुरी छ भन्ने कुरा बुझेकी छु । कठीन परिस्थीतिमा दृढतापुर्वक उभीएर साथ पनि दिएकी छु । तर स्वतन्त्र मान्छे हुनाको नाताले मलाई मेरै पहिचान प्रीय लाग्छ । समाजमा त्यसको मुल्य कति छ । तौलेर हेर्नु छैन मलाई । काँढेघारीको कठीन यात्रा गर्न तयार छु । तर मेरो स्वतन्त्र पहिचान गुमाउन चाहान्न । थोरैले किन नहोस मेरै नाम र पहिचानले चिनुन् । मेरै नामले बोलाउन् । तर समाज र संस्कृतिको नाममा पल पलमा मेरो पहिचान खोसीदिँदा भने चसक्क मन दुख्छ । पिडाबोध हुन्छ । यही त फरक होला मान्छे र अरुमा । स्थानीय तहको निर्वाचनमा देखिएको महिला सहभागिताले केही आशा पलाएको छ । दुर्गम गाउदेखि महानगरपालिका सम्म जनप्रतिनिधको रुपमा महिलाहरु घर बाहिर निस्कीएका छन् । संविधानले अनिवार्य व्यवस्था गरेका आलंकारीक पदहरु बाहेक प्रमुख, वडा अध्यक्षहरुमा पनि महिला सहभागिता देखिएको छ । आशा गरौं स्थानीय स्तरमा महिला जनप्रतिनिधीहरुले प्रभावकारी भुमिका निभाइरहदा राधा, लक्ष्मी जमुना र म जस्ता थुप्रै नेपाली महिलाहरुले स्वतन्त्र पहिचान समाजमा स्थापना गर्न सफल हुनेछन । कम्तिमा आफ्नै नामले बोलाइनेछन् ।