बिर्तामोड / शपथ ग्रहणको एक महिना पुग्न नपाँउदै झापाको बिर्तामोड नगरपालिकाका मेयर र वडाध्यक्षबीच वाकयुद्व शुरु भएको छ । मेयर र वडाध्यक्षबीच सञ्चारमाध्यममै आरोप प्रत्यारोप शुरु भएपछि नगरपालिकाका गतिविधि सञ्चालनमा समस्या उत्पन्न हुने अवस्था आएको छ । बिर्तामोडका नवनिर्वाचित मेयर ध्रुबकुमार शिवाकोटी र वडा नम्बर ३ का अध्यक्ष भोजराज सिटौलाबीच सञ्चारमाध्यममा आरोप प्रत्यारोप शुरु भएको हो । उनीहरुले एक अर्कालाई बिर्तामोडको डोमालाल रंगशाला रहेको देवि गुठीको नाममा रहेको करोडौं मुल्य पर्ने १३ बिगाहा १७ कठ्ठा जमिन माफियासँगको मिलेमतोमा ब्यक्तिको नाममा दर्ता गराएको आरोप लगाएका छन् । बिर्तामोड नगरपालिकामा नेकपा एमालेबाट उम्मेद्वार रहेका शिवाकोटी मेयर र एमालेकै पवित्रा महतारा उपमेयरमा निर्वाचित भएका छन् । वडा नम्बर ३ मा नेपाली काङग्रेशबाट उम्मेद्वार रहेका सिटौलाले प्रतिद्वन्दीलाई फराकिलो अन्तरमा पराजित गरेर बिजयी बनेका छन् । उनै शिवाकोटी २०५४ सालको स्थानीय निकायमा तत्कालिन अनारमनी गाविसका अध्यक्ष तथा सिटौला वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित भएर काम गरेका थिए । पुनसंरचनापछि अनारमनी गाविस बिर्तामोड नगरपालिका बनेको छ भने रंगशाला रहेको वडा नम्बर ७ हाल वडा नम्बर ३ बनेको छ । बिर्तामोडमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित मेयर शिवाकोटीले नेकपा माले र नेपाली काङग्रेशले माफियासँग मिलेर गुठीको जमिन हत्याएको आरोप लगाएका थिए । उनले वडाध्यक्ष सिटौलाको नामै किटान गरेर ‘जमिन पचाउन नेपाली काङग्रेस, नेकपा माले र भोजराज सिटौला’ को षड्यन्त्रलाई आफूले असफल बनाएको उद्घोष गरेका थिए । आफै मालपोत कार्यालयमा गएर जमिन दर्ता प्रक्रिया रोक्का गरेको भनाई उनले राखेका थिए । यसपछि वडाध्यक्ष सिटौलाले स्थानीय सञ्चारमाध्यममा प्रकाशन गरेको बिज्ञप्तिमा २०५४ सालका वडाध्यक्षले जमिनको सिफारीस दिन नसक्ने बताएका छन् । उनले तत्कालिन गाविस अध्यक्ष शिवाकोटीले आफै सिफारीस दिएर हाल आएर पन्छिन खोजेको आरोप लगाएका छन् । सिटौलाको बिज्ञप्तिमा मेयर शिवाकोटीले पदीय मर्यादा भुलेर आफू चोखो हुन सञ्चारमाध्यममा अफवाह फैलाएको उल्लेख छ । उनले डोमालाल घटनाको सत्य तथ्य छानविन गरी दोसीमाथी कारवाही गर्न माग समेत गरेका छन् । के हो बिवाद ? दाता डोमालाल राजबंशीले बिर्ताबजारमा रहेको दुर्गा मन्दिरलाई १३ बिगाहा १७ कठ्ठा जमिन दान दिएका थिए । त्यसपछि त्यो जमिन देविगुठीको नाममा परिणत भएको थियो । देविगुठीको जमिनमा मोही कायम गरेर हत्याउन नपाइने भएकाले भूमाफियाले राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग गरेर देविगुठीबाट राजगुठीमा परिणत गराएका थिए । राजगुठीमा दर्ता रहेको जमिनको सतप्रतिशत स्वामित्व मोहीको हुने प्रावधान छ । सोही योजना अनुसार सतप्रतिशत हक आफ्नो बनाउन उनीहरुले जमिनको स्वामित्व देविगुठीबाट राजगुठीमा लगेका हुन् । हाल रंगशाला रहेको कित्ता नम्वर १२० को एक विगाहा दुई कठ्ठा १० धुर, ८२२ को छ कठ्ठा, ८२५ को १३ कठ्ठा र ८१५ को सात कठ्ठा टीकादेवी विमलीको नाममा ८२० को आठ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को सात कठ्ठा सूर्यकुमार विमलीको नाममा नामसारी गरिसकेपछि मात्र स्थानीयबासीले देवी मन्दिरको जग्गा भू–माफियाको कब्जामा जाँदैछ भनेर थाहा पाएका थिए । चुनावी मसला देविगुठीको जमिन माफियाको कब्जामा लानका लागि तत्कालिन जनप्रतिनिधिले मतियारको भूमिका खेलेको बिषयलाई स्थानीय तहको चुनावमा नेपाली काङग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी मसला बनाउन खोजेका थिए । केही हदसम्म शहरमा यो बिषयमा चर्चा चलेको भएपनि मतमा असर पर्ने आकलन गरेर उनीहरुले घटनालाई सतहमा ल्याएका थिएनन् । नेपाली काङग्रेसले बिर्तामोडमा सहजै चुनाव जित्ने अनुमान गरेको हुनाले बिवादित बिषयलाई उचाल्न जरुरी देखेन । तर, चुनावको परिणाम उनीहरुको अनुमान बिपरित नेकपा एमालेको पोल्टामा गएको थियो ।शिवाकोटीले बिर्तामोडको एक कार्यक्रममा नेपाली काङग्रेस र नेकपा मालेले हत्याउन खोजेको जमिन आफूले फिर्ता लिएको दावी गरेका छन् । नेपाली काङग्रेसले भने शिवाकोटीकै सिफारीसमा त्यो जमिन माफियाको कब्जामा गएको आरोप लगाएको छ । तर, त्यो समयमा तत्कालिन गाविस उपाध्यक्ष लोकबन्धु कन्दङवाको नेतृत्वमा मालपोत कार्यालय पुगेको टोलीले उजुरीसम्म हालेको खुलेको छ । यद्यपी काठमाण्डौ घर भएका महर्जन र बिमली परिवारले सबैभन्दा आकर्षक ३ बिगाहा ३ कठ्ठा १० धुर जमिन आफ्नो नाममा पारेका थिए । स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएको छ । बिगतका जनप्रतिनिधिको भन्दा अधिकारसम्पन्न यो पटकका जनप्रतिनिधिबाट मतदाताले थुप्रै आशा गरेका छन् । निर्वाचन भए लगत्तैको यो आरोप प्रत्यारोपले नगरपालिका र यसको बिकासमा प्रत्यक्ष असर पार्ने चिन्ता नगरवासीलाई छ । सबैजना मिलेर गुमेको सार्वजनिक जमिन फर्काउन पहल गर्ने समयमा जबरजस्ती श्रृजना गरिएको बिवादलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।