धरान/धरान उपमहानगरपालिका नगर परिषद बोर्डमा एमाले प्यानलै विजयी बनेका छन् । सभागृहमा मंगलबार सम्पन्न बोर्डको निर्वाचनमा ८ जना सदस्यहरु एमालेबाट विजयी बनेका हुन् । एमालेले धरानको १४ वटा वटामा प्यानलै जित निकालेको थियो । प्रमुख, उपप्रमुखसहित १०२ जना निर्वाचित मध्ये एमालेबाट एक र कांग्रेसबाट २ जना सदस्यहरु निर्वाचनमा सहभागी बनेनन् । एमालेबाट विजयी हुनेमा महिला तर्फ कल्पना थापाले ७१, गीता पाख्रिनले ७२, विनिता बज्राचार्यले ७०, लिला गुरुङले ७१ र हिरादेवी राईले ७१ मत प्राप्त गर्दै विजयी बनेका हुन् । यता उनीहरुको प्रतिद्धन्द्धी कांग्रेस, माओवादी केन्द्र गठबन्धनका दिलकुमारी राईले २८, रिता सुन्दासले २८, सन्ध्या श्रेष्ठले २८, विना लावतीले २७ र फूलमाया बिकले २६ मत प्राप्त गरेका छन् । त्यस्तै पुरुषहरुमा एमालेकै इश्वर परियारले ७०, कैलास अग्रवालले ७१ र सुवार राईले ७० मत प्राप्त गर्दा उनीहरुका निकटतम प्रतिद्धन्द्धी युवराज संकरले २९, बालकुमार भुजेलले २८ र घमानसिंह बिकले २६ मत प्राप्त गरेका थिए । वोर्डको निर्वाचन मण्डलमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख उपसचिव कमलबहादुर थापा रहेका थिए । निर्वाचित सदस्यहरुलाई मंगलबारै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सपथ ग्रहण गराएका थिए ।