शनिश्चरे/धान उत्पादनमा देशकै प्रमुख ठाउँ झापामा रोपाई सक्ने समयसम्ममा ६५ प्रतिशत मात्र धान रोपाईं भएको छ । धानका लागि सुपरजोन मानिएको झापामा साउन १५ सम्ममा रोपाईं सकिसक्नु पर्नेमा पर्याप्त सिंचाई नहुँदा ६५ प्रतिशत मात्र धान रोपाईं हुन सकेको कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाशकुमार डाँगीले बताए । ५० प्रतिशत जमिनमा अझैं पनि सिंचाईको प्रवन्ध नहुँदा आकाशे पानीको भरपर्नुपर्ने हुन्छ । पर्याप्त पानी समेत नपरेकाले रोपाई हुन नसक्दा धान उत्पादन घट्ने डाँगीको भनाई छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत जिल्लाको पत्थरीया, घेराबारी, बालुवाडी, पाठामारी, केचना, बनियानी र पृथ्वीनगरलाई धान–सुपरजोन क्षेत्रका रुपमा परियोजना सञ्चालन सुरु गरिएको छ ।  असारमा सुरु हुने धान रोपाई साउन १५ सम्ममा सकिनु पर्ने हुन्छ । तर यसबेला सम्ममा पनि पर्याप्त वर्षा नभएका कारण झापाको ३५ प्रतिशत जमिन बाँझै रहने सम्भावना बढी छ । झापामा ९८ हजार ७ सय १६ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ९० हजार हेक्टरमा धान खेती हुने गरेको छ । तर, ४६ हजार ७ सय ६२ हेक्टरमा मात्र सिंचाइ सुविधा पुगेको छ । जिल्लामा वर्षेनी ८७ हजार ५ सय हेक्टरमा बर्खे धान रोपाई हुने गरेको छ । २० हजार ३ सय हेक्टरमा चैते धान रोपिन्छ । झापामा आर्थिक वर्ष २०७३÷०७४ मा दुवै सिजनमा गरी ५ लाख १७ हजार ९ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो ।