६ ओस्कर अवार्ड जित्ने फिल्म ला ला ल्याण्डकी मुख्य नायिका एमा स्टोनलाई फोर्ब्स म्यागजिनले संसारको सबैभन्दा धेरै कमाई गर्ने नायिकाको रुपमा घोषित गरेको छ । २८ वर्षीया यी हलिउड नायिकाले पछिल्लो एक वर्षमा २.६ करोड डलर कमाएकी छिन् ।

एमा स्टोनले ला ला ल्याण्डमा उत्कृष्ट अभिनयका कारण निकै चर्चा बटुलेकी थिइन् । उनले यस वर्ष लैङ्गिक समानताका लागि पनि आवाज उठाएकी थिइन् । एमा स्टोनका अनुसार फिल्मको हिरोको तलबमा कटौती भएको थियो ता कि एमा र उनले बराबर तलब पाउन सकून् ।

यो सूचीको दोस्रो स्थानमा जेनिफर एनिस्टन छिन् । उनले पछिल्लो एक वर्षमा २.५५ करोड डलर कमाएकी छिन् । उनले अमेरिकन सिटकम फ्रेन्ड्सबाट लगातार रोयल्टी पाइरहेकी छिन् । ड्रामा फिल्म द यलो बर्डमा पनि देखिइन् । यसका साथै उनी इमिरेट्स एयरलाइन्सकी ब्रान्ड एम्बेसडर पनि हुन् । यो सूचीमा जेनिफर लरेन्स तेस्रो नम्बरमा झरेकी छिन् । उनी पछिल्लो दुई वर्षदेखि शीर्ष स्थानमा थिइन् । लरेन्सले पछिल्लो एक वर्षमा २.४ करोड डलर कमाएकी छिन् । उनले सन् २०१६ मा कमाएको भन्दा यो आधा कमाई हो । सन् २०१६ मा उनले ४.६ करोड डलर कमाएकी थिइन् ।

एमाका फिल्मले संसारभी ४ सय ४५ मिलियन डलरको कारोबार गरेको छ । उक्त फिल्मका लागि एमाले थुप्रै अडिशन दिएकी थिइन् । ला ला ल्याण्डले अस्कर अवार्डमा १४ नोमिनेशन पाएका थिए । एमा हलिउडमा महिला र पुरुष अभिनेतालाई बराबर पारिश्रमिक दिइनुपर्छ भनेर आवाज उठाइरहेकी छिन् । उनले विभिन्न अवस्थामा यस्तो माग गरिसकेकी छिन् ।