चर्चित अमेरिकी हास्यकलाकार र नायक जेरी लुईसको ९१ वर्षको उमेरमा लास वेगासमा निधन भएको छ । उनको परिवारले यसबारे पुष्टि गरेका हुन् । जेरी निर्माता, लेखक र निर्देशक पनि थिए । उनले सबैभन्दा पहिले सन् १९५० को दशकमा डीन मार्टिनको कमेडी पार्टनरको रुपमा आफ्नो पहिचान बनाएका थिए । त्यसपछि उनी नाइट क्लब, टिभी शो र कन्सर्टमा आफ्नो कमेडी कार्यक्रमबाट चर्चित भए । उनलाई कमेडी किंग भनिन्छ । जेरीले द नटी प्रोफेसर, द बेलवोई र लेडिज म्यानजस्ता विभिन्न फिल्ममा अभिनय गरे । डिन मार्टिनसँग उनको कमेडी शो मार्टिन र लुईस निकै चर्चित थियो । चर्चित हास्यकलाकार जिम केरी, नायक डेनी ट्रेजोसहित थुप्रै सेलिब्रिटीले जेरीको निधनमा दुःख जताएका छन् । केरीले लेखेका छन्, ‘यो मूर्ख नक्कली थिएन । उनी निर्विवादित जिनियस थिए । आज म जे छु, उनकै कारण हूँ ।’ डेनी ट्रेजोले लेखेका छन्, ‘भगवान, जेरी लेविसको आत्मालाई शान्ति देउ । आफ्नो पूर जीवन अरुलाई हँसाउनका लागि समर्पित गरेकोमा धन्यवाद ।’ स्मरण रहोस्, जेरी लुईसले अमेरिकी कमेडी अवार्ड, लस एन्जेलिस फिल्म क्रिटिक्स असोसिएशन र वेनिस फिल्म फेस्टिबलसहित विभिन्न प्रतिष्ठित अवार्डमा सम्मानित गरिएको थियो ।