करिब ३५ वटा म्युजिक भिडियो गरेका मोडल ह्यारी योञ्जनले दीपक लिम्बूको ओ माइ डार्लिङ, सुमी चाम्लिङको लस मा लस लगायतका भिडियोमा अभिनय गरिसकेका छन् । मोफसलबाट काठमाडाैँमा होमिएर सङ्घर्ष गरिरहेका उनै कलाकारसँगको अन्तरङ्ग :

१. मोडलिङमा कसरी लाग्नुभयो ? –सुरुमा स्टेज प्रोगाम गर्थें । विस्तारै फिल्मक्षेत्रमा लगाव बढ्यो । एकैपटक पुग्न गाह्रो हुने, त्यसैले म्युजिक भिडियोबाट करियर अघि बढाउन सुरु गरेँ ।

२. मोफसलबाट काठमाडाैँसम्म जाँदाको अनुभव कस्तो छ ? –एकदमै गाह्रो, यो क्षेत्र आफन्त हुनेले पकड जमाएको ठाउँ, कोही पनि आफन्त यस क्षेत्रमा नभएको कलाकार म, सुरु–सुरुमा धरानको प्रशान्त तामाङ दाइको सहारा लिएर यस क्षेत्रका व्यक्तित्वसँग चिनजान बढाउन थालेँ । मलाई कलाकार भनेर चिनिनु नै गाह्रो थियो ।

३. आफै लगानी गरेर मोडलिङमा आउनेहरु पनि त छन् नि ? –आफै लगानी गरेर मोडलिङमा आउनेहरुको भविष्य क्षणिक हुन्छ । सक्षम भएका केही समय लागिपरेपछि एकदिन कलाको कदर हुन्छ ।

४. ठूलो पर्दामा फड्को मार्ने सोच कहिले पूरा होला त ? –यसक्षेत्रमा आउनुअगाडि पूर्वतयारी गरेर आएको थिएँ । अहिलेसम्म सफल भएको छु । आफ्नो ‘टार्गेट’ पूरा गर्दैछु । चलचित्रमा जम्नका लागि त्यति सजिलो छैन । एउटा फिल्ममा देखापरेर हराउने होइन कि जम्ने सोच छ । आवश्यक पूर्वतयारी गर्दैछु ।

५. मोडलिङ गर्नेलाई चलचित्रमा ब्रेक पाउन गाह्रो हुन्छ रे नि ? –प्रायःजसो निर्माताले म्युजिक भिडियो गर्नेलाई गन्दैन । सीमित मान्छेको सोचाइमा भिडियो गर्नेहरु केही होइनन् भन्ने पनि छ । केहीको सोचाइ फरक छ । तर म भन्छु म्युुजिक भिडियो त हामी मोडलहरुको खुड्किलो हो । मेल मोडलभन्दा फिमेल मोडलहरुलाई सजिलो छ । म्युजिक भिडियोले आँखामा चाँडै बस्न सक्छ तर हामी मेल मोडल सक्षम भएर मात्र हुँदैन, व्यतित्व र चिनजान आदि हरेकपक्षलाई ध्यानमा राख्नुपर्छ ।

६. मोडलिङ र फिल्मक्षेत्रमा धेरै फरक छ रे हो ? –यी दुई एक–आपसमा परिपूरक छन् । निर्देशक, कलाकारहरुले म्युजिक भिडियोहुँदै फिल्ममा लाग्नेहरु पनि छन् ।

७. सिनियर कलाकार र जुनियर कलाकारबीच स्टारडमको भिडन्त हुन्छ रे नि ? –सबै कलाकारबीच त्यस्तो हुँदैन । कोही कोही स्वभावले गर्दा त्यस्ता हुन्छन् । तर मभन्दा पछि आउने कलाकारहरुले मलाई सोधिरहेका हुन्छन् । उनीहरुलाई तर्साउने होइन कि गाइड गर्ने प्रयास गरेको छु ।

८. यस क्षेत्रमा अविस्मरणीय क्षण केही छ ? –आमाबुबाको चाहनालाई मारेर यस क्षेत्रमा केही गर्छु कि भनेर लागिपरेको छु । यो कुराले बेला–बेलामा मन झस्किन्छ ।

९.मोडलिङ गरेर मात्र पुग्छ त ? –‘फाइनान्सियल सर्पोट’ का लागि अहिलेसम्म घरबाट लिनुपरेको छैन । म्युजिक भिडियोले लाउन, खान पुगेको छ । काममा इमान्दारी हुनुपर्यो, गाह्रो छैन ।