१. लगभग एक दशक भैसक्यो पर्दामा देखिँदैन तपाईलाई केमा व्यस्त हुनुभयो ? – अहिले फिल्मीक्षेत्रमा भन्दा बढी सक्रिय व्यवसायमा छु । फाइनान्स सम्हाल्दै छु । निकै सेन्सिटिभ क्षेत्र भएकोले गर्दा अन्य कुरामा समय दिन सकेको छैन ।

२. व्यवसाको कुरा खुलेर भन्न मान्नु भएन किन नि ? – गोप्यताको महत्व हरेक क्षेत्रमा हुन्छ । मानिसका लागि यो आवश्यक छ ।

३. गोपनियता भङ भएको कुनै घटना छ ? – छ, जतिबेला म फिल्म क्षेत्रमा सक्रिय थिएँ । त्यस समयमा मिडियामा लिङअप्सको कुराहरु बाहिर आउँथ्यो कति सत्य थियो, कति हावा त्यसैले पनि गोपनीयता हुनुपर्छ ।

४. फिल्म क्षेत्रबाट लामो समय टाढा रहनु भयाे, यो क्षेत्रमा नसा हुन्छ रे नि गाहो भएन ? – फिल्ममा हिरोको रोलमा आएको मात्र हो । साथीभाइसँग भेटघाट भैरहन्छ । विज्ञापन, म्युजिक भिडियोहरु गरिरहेको छु, त्यसैले खासै गाह्रो हुन्न । चटक्कै छाडेको छैन । फिल्म प्रोड्युसर बनेर कम–ब्याक गर्ने सोचमा छु ।

५. दर्शकले तपाईलाई आफ्नो नामबाट भन्दा भारतीय अभिनेता ज्याकी श्रोफ भनेर चिन्छन्, कस्तो लाग्छ ? – सुरु–सुरुमा त खुसी लाग्थ्यो, पछि दर्शकसँग प्रत्यक्ष भेटघाट हुँदा मेरो आफ्नो नामभन्दा नचिन्ने ज्याकी नामले मात्र चिन्ने भएको थाहा भएपछि चाहिँ दुःख लाग्न थाल्यो ।

६. करिस्मा मानन्धर, जल साह, पुजना प्रधान लगायतका हट हिरोइनहरुसँग पर्दामा रोमान्स गर्दाको पल कस्तो थियो ? – सबैको आ–आफ्नै बानी र नेचरअनुसार अनुभव लिने हो । उहाँहरुसँग मैले एउटा मात्र होइन, चलचित्र दोहोर्याएर काम गरियो । रमाइलो नै थियो ।

७. एक्सन, रोमान्स र कमेडीमा कुन रोल गर्न सजिलो हुन्छ ? – सबैभन्दा सजिलो मलाई एक्सन लाग्यो रोमान्स खासै गाह्रो भएन तर कमेडी गर्न चाहिँ धेरै गाह्रो हुँदो रहेछ । एकपटक मलाई एक्सन फिल्म भनेर साइन गराए बीच–बीचमा कमेडी सिन रहेछ । बीचैमा सुटिङबाट भागौं कि जस्तो भा’को थियो । एकदमै गाह्रो अरुलाई हँसाउन ।

८. फिल्ममा हिरो बनेर कम ब्याक गर्ने सोच छैन ? – हा..हा...हा...., अब त दर्शकले पत्याउनु हुन्न होला । आँट आउँदैन, अहिले त साथीहरुले सल्लाह दिनुहुन्छ । तर अहिलेसम्म कमाएको इज्जत गुमाउनु छैन, हा..हा...हा...