देउवाको मन्त्रीपरिषद महाजम्बो

ब्लाष्ट खबर


काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनकै मुखमा ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर आइतबार ५४ सदस्यीय बनाएका छन् । राप्रपासँग अलग्गिएर बनेको राप्रपा (प्रजातान्त्रिक) बाट तीन मन्त्री र एक राज्यमन्त्री थपेर उनले ‘महाजम्बो मन्त्रीपरिषद’ पुर्याएका हुन् ।
देउवाले २०५२ सालमा आफैंले बनाएको ४८ सदस्यीय ‘जम्बो मन्त्रिपरिषद्’ को रेकर्डलाई आफैंले तोडेका छन् । थपिएकामा दीपक बोहरालाई विज्ञान तथा प्रविधि, सुनील थापालाई उद्योग र विक्रम पाण्डेलाई वनमन्त्रीको जिम्मेवारी तोकिएको छ भने रेशम लामालाई उद्योग राज्यमन्त्री बनाइएको छ । यो विस्तारसँगै देउवा मन्त्रिपरिषमा मन्त्री ३० र राज्यमन्त्री २३ पुगेका छन् । निर्वाचन आयोगले नियुक्ति र सरुवा रोकी भदौ १५ देखि निर्वाचन आचारसंहितासमेत लगाइसकेको छ । कर्मचारी सरुवामा आचारसंहिता उल्लंघन भएको भन्दै आपत्ति जनाउने आयोग मन्त्रिपरिषमा मन्त्री नियुक्त हुँदा भने मौन छ । मन्त्रिपरिषद् विस्तारको जानकारी प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतल निवासमा गराइसकेको छ । सोमबार ११ बजेलाई नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम तय गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । तीन महिनाको अवधिमा देउवाले आफ्नै मन्त्रिपरिषद् छैटौं पटक विस्तार गरेका हुन् । पछिल्लो पटक उनले भदौ ४ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।