सुनसरी/ धर्म सस्कृतिको जर्गेणा सँगै मैथिल र थारू समुदायका महिलाको महान् पर्व जितिया धुमधामको साथ सुरु भएको छ । थारु समुदायमा अहिल जितियाको महत्व समेत बढ्दै गएको पाईन्छ । मधेसी संस्कृतिको पर्वमध्येको मुख्य पर्व जितियाले मधेसमा रौनक थपेको छ ।

आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन मधेसका प्रत्येक गाउँघर, शहरका विवाहित महिलाले मनाउँने पर्व भए पनि अहिले यसको महत्व बढ्दै गएको इटहरी ९ की सामाजिक अभियानता निरु चौधरी वताउँछिन । थारु जातीहरु आफ्नो सस्कृति जोगाउँन पर्छ भनेर लागीरहेको उनको भनाई थियो । यो थारु समुदायका लागी हरितालिका तिज जस्तै हो यस्को महत्व अहिले मधेसमा बढेको छ उनले थपिन् । इटहरी १ की कराईबनकी ८० वर्षिय दशनी थरुनी भन्छिन आश्विन कृष्ण सप्तमीका दिन सधवा स्त्रीगण माछा एवम् कोदोको रोटी खाने गर्छन् भने विधवाद्वारा भात, चिउरा, कोदोको रोटी खाने परम्परा रहेको छ । उनले जितियाको महत्व सामान्य नभएको वताईन । शाकाहारी हुनेले स्नान गरेर गम्हरी (कोसा भित्रै फल्ने धान)को खीर वा भात पनि खाने चलन छ । अष्टमी तिथिको बिहान ३–४ बजेतिर नै प्रत्येक महिलाले आचमन शुद्धि गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राख्छन् ।

छोरा छोरी र श्रीमानको लागी मनाईने यो पर्वको महत्व निकै धेरै रहेको वताउँछिन इटहरी १ कराईबनकै ७० वर्षिय सुखरी थरुनी । जितिया पर्वलाई पछिल्लो पुस्ताले समेत महत्व दिईरहेको उनको भनाई थियो । त्यस्तै ६० वर्षिय असिया थरुनीले पनि आफुलाई जितिया पर्व मनाउँन साह्ै रमाईलो लाग्ने उनको प्रतिक्रिया थियो । भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको असीमकृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान दिए पछि यो पर्व मनाईदै आएको कथन छ ।

थारू समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन् । यस समुदायमा पर्वको पहिलो दिन पिना र पहेँलो माटो मुछेर घिरौँलाका पातमा घिरौँलाकै फूलबाट पूजा गरिन्छ र त्यही माटोबाट कपाल नुहाइन्छ । भोलिपल्ट बिहान कुलदेवता बस्ने घरको पिँढीमाथि चिल र पिँढीदेखि तल स्यालको पूजा गरिन्छ । पर्वको तेस्रो दिन बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ । झाम्टा नाच जितिया अर्थात् थारुको तीजमा परम्परागतरुपमा नाँचिदै आएको छ । यसमा १७/१८ जना महिला गीत गाउँदै घुमेर थपडी बजाउँदै नाँच्ने गर्दछन् ।

जितिया पर्व मधेसी र थारु समुदाय संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई (जितवाहन) व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन मधेस र थारु समुदायका प्रत्येक गाउँघर, सहरका महिलाले मनाउछन् । विशेष रुपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई (खड् जितिया) पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बच्न सफल भयो भने उसको आमाले खड् जितिया गरेकी रहिछन् भन्ने मान्यता पनि रहेको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।