बीबीसी/भारतको ओडिशाको भद्रक शहरमा एक व्यक्तिले आफ्ना एक वर्षका छोरालाई २५ हजार भारुका लागि एक निःसन्तान दम्पत्तीलाई बेचेको खबर सार्वजनिक भएको छ । प्राप्त रकमले उनले एक मोबाइल फोन, केही गहना र कपडा खरिद गरे भने बाँकी भएको पैसा रक्सीमा खर्च गरे ।

घटना सार्वजनिक भएपछि पुलिसले पान्डिया मुखी नामका यी व्यक्ति र उनका छिमेकी बलराम मुखीलाई पक्राउ गरेका छन् । पुलिसले एक व्यक्तिलाई पनि पक्राउ गर्ने तयारी गरिरहेको छ जसले बच्चाको बिक्रिमा मध्यस्थता गरेको आरोप छ । जिल्ला चाइल्ड लाइनले बच्चालाई बचाएर उनलाई उनको आमाको जिम्मा लगाएको छ ।

भद्रकका एसपी अनुप साहूले बीबीसीलाई भने, ‘मंगलबार पान्डिया र बलरामलाई पक्राउ गरेर उनलाई अदालतमा पेश गरियो । उनको जमानतको निवेदनलाई अदालतले रद्द गरिदियो जसपश्चात् दुबैलाई जेलमा पठाइएको छ ।’ उनले भने, ‘जिल्ला जुवेनाइल जस्टिस बोर्डको आदेश अनुसार आमा र बच्चालाई तत्कालका लागि ‘आशियाना’ गृहमा राखिएको छ । बोर्डले नै उनीहरुबारे अन्तिम निर्णय गर्नेछ ।’ भद्रक टाउन थानाका पुलिस मनोज राउतका अनुसार दुबै अभियुक्त विरुद्ध मुद्दा दर्ता भएका छन् ।

सोधपुछका क्रममा पन्डिया र बलरामले केही वर्ष अघि एक दुर्घटनामा आफ्नो एकमात्र सन्तान गुमाएका सोमनाथ सेठीले बच्चाका लागि मध्यस्थताकर्तालाई ४५ हजार भारु दिएको जसमा उनले २५ हजार भारु पान्डियालाई दिएको र बाँकी रकम आफूसँगै राखेको बताइएको छ । पान्डियाले यी रकममध्ये २ हजार भारु आफ्ना सालो बलरामलाई दिएको जसले मध्यस्थताकर्ताको अनुरोधमा उनलाई बच्चा बेच्नका लागि राजी गरेका थिए ।

पिताले स्विकार गरे बच्चालाई बेचेको कुराः

पुलिस भन्छ, ‘सोधपुछको क्रममा पान्डियाले छोरा बेचेको कुरा स्विकार गरे तर उनले पैसाका लागि आफ्नो छोरालाई बेचेको नभई उनको ‘उत्कृष्ट भविष्य’ का लागि यस्तो गरेको बताए ।’ यद्यपी, छिमेकी र पान्डियालाई चिन्नेहरुका अनुसार कुचिकार पान्डिया जँड्याहा भएको र रक्सीका लागि उनको यस्तो घिनलाग्दो काम गरेका हुन् ।

पूरा घटनाक्रमबारे जानकारी दिँदै भद्रक चाइल्ड लाइनकी निर्देशक सोफिया शेखले बीबीसीलाई भनिन्, ‘घटनाबारे हामीलाई एक नागरिकले फोनमा सूचना दिएका थिए र त्यसपछि हामीले पुलिससँग सम्पर्क गर्यौं ।’ ‘मंगलबार बेलुका हामी पुलिससँगै सोमनाथ सेठीको घर गयौं र बच्चालाई उनको आमा भए ठाउँ पुर्यायौं ।’

सोफियाले भनिन्, ‘बच्चाकी आमा वर्षालाई सोधपुछको क्रममा थाहा भयो कि उनलाई बच्चा बेचिएको बारे केही पनि थाहा थिएन । उनका श्रीमानले उनीसँग झुटो बोलेर बच्चालाई बेचेका हुन् ।’ वर्षाले भनिन्, ‘घटनाको दिन मेरा श्रीमान छिमेकमा बस्ने मेरा भाइ पर्ने बलराम घरमा आए । श्रीमानले बच्चालाई नुहाइदिन भने ।’

‘मैले छोरालाई नुहाइदिएँ र त्यसपछि दुबैले बच्चालाई लिएर गए । त्यसपछि जब मैले बच्चा बारे सोध्दा छोरा राम्रो स्थानमा भएको बताउँदै कुरालाई बन्द गरिदिन्थे ।’ उनी भन्छिन्, ‘जब उनले मोबाइल फोन र मेरा लागि पाउजु किनेर ल्याए तब मैले कहाँबाट आयो पैसा भनेर सोध्दा उनले बलरामले दिएको बताए । पछि एकजना छिमेकीले ती दुबैले छोरालाई बेचिसकेको बताए ।’

उनी भन्छिन्, ‘म जसरी भएपनि आफ्नो बच्चालाई पाल्नेछु तर मेरा श्रीमान्ले सजायँ पाउनैपर्छ ।’