ब्यालेट भर्सेज लोकसेवा

तिलक घिमिरे (निर्मल)

“सिंहदरवारको अधिकार गाउँगाउँमा, अभिभावक विहीन टोलटोलमा १५ वर्ष पछि अभिभावकत्व, २० वर्ष पश्चात् आफनो शासन गर्ने नेतृत्व आफै छनौट गर्ने सौभाग्य, सबै अधिकार स्थानीय तहमै पुग्ने हुदा, अब त हाम्रो राष्ट्रले विकासमा फड्को मारेर कायापलट नै हुन्छ रे” यि र यस्तै स्टेट्मेन्ट स्थानीय तहको निर्वाचनको प्रथम, द्वितीय र तृतीय चरणको पूर्वसन्ध्यामा हामीले यत्र, तत्र, सर्वत्र सुनिइरहेको सार्वजनिक कथन हो ।

स्थानीय तहको निर्वाचन नभएको पनि २ दशक नाघिईसकको छ । ५/५ वर्षमा हुनु पर्ने कानुनी प्रावधान भएतापनि नेतृत्व तहको अकर्मण्यता, असक्षमता तथा गृहयुद्ध अनि तत्पश्चातको तरल राजनितिक दुरावस्थाको कारण हाम्रो निर्वाचन यति ढिला हुन पुगेको कुरा सबैलाई छर्लङै छ । यहाँ उल्लेख गर्न खेजिएको हालैका दिनमा कर्मचारी र पदाधिकारीहरु बिच बढेको बैमनस्यताको कारण कतिपय गाउँपालिका, नगरपालिका लगायतको परिषद वैठक सम्पन्न हुन नसकेको विषयले चर्चा पाईरहेको विषय उठान गरिन लागेको हो । जनताद्वारा विश्वास गरेर स्थानीय सरकारको रुपमा पठाएका हुन् जनप्रतिनिधीहरु ।

राज्यले निर्धारण गरेको सम्पूर्ण सीमामा अब्बल निर्वाचित स्थानीय जनप्रतिनिधीहरु र अत्यन्तै कडा परिश्रम गरी पढीगुणी लोकसेवा परिक्षा उत्तिर्ण गरी आएका कर्मचारीहरु बिच देखा परेको “मपाइत्व” अनि हानाथापको विषय हो । यहाँ चिन्ताको विषय भनेको हालै मात्र ठूलो संख्यामा जननिर्वाचन प्रतिनिधि आएका छन् । तर सबैजनामा शैक्षिक योग्यता र प्राविधिक ज्ञान भरिपूर्ण नहुन सक्छ भने अर्कातिर लोकसेवा पास गरेर आएका र २० वर्ष देखि स्थानीय संयन्त्रलाई परिचालन गरी शासन गरी खरिएका राष्ट्रसेवकहरुमा देखिएको एकले अर्कालाई स्वीकार गर्न नसक्ने दरिद्र मानसिकता र जुँगाको लडाई मूख्य कारण हो । पक्षपोषणको लागि त जसले जसरी पनि अथ्र्याउन सक्छ । जनप्रतिनिधीहरु १५ वर्षसम्म गाउँमा नुहुँदा दुर्गम गाँउ/गाँउमा गई सम्पूर्ण गाविसको विरासत थामेर हाल यो स्थानमा ल्याउन आफुले गरेको भुमिका बिर्सन नमिल्ने लोकसेवा पक्षको भनाई छ भने “हाम्रो अनुपस्थितिमा गाँउमा कर्मचारी तन्त्रले गरेको मोजमानी अब चल्न नदिने र अब तिमीहरुलाई ठिक पार्न म आईसकेको छु” भन्ने ब्यालेट पक्षधरहरुको भनाई छ ।

कतै कतै त कतिसम्म निकृष्ट भाषाको प्रयोग भएको पाइन्छ कि सो कुरा यहाँ लेख्न पनि असहज भहरहेको छ । “कुन ठाउँमा र के का लागि हस्ताक्षर गर्नुपर्ने हो सो समेत थाहा नहुने औँठाछापले हामी, जो यत्रो पढेर ज्ञानी भइसकेकाहरुलाई खुब कजाउन खोज्ने” जस्ता लोकसेवा पक्षधरको उद्गार र गाँउ जान नचाहने सदरमुकाम मै बसी तलब भत्ता बुझी खाने भ्रष्ट प्रवृतिलाई अब गतिलै झापड हानिन्छ भन्ने ब्यालेट वालाहरुको अभिव्यक्तिले हामीलाई सिंहदरबार झन् टाढा भएको जस्तो भान हुदैछ । दुर्गममा खटाएका कर्मचारीहरु कार्यक्षेत्रमा नगई बजार क्षेत्रमा नै अनेक बहानाबाजी बनाईरहेको र अनावश्यक बार्गेनिङ गरी बसिरहेकोले नेपाल सरकार मन्त्री परिषद्ले हालै निर्णय नै गरेर खटाएको ठाउँमा नजाने कर्मचारीहरुको तलब नै रोकिदिने सम्मको चेतावनी दिन बाध्य भएको छ । यि त भए स्थानीय तहमा गाउँपालिका स्तरका कुरा । जिल्ला समन्वय समिति प्रमुख र जिल्ला तहका ठूला कर्मचारीहरु एवं नगर प्रमुखहरुमा पनि माथि उल्लेखित समस्या ऐजन् ऐजन् रुपमा देखा पर्न थालेको कुरा केही संचार माध्यमबाट सुनिन थालिसकेको छ ।

नगर प्रमुखहरु र गाउँ प्रमुखहरु “हामी त प्रत्यक्ष जनताको मतद्वारा निर्वाचित भएर आएका हौं । हामीलाई अरुलाई भन्दा जनताहरुले बढि विश्वास गरेकोले हामी ठूला हौं” भन्ने आशययुक्त व्यवहार गर्दछन् र समन्वय समितिका प्रमुखलाई “आपुताली पात्र” भन्दैछन् भने समन्वय समिति प्रमुखले चाही “प्रत्यक्ष निर्वाचितहरुले आफुलाई राजा ठान्छन् भने म तिनै राजाहरुबाट नै निर्वाचित महाराजा” हुँ भनेर जुन जुँगाको लडाई गरिरहेका छन्, त्यसबाट पनि सर्वसाधारण जनतालाई राहत नभई आहत मात्र पुगेको छर्लङ्ग हुदैछ । कलम वाला पनि कडा मेहनत गरी राज्यले तोकिदिएको ढाँचाको प्रतिस्पर्धामा सहभागी भएर सोबाट उतिर्ण भई आएका हुन् । स्वभावैले उहाँहरुलाई नीतिगत कुरा बढी जानकारी हुन्छ । प्रशासकीय ज्ञान, लेखनकलाको ज्ञान र अन्य प्राविधिक ज्ञान बढी हुन्छ नै साथै ब्यालेट (मताधिकारी) हरुमा पनि जनविश्वास हुन्छ ।

जनताहरुले आफुलाई शासन गर्नका लागि छनौट गरेका मुखियाबाट नै शासित हुन चाहन्छन् । कलम र व्यालेटको अधिकार चेक एण्ड ब्यालेन्सको हुनुपर्दछ । स्थानीय तह संचालन निर्देशिकामा राज्यले स्पष्ट सबै कार्य विभाजन स्पष्ट पारेको छ । यहाँ अबुझताले यस्तो समस्या सृजना हुन लागेको हो जस्तो पक्कै लाग्दैन । यहाँ तँ भन्दा म माथि भन्ने मपाईत्वपना, गैर जिम्मेवारीपना र बौद्धिक दरिद्रताको पराकाष्ठा झल्किन लागेको मात्र हो । कर्मचारीले जनप्रतिनिधिहरुलाई सौता आएको ठान्नु र जनप्रतिनिधिहरुले “हेरौ न अब, अब कसरी रजाई गर्छस्” भन्ने हिन मानसिकता, निकृष्ठ सोचाई अनि बौद्धिक दरिद्रताको पराकाष्ठा भनेर भन्नु अत्युक्ति नहोला । यसका लागि हामी सर्वसाधारण जनताहरुले बाचकहरुको भूमिका निर्वाह गर्नुपर्दछ र दुबै संयन्त्रलाई साइजमा ल्याउन प्रभावकारी भूमिका निर्वाह गरिनु पर्ने हुन्छ । बीस वर्ष पछि आएको स्थानीय सरकार अनि शुरुमा भनिए झै गाउँगाउँमा सिंहदरबार केवल नारामा सीमित हुन जान्छ ।

हामी सर्वसाधारणहरुलाई कुनै वाद र तन्त्र चाहिएको छैन, न त हामीलाई कुनै तन्त्र र वादसंग नजिक र टाढाको साइनो नै छ, हामीलाई मतलब छ त राज्यले छुट्याई दिएको हाम्रो अधिकार सहज रुपमा प्रयोग गर्न पाईयोस् । यहाँ हामीलाइ जुँगाको लडाईको दर्शक हुनु छैन, कोही पनि पानी माथिको ओभानो हुनुहुन्न र जनताको सेवा गर्नेछु भनि राज्यबाट जिम्मेवारी लिएर आएका ब्यालेट र कलम दुबै पक्ष मिलेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । कर्मचारी संयन्त्र र जनप्रतिनिधीहरु भनेका एकै उदेश्य लिएर सेवामा समर्पित एक परिवार हो । परिवारमा सबैको भुमिका बराबर हुन्छ त्यस घरलाई राम्रो बनाउन । हामीमा पनि कलम र व्यालेट मिल्न सकेनन् भने यो समस्याले अब हुदै गरेको प्रदेश नं. २ को मत परिणाम पश्चात् आउने नयाँ संरचनाले झनै विकराल रुप लिन सक्छ । म पनि २ नं. निर्वाचन क्षेत्रको नागरीक हुँ । मलाई थाह छ कि, त्यहाँका जनमानसको प्रवृत्ति पनि पहाडको भन्दा फरक छैन ।

चुनाव जितिसकेपछि ५ वर्ष गाउँमा पाईला टेक्नै नआउने प्रवृत्ति र मेरा पार्टी र अरुको पार्टी भनेर जन विभाजनको रेखा नकोर्ने र आफ्ना आसेपासे र झोले झम्टे कार्यकर्ताहरुलाई मात्र सेवाको थुप्रो नलगाईदिने, फ्mरक मत राख्नेलाई पनि समेटेर लैजाने सच्चा नेतागण चाहिएर नै हामीले आफ्नो अमूल्य मत दिएका हौं । उता १५ वर्ष सम्म सानो कागजीे त्रुटी हुनासाथ काम नगरिदिने, झर्किफर्कि गरी हुकुमी शासन गर्ने, गृहयुद्धको कारण असुरक्षित भएको भनेर युद्ध समाप्त भईसकेको १० वर्ष सम्म पनि सदरमुकाम मै बसी कार्य संचालन गर्ने प्रवृत्ति नभएका सच्चा राष्ट्रभक्त राष्ट्रसेवक चाहिएको हो । हामी सबैले महसुस गरिसकेको छौ कि राज्यबाट हामीलाई सम्पूर्ण अधिकार प्रष्ट विनियोजित भएको कुरा । हामीमा समस्या नियमको नभई कार्यान्वयन कर्ताहरुको केवल नियतको हा हुँदा जनताको सेवा गर्छु भनि जिम्मेवारी लिएकाहरुले आफ्नो कर्तव्यलाई मम भनि छात्तीमा हात राखी कर्तव्यनिष्ठ भई काम गर्न सक्नु पर्दछ ।

नत्र एकले अर्कालाई गुथाएको पगरी “ल्याप्चे र खुरापाती” शाब्दिक वाणले हाम्रो विश्वास माथि कुठाराघात भएको भान हुन्छ र त्यसबेला हाम्रो हौसला केबल “पिसावको न्यानो” सिवाय अरु नहुन सक्छ ।

ताजा अपडेट