भद्रपुर । विद्यालय स्थापना भएको तीन दशक पुगिसकेपनि विद्यालयसम्म जाने बाटो नभएकाले विद्यार्थी र शिक्षकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्दा अनेक समस्याहरु झेल्नु परेको छ । झापाको दक्षिणी क्षेत्र कचनकवल ४ साविक केचना ६ स्थित भारतीय सीमा क्षेत्रको दशगजा नजिकै रहेको दीपेन्द्र प्राथमिक विद्यालयमा जान भारतीय भुमी हुदै विद्यालय जानु पर्ने बाध्यताले विभिन्न समस्या भोग्नु परेको हो । बिहारको कादोगाउ स्थित सुखानी ठाना अगाडि रहेको स्कुल तीन वटा गाउका बालबालिकाहरुको एक मात्र विद्यालयसम्म पुग्ने बाटो नभएका कारण विद्यालयमा पढ्न र पढाउन छिमेकी मुलुक भारतीय भुमि हुदै जानुपर्ने बाध्यता रहेको पाइएको छ । ३० बर्षदेखि हामी खेतबारीको आली र भारतीय भुमि हुदै विद्यालय आवतजावत गरिरहेको प्रधानाध्यापक श्रेसलाल राजवंशीले गुनासो गरे । खेतबारी र आलीमा हिडेर सकिदैन भने भारततिरबाट घुमेर आउन बाहेक हामी र विद्यार्थीसंग विकल्प नभएको उनले सुनाए । विद्यालयसम्म आउने बाटो आवश्यक भएपनि वरिपरी निजी जमिन भएकोले कसैले बाटो दिन नमानेको उनले बताए । एउटाले बाटो दिन मञ्जुर भएपनि अर्काले नमान्ने अवस्थाले गर्दा बाटो बिनै ३० बर्ष बितिसकेको उनको भनाइ छ । विद्यालयमा विद्यार्थीको संख्या पनि राम्रै छ । तर उक्त विद्यालयमा पिछडिएको गनगाई, राजवंशी र सन्थाल तथा मुसलमान समुदायका बालबालिकाहरु पढ्न जाने गरेको पाइएको छ । भारतीय बाटो हुदै विद्यालय आउन निकै गाह्रो हुने गरेको शिक्षिका फुलमाया राजवंशीले बताइन । सीमा सुरक्षामा खटिएका एसएसबीले सधैं सोधीखोजी गरेर हैरान बनाउने गरेको उनको भनाइ छ । आफ्नो देशमा बाटो नभएका कारण स्कुल गएको स्कुलबाट आएको भन्ने जवाफ एसएसबीलाइ दैनिक दिदै हिड्नु परेकोमा गुनासो गरिन् । उनले अरुबेला खेतबारीको आलीबाटै हिडेपनि बर्खाको बेला भारतीय बाटो हिड्नुको विकल्प नरहेको बताइन । एसएसबीले के–के सोधेर हैरान बनाउने गरेको उनले बताइन् । घेराबारा नहुदा विद्यालय असुरक्षित रहेको प्रधानाध्यापक राजवंशीले बताए । बाटो नभएकोले विद्यालयमा भौतिक निर्माणको काम गर्न नसकिएको समेत उनले बताए । भौतिक निर्माणको काम गर्दा निर्माण सामग्री ल्याउन बाटो नभएकोले विद्यालयमा आवश्यक भौतिक पुर्वाधारहरु बनाउन नसकिएको उनले बताए । एसएसबीले भारतीय बाटो हुदै निर्माण सामग्रीहरु ल्याउन नदिने गरेको उनले बताए । बाध्यतानै परे पहिला एसएसबीले अनुमति दिएपछि मात्रै भारतीय बाटो हुदै सामान ल्याउन पाइने उनले बताए । सम्पुर्ण सामान नेपालकै भएपनि बाटो नहुदा भारतीय भुमिमाथि निर्भर हुनु परेको बताए । गाँउ आसपासमा विद्यालय नभएपछि स्थानीय हरिशचन्द्र गणेश र आमलाल गणेशले ५ कठ्टा ३ धुर जमिन निःशुल्क दिएपछि २०४४ सालमा विद्यालय स्थापना भएको थियो । यस बर्ष विद्यालयमा एक सय ५१ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा तीन वटा भवन छ । स्थायी ४, राहत १, बाल विकास २ र एक जना कार्यालय सहयोगीसहित ८ जना कार्यरत छन् । विद्यालयले दशकौंदेखि बाटोको समस्या झेलिरहेपनि सरोकारवाला निकायले चासो नदिएको कार्यरत शिक्षकहरुको गुनासो छ ।