नेपाली जनताको बलिदान पुर्ण संघर्ष  एवम् जन निर्वाचित प्रतिनिधि मार्फत संविभान जारी गर्ने चाहना बमोजिम लोकतान्त्रिक गणतन्त्रको स्थापना भइ नेपालको संविधान २०७२ प्राप्‍त भएको छ। संघिय शासन व्यवस्था अनुरुप संविधानमा तिन तहको सरकारको परिकल्पना गरि विकेन्द्रिकरणको अवधारणा लागू हुने चरणमा छ।“

सिंहदरबारको सरकार तापाईको घर-घर!“भन्‍ने नारा स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा सबै राजनितिक दलहरुले आफ्नो नारा बनाएका थिए। दोश्रो चरणको स्थानीय तहको निर्वाचनले धरान उपमहानगरपालिका बासीलाई पनि १०५ स्थानीय जनप्रतिनीधिहरु निर्वाचित गराएको छ। लामो समय सम्म कर्मचारी मार्फत सेवा ग्राहीले सेवा लिंदाको अवस्था र एउटा मन्त्रालयको यूनिट मार्फत काम सम्पन्न गर्नु पर्ने व्यवस्था भन्दा विल्कुलै फरक, सरकारको हैसियतमा उपमहानगरपालिकाबाट जनताले सेवा  प्राप्‍त गर्न आतुर एवम् जनअपेक्षा समेत चुल्हिएको छ।

नेकपा एमालेका तर्फबाट उपमहानगरपालिकामा मेयर श्री तारा सुब्बा र उप मेयर श्री मन्जु भण्डारी सुबेदी निर्वाचित हुनुभएको छ। लामो समय स्थानीय पार्टी कमिटीको नेतृत्‍व  गर्नु भएका श्री तारा सुब्बा विकास प्रेमी एवम् स्पष्‍ट वक्ताको रुपमा परिचित हुनुहुन्छ। यसै गरी लामो समय विद्यार्थी राजनितिमा रहि पार्टी जिल्ला कमिटीमा रहि महिला अधिकारको क्षेत्रमा समेत योगदान गर्नु भएकी श्री मञ्‍जु भण्डारी सुवेदी स्पष्‍ट वक्ता, युवा, महिला, सिमान्तकृत र निम्न आय भएका समुदायको जीवनस्तर उकास्ने अभियान्ता, सामाजिक आर्थिक रुपान्तरण एवम् परिवर्तनको पक्षपोषण गर्ने युवा नेतृका  रुपमा आफेनो परिचय बनाउनु भएको छ।उहाँहरु जनप्रतिनीधिका रुपमा निर्वाचित हुनु भएकोमा स्थानीय जनतामा उत्साह र अपेक्षा उच्च रहेको छ।

उहाँहरु कति सफल हुनुहुनेछ त्यो भने अझै हेर्न बाँकी नै छ। पदभार ग्रहण गरेको आज केवल ६० दिन मात्रै भएको छ। यहि विन्दु मै उहाँहरुको मूल्यांकन गरी हाल्नु त्यती उपयुक्त त नहोला तर अंग्रेजीमा एउटा भनाइ छ ‘’Morning Shows The Day “भने जस्तै बिहानी कस्तो रह्यो भन्‍ने पक्षको यहाँ चर्चा गर्न खोजिएको मात्र हो।

 उपमहानगरपालिकाको अवस्थाः

 प्रदेश नं.१ को सुन्दर, सफा र पर्यटकीय क्षेत्रको रुपमा परिचित १९२.६५ वर्ग कि.मि. क्षेत्रफल रहर्को धरान उपमहानगरपालिका भौगोलिक, सांस्कृतिक विविधता युक्त शहर हो । २० वटा वडा  १३७७५० जनसंख्या ( वि.स. २०६८को जनगरणना अनुसार ) भएको यस उपमहानगरपालिकामा जनजाती,  दलित, ब्रम्हण, क्षेत्री , मुस्लिम मधेशीको बसोबास रहेको छ।

अवसरः

जनसहभागिताका आधारमा विकासको मोडलको प्रवर्तक

मनोज कुमार मेन्याङवो धरान नगरपालिकामाको मेयर निर्वाचित भए पश्‍चात शुरुवात गरिएको ‘’ पब्लिक प्राइभेट पार्टनर सिप “ अन्तरगत भएको धरानको भौतिक पूर्वाधार विकास उदहरणिय रहयो। तत्कालिन अन्य नगरपालिकाबाट पनि यसकोअध्ययनका लागि धरान भ्रमण गर्ने गरिएको थियो।आगामी दिनमा पनि धरान उपमहानगरपालिकाको समृद्धि र विकासमा यो मोडल सहयोगी बन्‍न सक्छ।

 व्यवस्थित कर प्रणालीको अभियान्ताः

एकिकृत सम्पत्ति कर लगायत कर लागू गरी आन्तरीक आयलाई दिगो बनाउन तत्कालिन धरान नगरपालिकाले अभियान संचालन गर्‍यो । यसको प्रभावकारी कार्यान्वयनमा जोड दियो। सवारी कर, सरसफाई, व्यावसाय कर आदिको कार्यान्वयन गरी आन्तरीक आय वृद्धि गर्ने अभियानमा अगाडी बढेको पाइन्छ।व्यवस्थित कर प्रणालीको थालनी भई सकेको हुँदा जनप्रतिनिधिहरुलाई र अवसर पर्याप्‍त रहेको देखिन्छ।

भर्जिन ल्‍याण्ड

बढ्दो शहरीकरणका कारण चाहिने आवश्यक पूर्वाधार विकास गर्न खुल्ला क्षेत्रहरु पर्याप्‍त मात्रामा रहेको छ। उपमहानगरपालिकामा स्तर उन्‍नती हुँदा साविकको पाँचकन्या र विष्‍णुपादुका गा.वि.स.हरु समाहित भए पश्‍चातका क्षेत्रहरु वडा नं.४,५,६ र २०“ भर्जिन ल्याण्ड “ का रुपमा छन् । यी वडाहरुको भू- उपयोग सम्बन्धि कानून एवम् नितिहरु निर्माण गरी अघि बढे सकारात्मक फड्को मार्ने अवसर प्राप्‍त हुनेछ।

शिक्षा र स्वास्थ्य केन्द्रः

मेडीकल शिक्षाको छायाँ विश्‍वविद्यालय,  खाद्य प्रविधिको केन्द्रिय क्याम्पस , इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तरगतको पूर्वाञ्‍चल इन्जिनियरिङ्ग कलेज, व्यवस्थापन, शिक्षा एवम् मानसिक तर्फ त्रि.वि.को आंगिक क्याम्पस महेन्द्र बहुमुखि क्याम्पस, नेपाल संस्कृति विश्‍वविद्यालयको आंगिक क्याम्पस पिण्डेश्‍वर विद्यापिठ, १०० भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयहरु, संस्थागत सम्बन्धन प्राप्‍त कलेजहरु, मदर्सा ,बाल विकास केन्द्रहरु एवम् प्राविधिक शिक्षालयहरुले यो शहर भरिपूर्ण रहेको छ। भौतिक पूर्वाधार युक्त गुणस्तरिय शिक्षाको थलोका रुपमा स्थापित यस शहरलाई शिक्षाको केन्द्र उन्मुख शहर बन्‍न आधारितशिला तयार छ। यसलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने अवसर निर्वाचित जनप्रतिनिधीहरुलाई प्राप्‍त छ।

नेपाल सरकारद्धारा संचालित स्वास्थ्य चौकी ३, धरान उपमहानगरपालिकाद्धारासंचालित शहरी स्वास्थ्य क्लिनिक २ मातृ शिशु स्याहार केन्द्र 9, सामुदायिक स्वास्थ्य इकाई १ सहित वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, निजी क्षेत्रमा संचालित एक अस्पताल एवम् थुप्रै संख्यामा संचालित निजि क्लिनिक धरान उपमहानगरपालिकाको सरहदमा संचालित छन्। यिनै पूर्वाधारलाई आधार मानी स्वास्थ्यको केन्द्रका रुपमा विकास गर्न सकिने अवसर रहन सक्छ।

प्राकृतिक एवम् धार्मीक तिर्थ स्थल पर्यटनका आधारः

ठूलो हिस्सा ओगटेको चार कोसे झाडी लगायतको वन क्षेत्र लगायत प्राकृतिक श्रोत र साधनले युक्त धरान उपमहानगरपालिका रहेको छ। पौराणिक महत्व बोकेको धरान-१४ विजयपुर स्थित दन्तकाली, पिण्डेश्‍वर, बुढासुब्बा, र वडा नं. २० स्थित विष्‍णुपादुका लगायत धार्मीक तिर्थ स्थलहरु रहेका छन् ।

दृश्यावलोकन र सुन्दर वातावरणका लागि उत्कृष्‍ट भेडेटार, चिण्डे डाँडा, गडी थुम्की र पदयात्रा एवम् माउण्टेन बाइक र साइकिलिङ्ग आदिको प्रचुर संभावना धरान उपमहानगरपालिकामा रहेको छ। यसै गरी साहसिक खेल पर्यटन अन्तरगत प्याराग्लाइडिङ्ग समेत संचालित रहेका छन्।

यस क्षेत्रको पर्यटनको विकासका निम्ति मानव निर्मित पर्यटकिय क्षेत्र निर्माण गर्नु पर्ने आर्थिक भारबाट मुक्त रहेको छ।विभिन्‍न जातजातीहरुको बसोबास रहेको यस शहरमा बहुजातिय संग्रालय धरान-14 मा निर्माणधिन अवस्थामा रहेको छ। यसलाई विकास गरी विभिन्‍न जात जातिको अवलोकन गर्ने केन्द्रमा रुपमा धरानलाई विकास गर्ने अवसर हुन सक्छ। यसलाई अवसरका रुपमा लिन सके पर्यटकिय शहरमा रुपमा सेमत विकास गर्न सकिन्छ।

लागनीकर्ताहरु वातावरणको पर्खाईमाः

भू.पू. सैनिक ( ब्रिटिस , सिङ्गापुर र भारत)हरु ठूलो धनरासी र सिप लिई लागनी मैत्री वातावरणको पर्खाईमा आफंनो अवकास प्राप्‍त जिवन धरानमा बिताई रहेको छन्।अन्य उद्योग व्यावसायिहरु पनि वातावरण निर्माणको पर्खाईमा रहेको छन् ।यसै गरी युरोप अमेरिका र खाडी मुलुकबाट रोजगारी र अध्ययन सकि फर्किएका धरान बासीहरुसँग रहेको पूँजि र सीप प्रयोग गर्न सके धरानको समृद्धीमा योगदान पुग्नेछ।

चुनौतिहरुः

न्यून आन्तरिक आयः

झट्टै हेर्दा धरान उपमहानगरपालिकाको आन्तरीक आय निकै बलियो देखिन्छ। वास्तविकतामा भने यसको आन्तरिक आयले यसको चालु खर्च पनि धान्‍न नसक्ने अवस्था रहेको छ। बाह्‍य अनुदान ( सरकारी )मा  आश्रित यसको आर्थिक अवस्थाबाट मुक्त हुन ठोस योजना बनाउन पर्ने देखिन्‍छ। व्यवस्थित कर प्रणालीको शुरुवात भएको भए पनि कार्यन्वयन र क्षेत्र विस्तार गरि आन्तरिक आय वृद्धि गर्न् पर्ने देखिन्छ।आन्तरिक आय वृद्धि गर्ने चुनौती निर्वाचित मेयर तथा उप मेयरमा रहेको छ।

भौतिक पूर्वाधार शुन्य प्राय वडाहरुः

धरान नगरपालिकामा समायोजन भएका क्षेत्रहरुमा रहेको भौतिक पूर्वाधारको अवस्थालाई मूल्याँकन गर्ने हो भने कहाली लाग्दो नै छ| वडा नं. ४,५,६ र २० मा बाटो ढल विद्युत खानेपानी संचार स्वास्थ्य सेवा शिक्षा आदिमा पूर्वाधार विकासका निम्ति ठूलो लागनी गर्नु पर्ने अवस्था देखिन्छ।अन्य वडाहरुमा पनिपूर्वाधार विकासमा लागनी गर्नु पर्ने नै छ।यसको कुशलता पूर्वक व्यवस्थापन गर्ने चुनौती विजेता भए पश्‍चात मेयर उपमेयर लागायतका जनप्रतिनिधीहरुमा रहेको छ।

प्राकृतिक विपद् व्यावस्थापनमा चुनौतीः

धरान उपमहानगरपालिका भित्र रहेका सेउती, सर्दु, सेरा र अन्य खहरे खोलाहरुले बर्षेनी निम्ताउने नदि किनार कटान, पहिरो आदि चुनौतिका रुपमा रहेका छन् ।यसै गरि भू-कम्पिय दृष्‍टिकोणबाट पनि धरान उपमहानगर क्षेत्र संवेदनशिल रहेको छ। यसै बर्षको बर्षात मौसममा मात्रै एक करोड भन्दा माथि प्राकृतिक विपद व्यवस्थापनमा खर्च भएको देखिन्छ।प्राकृतिक विपद व्यवस्थापनमा उपमहानगरपालिकाले ठोस योजना निमार्ण गर्न जरुरी देखिन्छ। नवनिर्वाचित जनप्रतिनिधीहरुलाई यो थप चुनौतीका रुपमा रहेको छ।

ठूला परियोजना कार्यान्वयनमा अवरोधः

धरान उपमहानगरमा आउने ठुला र विकासे आयोजना तथा परियोजना कार्यान्वयनमा बेला बेला देखिने अवरोध अबका मेयर उपमेयरलाई चुनौतीका रुपमा देखिएका छन् ।

उदाहरणका लागि सुन्दर बस्ति आयोजना, बस पार्क निर्माण, एशियाली विकास बैंकको ऋण अनुदानमा संचालित खाने पानी आयोजना, कोशी राजमार्ग चार लेन बनाउने आयोजना, धरान चतरा हुँदै हेटौडा राजमार्ग निमार्ण आदिमा देखिएका समस्या र अवरोधले धराने जनता विकास विरोधि हुन कि भन्‍ने आशंका उत्पन्‍न हुने अवस्थामा पुगेको छ।

यसरी संचालित आयोजनामा जनताको पूर्ण सहयोग नहुदा ठूलो लगानीमा संचालन हुने आयोजना / परियोजना धरानमा ल्याउन वा दाता एवम् केन्द्रिय सरकारबाट प्राप्‍त नहुन सक्ने खतरा रहेको छ। यो पनि नावनिर्विचत मेयर/ उपमेयर एवम् जनप्रतिनिधिहरुलाई चुनौती रहेको छ।

अव्यवस्थित सुकुम्बासी बसोबासः

धरान उपमहानगरपालिका भित्र खहरे,सेउती, सर्दु लागयत खोला नालाका किनारमा रहेको अव्यवस्थित सुकुम्बासी बसोबासले प्राकृतिक विपत्तिका बेला क्षति हुन पुगि ठुलो धन राशी खर्च गारउने गरेको छ।यस्ता बस्तिहरुले व्यबस्थित सुन्दर शहर बन्‍ने सपना साकार पार्न पनि अवरोधका रुपमा अगाडी रहेको छ। यस्ता बस्तिहरुको व्यबस्थापन गर्नको आजको चुनौति रहन गएको देखिन्छ।

मेयर उप मेयरका ६० दिन

स्थानीय तहको दोश्रो चरणको निर्वाचन अन्तरगत धरान उपमहानगरपालिकामा भएको २०७४ असार १४ गते निर्वाचनमा अत्याधिक बहुमत ल्याइ नेकपा एमाले तर्फबाट मेयर पदमा श्री तारा सुब्बा यसै गरि उप मेयर पदमा श्री मञ्‍जु भण्डारी सुवेदी निर्वाचित हुनु भयो। श्रावण ३ गते पद बहाली गरी उपमहानगरपालिका सम्हाल्नु भएका मेयर तथा उप मेयरबाट आजका दिन सम्म आफुले विगतमा प्रतिवद्धता जाहेर गरेका र स्थानीय आवश्यकता बमोजिम कार्यहरु थालनी भएको देखिन्छ।

.अव्यबस्थित बस्ति सम्बन्धमाः

पहिलो बोर्ड बैठकबाट धरानका विभिन्‍न वडाहरुमा रहेका अव्यबस्थित बसोबासको ठेगाना प्राणलीलाई व्यवस्थित गर्न घर नम्बरिङ्ग गर्ने र अव्यबस्थित बसोबास गरि रहेकाहरुलाई सुरक्षित आवास व्यवस्थापन कार्य र धनि पूर्जा प्राप्‍तिको लागि आवश्यक कानुनी प्रकृया अगाडी बढाउन समिति बनाई अगाडी बढ्ने निर्णय गरेको छ।

व्यव्थित बस पार्क निर्माणः

सुन्दर बस्ति जग्गा एकिकरण आयोजनाबाट धरान उपमहानगरपालिकालाई प्राप्‍त हुने गरि करिब 35 कठ्ठा जग्गामा व्यवस्थित तथा आधुनिक बस पार्क निर्माण गर्न उप मेयरको संयोजकत्वमा समिति समेत गठन गरि कार्य अगाडी बढाएको देखिन्छ।आयोजनाका सम्बन्धमा स्थानीय जनताको गुनासो उप प्रमुखको संयोकत्वमा गठित न्यायिक समितिमा छलफल भइ प्रकृया अगाडि बढेको छ।

बृहत पर्यटन विकास योजनाः

प्रदेश नं.१ पर्यटकिय केन्द्र ( टुरिजम हब )का रुपमा धरान उपमानगरपालिकालाई विकास गर्ने योजनाका साथ बृहत पर्यटन विकास योजना निर्माण गर्ने निर्णय गरि प्रकृया मेयर तथा उप मयेरले अगाडि बढाएका छन् ।

धरानको विकास गुरु योजनाः

धरान उपमहानगरपालिकाको विकास गरि शैक्षिक केन्द्र, स्वास्थ्य केन्द्र, पर्यटकिय एवम् आवसीय साँस्कृतिक शहरको रुपमा विकास गर्न

खानेपानी संस्थान नगरपालिकामा हस्तान्तरणः

एशियाली विकास बैंकको ऋण तथा अनुदानमा खानेपानी आयोजना सम्पन्‍न हुन लागि रहेको र त्यस पश्‍चात धरान उपमहानगरपालिका अन्तरगत ल्याउने तयारी अन्तिम चरणमा पुगि सम्पत्ति तथा दायित्व लिने निर्णय गरी सम्बन्धित खानेपानी तथा सरसफाई मन्त्रालय एवम् खानेपानी संस्थानसंग छलफल जारी रहेको छ। चाडै नै उपमहानगरपालिका समाहित भई जनताले सर्व सुलभ खानेपानी प्राप्‍त गर्ने आशा गरिएको छ।

मर्मत संभार कोषको स्थापनाः

 धरान उपमहानगरपालिकामा रहेका सडक तथा ढलको नियमित मर्मत सम्भार गर्न सहजताका लागि 1 करोडको मर्मत सम्भार कोषको स्थापना गरिएको छ। यसबाट शहरका धेरै सडकमा खाल्डा खुल्डीहरु मर्मत गरि जनताले राहत पाएका छन्।

आन्तरिक आय वृद्धिका लागि योजनाः

धरान उपमहानगरपालिकाको आन्तरिक आय वृद्धिका लागि करका दायरा वृद्धि गर्न चुस्त दुरुस्त कर प्रणाली कार्यन्वयनको योजना बनाई लागु गर्न राजश्‍व परामर्श समितिमा उप प्रमुखको नेतृत्वमा विभिन्‍न सरोकारवाला पक्षसँग छलफल गरिएको छ।यसै गरि नगर प्रमुखको नेतृत्वमा रहेको श्रोत पहिचान समितिले आयका नयाँ श्रोतहरुको पहिचान गरी कार्यान्वयन गर्ने योजना बनाएको छ।

जनसरोकारका विषयमा चासो

  • कोशी राजमार्गमा पर्ने धरान उपमहानगरपालिकामावडा नं. ८ वरगाछी देखि माथिको सडकमा भएको खाल्डा खुल्डी पुरी कालोपत्रे गर्न पदबहाली गर्नु अघिल्लो दिन नै नगर प्रमुखले डिभिजन सडक कार्यालय विराटनगर गई चासो व्यक्त गरेका थिए। तत्काल कालोपत्रे गर्न बर्षाका कारणले सम्धव नभएको हुँदा केहि दिन अगाडी मात्रै कालोपत्रे गर्न सुरुवात भएको छ।
  • उपमेयर मञ्‍जु भण्डारी सुवेदीको संयोजकत्वमा चाडवाडका बेलामा हुन सक्ने कालोबजारी गुणस्तरहिन सामान विक्री, ठगी सम्बन्धमा बजार अनुगमन तथा निरिक्षण समिति गठन गरिएको छ।
  • यसै गरि वडा नं.-२र३मा निर्माण हुँदै गरेको ढलको गुणस्तरियता निरिक्षण गरि शहरि विकासका इन्जिनियर, उपमहानगर पालिकाका वरिष्ठइन्जिनियर एवम् जन प्रतिनिधीको टोलीले छानबिन गरी मापदण्ड अनुरुप निर्माण नभएको ठहर गरी पुनः ढलान गर्ने र स्लाब मापदण्ड अनुसार बनाउने निर्देशन दियो।
  • वडा नं.६ का जंगली हात्तिको आतकंबाट प्रभावित जनतालाई राहत स्वरुप नगर प्रमुख तारा सुब्बाले राहत/ सहयोग वितरण गर्नु भएको छ।

आफ्नो कार्यभार सम्हालेको ६० दिन भित्र धेरै महत्वपूर्ण कार्यहरु भएका छन्। तथापी निति कार्यक्रम तथा बजेट भने आउन सकेको छैन। नगर प्रमुख श्री तारा सुब्बाले विभिन्‍न समयमा प्रतिबद्धता जनाए बमोजिम धरान उपमहानगरपालिकालाई साइकल सिटि , शोध तथा अनुसन्धानको शहर, खेल पर्यटनको शहर, साँस्कृतक शहर सहितको शु संस्कृत एवम् समृद्ध शहरका रुपमा विकास गर्ने आफ्नो सोचलाई पूर्णता दिन सम्भव हुनेछ।

चाडै नै निति, कार्यक्रम तथा बजेट निर्माण गरि कार्यान्वयनमा लाग्दा उत्साह र केहि गर्ने सोच एवम् विकासे सपनालाई साकार पार्न अवश्य पनि जनप्रतिनिधिहरु सक्षम हुनुहुनेछ।राजनितिक उपलब्धिका आन्दोलन समाप्‍त भई अधिक आर्थिक समृद्धीको यात्रा तयार गर्ने चरणमा हामी छौं।

लामो समयको अन्तरालमा जनप्रतिनिधिहरु निर्वाचित हुनु भएको हुँदा विभिन्‍न संघ/ संस्थाहरुका वाह्‍य कार्यक्रममा जनप्रतिनिधि ज्यूहरुलाई नियन्त्रण गरिदाँ नगरमा ठोस योजना नियमार्णमा प्रर्याप्‍त समय दिन नसकिरहेको हो कि भन्‍ने जनताको तहबाट अनुभुती भइ रहेको छ।तसर्थ यस विषयमा कार्यक्रम आयोजक संघ/संस्थाहरुले धरानको विकास निर्मणमा जनप्रतिनिधि ज्यूहरुलाई योगदान गर्ने वातावरण बनाउन सहयोग गर्नु पर्ने आजको आवश्यकता हो।