धरान/मध्य मेक्सिकोमा आएको भीषण भूकम्पले ठूलो विनाश गरेको छ । अहिलेसम्ममा राजधानी मेक्सिको सिटी र आसपासका राज्यहरूमा १२० भन्दा बढी व्यक्तिहरूको मृत्यु भैसकेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार भूकम्पको तीव्रता ७.१ रेक्टर मापन गरिएको छ । मारेलस राज्यका गभर्नरले दर्जनौं व्यक्तिहरू मारिएको बताएका छन् । छिमेकी राज्य प्वेबलामा पनि थुप्रै व्यक्तिहरूको मृत्यु भएको समाचारमा बताइएको छ ।
यो भूकम्पबाट राजधानी मेक्सिको सिटीमा ठूलो त्रासको वातावरण छाएको छ । मेक्सिको सिटीका मेयर अनखेल मानसेराले यस भूकम्पबाट सहरका कम्तीमा २० वटा भवनलाई क्षति पुगेको बताएका छन् । मेयरका अनुसार भूकम्पका कारण केही भवनमा आगो लागेको छ र त्यसमा कतिपय व्यक्तिहरू फसेका छन् ।
भूकम्पको समयमा कसरी बच्ने भन्ने बारेमा जानकारी गराइरहेका बेला त्यहाँ ठूलो भूकम्प गएको बताइएको छ ।
मेक्सिको सिटीको विमानस्थल पनि केही बेर रोकिएको थियो । अमेरिकी जियोलोजिक सर्वेअनुसार ५१ किमी तलबाट भूकम्प गएको थियो ।
स्थानीय समयअनुसार १ बजेर १४ मिनेट जाँदा भूकम्प गएको थियो ।एजेन्सीबाट