ताप्लेजुङ/जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जिल्लाका दुईवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने भएको छ ।

सरकारको ‘एक निर्वाचन क्षेत्र, एक नमूना विद्यालय’ बनाउने अवधारणा अन्तर्गत गत आर्थिक वर्षबाट दुई वटा विद्यालयलाई नमुना विद्यालय बनाउने अभियान सुरु गरीएको जिल्ला शिक्षा अधिकारी चैतन्य प्रसाद निरौलाले जानकारी दिए ।

विद्यालयको अवस्था र सम्भावनालाई अध्ययन गरेर शिरिजंघा गाउँपालीकामा रहेको सिनाम माध्यमिक विद्यालय र आठराई त्रिवेणि गाउँपालीकाको सरस्वति माध्यमिक विद्यालय हाङ्पाङलाई नमुना विद्यालय बनाउने अभियान सुरु गरिएको जिशिअ निरौलाको भनाई छ ।

ती विद्यालयलाई सरकारले गत आर्थिक वर्षमा नै नमुना विद्यालयका लागि पूर्वाधार निर्माणको काम अघि बढाउन २८ लाख ५४ हजारका दरले अनुदान समेत दिइसकेको छ । विद्यालयलाई नमुना बनाउनका लागि गुरुयोजना तयार गरेर काम अघि बढाउने काम भईरहेको जिल्ला शिक्षा कार्यालयले बताएको छ ।

ताप्लेजुङलाई पाँच वर्षभित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने जिल्ला बनाउने अभियानमा पनि यसले थप टेवा पुग्ने जिशिअ निरौलाको भनाई छ । अभियानको पहिलो चरणमा नमुना विद्यालयको सुरुवात भएको उहाँले बताउनुभयो । नमुना विद्यालय निर्माणका लागि सम्बन्धित विद्यालयका शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितीले प्रतिबद्धता जनाएपछिमात्र लगानि गरीएको बताईएको छ ।

नमुना विद्यालयमा शिक्षकले विद्यालय समय भरी अनिवार्य पठन पाठन गर्नु पर्ने, विद्यालय व्यवस्थापन समितीले अध्यापनको लागि उपयुक्त वातावरण निर्माण गर्नु पर्ने र अभिभावकले विद्यार्थीलाई अनिवार्य खाजा दिएर पठाउनु पर्ने प्रावधान पनि तोकिएको छ ।