ताप्लेजुङ/ताप्लेजुङमा अवस्थित नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्ने दर्शनार्थीको चाप ह्वातै बढेको छ । हिन्दुहरुको महान् चाड दशैंको नवरात्र सुरु भएसँगै चाप बढेको हो । पाथीभरा देवीको दर्शन गर्नका लागि मुख्य सिजन दशैं तिहारको महिना असोज र कात्तिक साथै चैते दशैं (रामनवमी) को सिजन चैत र बैशाख महिनालाई मानिन्छ । सोही अनुसार अहिले हिन्दुहरुको महान् चाडपर्व दशैं तिहारसँगै सिजन शुुरु भएपछि तीर्थयात्रीहरुको चाप बढ्दै गएको हो । पाथीभरा देवीको दर्शन गर्न यतिबेला नेपालको राजधानी काठमाडौंबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आइरहेको पाथिभरा देवि मन्दिर क्षेत्र संरक्षण तथा संबर्धन समितिले जनाएको छ । समितिका कार्यवाहक अध्यक्ष रणबहादुर कार्किका अनुसार ताप्लेजुङ बाहेक पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायत विभिन्न जिल्लाबाट दर्शनार्थीहरु आइरहेका छन् । सबैभन्दा बढी झापा र मोरङ जिल्लाबाट दर्शनार्थी आएको फेदीबजार अस्थायी प्रहरी चौकीले जनाएको छ । त्यस्तै नेपाल बाहिरका भारतको आसाम, दार्जिलिङ, सिक्किम, मनिपुर लगायतका ठाउँबाट दर्शनार्थीहरु आउने क्रम बढेको छ । यता पाथीभरामा दर्शनार्थीको भीड बढेपछि मन्दिर नजिकको फेदीबजार, तल्लोफेदी, काफ्लेपाटी, भालुगौंडे, सेवारो लगायतका चोक तथा बजारका होटलहरु खचाखच भएको फेदीबजारका होटल व्यवसायी इन्दनारायण भट्टराईले बताए । यस्तै सदरमुकाम फुङ्लिङ र सुकेटार बजारमा समेत दर्शनार्थीहरुको निक्कै चहलपहल बढेको छ । पाथीभरा भित्रने तीर्थयात्रीका सदरमुकाम–सुकेटार–देउराली हुँदै पाथीभराक्षेत्रको सेवारो चौकसम्म यातायातका साधनहरु चल्ने भएकाले दर्शनार्थीलाई आवात जावतमा समेत सहज भएको छ । यो सिजनमा पाथीभराको दर्शन गरे सोचे चिताएको मनोकाङ्क्क्षा पूरा हुने जन विश्वास रहिआएको छ ।