दाेहा/पोखराका बुद्ध लामा नेपाल आइडल भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा लामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै नेपाल आइडल घोषित भएका हुन् ।

मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप भए । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिएको हो ।उपाधिसँगै लामाले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० गाडी र १५ लाख बराबरको भिडियो एल्बम कन्ट्रयाक्ट पाएका छन् । निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाए ।

९ करोड ३१ लाख मत आएको आयोजकले जनाएको छ ।  अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामा  टुरिजम् हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थी हुन् ।