धरान/प्रहरीले सर्वसाधरणलाई गर्ने व्यवहारमा व्यापक गुनासो आएपछि करिब चार वर्षअघि नेपाल प्रहरीले ‘मुस्कानसहितको प्रहरी सेवा’ अभियान सुरु गर्‍यो । तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सुधार्न अभियान सुरु गरेका थिए । जनतालाई मुस्कानसहित मीठो बोलेर सेवा दिने उद्देश्यले अभियान सुरु गरिएको थियो । तर, अभियान चलिरहेकै वेला प्रहरीको व्यवहार झन् आलोचित भयो । एक वर्षमै अभियान असफल भयो । अभियान असफल भए पनि व्यंग्य गर्दै ‘मुस्कानसहितको प्रहरी सेवा’ भनिन थालियो ।

त्यसको २ वर्षपछि प्रहरीमा ‘प्रहरी मेरो साथी’ नामक अर्काे अभियान सुरु भयो । प्रहरीको व्यवहार सुधार्न र प्रहरीप्रति जनताको नकारात्मक सोचाइ हटाउन यो अभियान सुरु गरिएको थियो । सबै जनतालाई प्रहरीको साथी बनाएर नागरिक र प्रहरीको सम्बन्ध प्रगाढ बनाउन खोजिएको थियो । तर, असलभन्दा खराब मान्छे मात्र प्रहरीका साथी भए । सर्वसाधरणस“गको प्रहरीको सम्बन्ध अपेक्षाकृत सुध्रन सकेन । यही क्रममा शुक्रबारदेखि नेपाल प्रहरीमा देशव्यापारी रूपमा अर्काे अभियान सुरु भएको छ ‘प्रहरी हाम्रो टोलमा’ । यसपटक गृहमन्त्रालयकै अग्रसरतामा प्रहरी र जनताबीच सम्बन्ध सुधारका लागि नयाँ अभियान सुरु गरिएको छ । तर, यो अभियानले पनि प्रहरीको व्यवहारमा ठूलो परिवर्तन ल्याउनेमा प्रहरी अधिकारी नै आशावादी छैनन् ।नयाँ पत्रिकामा खबर छ किन सुध्रिएन व्यवहार ? प्रहरीले सर्वसाधरणलाई गर्ने व्यवहार अझै पनि रुखो छ । सडकदेखि प्रहरी कार्यालयसम्म सर्वसाधरणले प्रहरीबाट दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार सहनु परेको गुनासो हुने गरेको छ । २ वर्षअघि प्रहरी आफैँले गरेको सर्वेक्षणमा पनि प्रहरीको व्यवहार औसत भएको सर्वसाधरणले बताएका थिए । त्यसपछि प्रहरीले आफ्नै संगठनभित्र पनि सर्वेक्षण गर्‍यो । जसमा तल्लो तहका प्रहरीले आफूहरूमाथि गर्ने व्यवहारप्रति असन्तुष्टि जनाएका थिए । अधिकृत तहका प्रहरीले सिपाही र हवल्दारलाई तँ भनेर बोलाउने गरेकामा उनीहरूले असन्तुष्टि जनाएका थिए । जुन अहिले पनि कायम नै छ । ‘हाकिमले आफ्नै कर्मचारीलाई तुच्छ व्यवहार गर्छन्,’ एक प्रहरी अधिकारी भन्छन्,‘अनि त्यही प्रहरीबाट जनतासँग राम्रो व्यवहार गर्छ भनेरचाहिँ कसरी अपेक्षा गर्न सकिन्छ ।’ पूर्वप्रहरी महानिरीक्षक अर्याल प्रहरीको व्यवहार अपेक्षाकृत सुधार नहुनुमा दुईवटा कारण रहेको बताउँछन् । ‘व्यवहार परिवर्तन भनेको रातारात हुने सुधार होइन,’ उनी भन्छन्, ‘प्रहरी पनि समाजकै बिम्ब हो । प्रहरी एक्लै सुध्रन गाह्रो हुन्छ ।’