धरान/लागूऔषध प्रयोगकर्तादेखि डिलरसम्मको काम गर्दै आएका एक युवा शनिबार मृत अवस्थामा भेटिएका छन् । धरान–९ स्थित खहरे पुल मुनी अपरान्ह करिव ३ बजेतिर स्थानीयहरुले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यो बेला उनको पहिचान खुलेको थिएन । उनलाई इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान लगेको थियो । इप्रका धरानका डिएसपी रामेश्वर पौडेलका अनुसार शनिबार अवेर मात्रै उनको पहिचान खुलेको थियो । उनको नाम केदार परियार रहेको छ । उनी करिव ३५ वर्षका झै देखिन्छन् । यस अघि उनी लागूऔषध प्रयोगकर्ता, डिलर, कारोबारीको रुपमा कार्यरत थिए । उनलाई धरान प्रहरीले पटक पटक पक्राउ गरी अदालतबाट धरौटीमा छुट्दै आएको डिएसपी पौडेलले बताए । उनी झापा स्थायी घर भए पनि हाल धरानमा बस्दै आएका थिए । यस्तै उदयपुरको बेलका नगरपालीका–४ गुरुङचौरी बस्ने ८० बर्षिय आत्मामाया माझी समेत शनिबार मृत अवस्थामा भेटिएकी छिन् । घटनाबारे अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।