दशैंमा एक पटक पिङ खेलेर भुई छाड्नु पर्ने प्रचलन भए पनि केही वर्ष यता दशैंमा मुल्य आकर्षणको पिङ देख्न तेह्रथुममा मुश्किल हुन थालेको छ ।

पहिले पहिले प्रत्येक गाउँ गाउँमा पाँच देखि दस वटा सम्म पिङ हाल्ने चलन रहेको थियो । तर ति गाउँमा एउटा पिङ पनि देख्न मुश्किल भैसकेको छथर गाउँपालिकाका स्थानीयवासी दिवा खुलाल बताउछिन ।

पिङ खेल्ने समयको सररर चचहुईको आवाज सगैको मज्जा समेत युवा पुस्ताले भुल्ले अवस्था भएको छ । अहिलेको युगमा मनोरञ्जनका बैकल्पिक साधनहरुको विकास हुदै जानु, पिङ हाल्ने काम झण्झटिलो र धेरै दुख गर्नु पर्ने हुदाँ अहिलेका युवा पुस्ताले पिङ प्रति रुचि देखाउन छाडेका कारणले गर्दा लोप हुने अवस्थामा पुगेको बुढापाकाहरु बताउछन ।

परम्परागतरुपमा धानको खर वा भिरमा पाईने बाबियोको धासबाट बनाईने लठारो बाट्ने सीप नहुनु र यसको लागि आवश्यक पर्ने बाबियो घाँस समेत गाउँ घरमा पाईन छाडेको छ ।

दशैंको बेलामा हालिने मौलिक पिङ देख्न पनि मुश्किल पर्नुको साथै पिङ हाल्नका लागि धेरै मिहिनेत पर्ने हुदाँ यो विस्तारै लोप हुने अवस्थामा पुगेको म्याङलुङ्ग नगरपालिका पिप्ले निवासी ८६ वर्षिया विष्णमाया गुरागाँई बताउछिन ।

पहिले जस्तो धेरै ठाउँम पिङ नहाले पनि जिल्लामा ईन्द्र दल गुल्म र ससस्त्र प्रहरीले उनिहरुकै रेखदेखमा प्रत्येक साल आफ्नो गुल्म नजिकै पिङ हाल्ने गरेका छन् ।

सुरक्षा निकायले हालेको पिङ खेल्नेहरुको भिड लागेका कारण युवा पुस्ताहरुमा पिङ खेल्ने रहर भए पनि पिङ हाल्ने सिपको भने अभाव रहेको पाईन्छ । संस्कृति जोगाउनैका लागि भए पनि आफुहरुले पिङ हालेको र यसलाई बर्षेनी निरन्तरता दिने ईन्द्रदल गुल्मका गुल्मपति महेश्वर कार्की बताउछन् ।

दशैमा पिङको महत्व ठुलो छ । केहि वर्ष अगाडी सम्म टोल टोलमा बाँसको लिङ्गो गाडेर पिङ हाल्ने चलन रहेपनि अहिले जिल्लामा एउटा पिङ देख्न मुश्किल भईसकेको छ । प्राकृतिक रुपमा पाईने घाँसबाट बनाईने पिङको ठाउँ कही कही कृतिम पिङले लिन थालेको बताईन्छ ।

केही वर्ष अघि सम्म रातघर जाग्राम बसेर दोहोरी गीत गाउदै पिङ खेल्ने गरेको बुढापाकाहरु सम्झन्छन । अहिले आएर ईमेल ईन्टरनेट र फेसबुकमा नै युवा पिडि झुम्ने गरेकोले पाईएको छ ।

दशैको टिकाको दिन जसरी भए पनि एक दिन पिङ चढेर धर्ती छाड्नु पर्ने मान्यता रहे पनि अहिलेका युवाहरुले पिङ खेलेर भन्दा जुवा तास, मदिरा सेवन गरेर दशै मनाउन थालेकोमा बुढापाकाहरु चिन्तित भएका छन ।

आठराई गाउँपालिका खाम्लालुङ्ग गाविस निवासी देवीप्रसाद दाहाल टोल टोलमा पिङको सट्टामा तासको खाल मात्र देख्न पाईने गरेको बताउछन ।

बाँस काटेर लिङ्गो बनाउने, गाड्ने, खरालो हाल्ने र पिङ बाट्ने काम झण्झटिलो हुनुका साथै एक दुई जनाको प्रयासले मात्र नहुने र गाउँ घरका युवा रोजगारका लागि विदेश गएका कारण पनि गाउँ घरमा पिङ देख्न थाडिएको छ ।