काठमाडौं / डा गोविन्द केसीको माग र माथेमा प्रतिवेदन विपरित चिकित्सा शिक्षा विधेयक आजै पारित गर्ने तयारी भएको छ। संसदको आजको कार्यसुचिमा विधेयक पारित गरियोस भन्ने राखिएको छ ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गराउने तयारी भएको थाहा पाएलगत्तै डा केसीले आजबाट अनशन सुरु गरेका छन्। जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएको भन्दै डा केसीले मध्यान्नदेखि १२ औं अनशन सुरु गरेका हुन्। उनको अनशनको प्रमुख मागमा ‘माथेमा प्रतिवेदन र हाम्रा सुझाबअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा विधेयक पारित गरियोस्’ भन्ने छ।

संसदको महिला बालबालिका तथा समाजकल्याण समितिले आफु अनुकल विधेयकको प्रतिवेदन तयार गरी संसदमा प्रस्तुत गरेको छ। सो विधेयक पारित भए काठमाडौं उपत्यकामा थप ५ मेडिकल कलेजले तत्काल सम्बन्धन पाउने बाटो खुल्नेछ। सो विधेयकले देशभर जति पनि मेडिकल कलेज खोल्न अनुमति दिएको छ। विधेयक पारित भए नेपालको चिकित्सा शिक्षा माफियाको कन्ट्रोलमा पुग्ने विज्ञहरु बताउछन्।

संसदको आज सार्वजनिक कार्यसुचि अनुसार शिक्षा मन्त्री गोपालमान श्रेष्ठले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४’ पारित गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन्। शिक्षा मन्त्रीले पेस गरेको प्रस्तावका विषयमा सांसदहरुले आफ्नो धारणा राख्नेछन्। सांसदहरुले धारणा राखिसकेपछि विधेयक पारित गर्ने र नगर्ने विषयमा मत विभाजन हुन्छ। यो प्रक्रियामा संसदका एक चौथाई सांसद अर्थात एक सय ४८ जनाले सहमती जनाएमा विधेयक पारित हुनेछ। पारित भएको विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि राजपत्रमा प्रकाशित हुनेछ र ऐन लागू हुनेछ।

स्वास्थ्यखबर