तेह्रथुम/पूर्वी पहाडको विकट जिल्ला तेह्रथुम अनि त्यहाँका पनि विकट गाउँपालिकाका बासिन्दाहरुले अहिले गाउँमा आफ्नो मेहनतले जीवन हराभरा बनाउन थालेका छन् । यसको रहस्य हो– अलैंची खेती गर्न उनिहरुले देखाएको जाँगर । ‘मेहनत गरे डाँडापाखामै सुन फलाउन सकिन्छ’ भन्ने उक्तिलाई उनिहरुले साँचो सावित गरिदिएका छन् । भिरालो जग्गामा मेहनत गरेर अलैंंची खेती गर्न थालेपछि तेह्रथुमको साविकका गाविस सोल्मा, सुङनाम, आम्वुङ्ग, मोराहाङ्ग, श्रीजुङ्ग, पौठाक, सम्दु र ईसिवुका कृषकको जीवनस्तरमै कायापलट आएको छ ।

सोल्मा निवासी निम्नवर्गीय दुर्गा प्रसाद पोख्रेलले आफ्नै मेहनतबाट गरेको कमाइले मोरङको बेलबारी बजारमा रु. ४८ लाख रुपैयाको घर किनेका छन् । दुई छोराछोरी विवाह गरिदिएका छन । करिब ४० रोपनी जग्गामा लगाएको अलैंची खेतीबाट सरदर रु. ५ लाख देखि ८ लाख सम्म वार्षिक आम्दानी गरेका छन । आफ्नै मेहनतले भएको प्रगति देखेर दङ्ग परेका पोख्रेल भन्छन, ‘पहिले यही जग्गामा अरू बाली लगाउँदा खान र लगाउनै पुग्दैनथ्यो, अहिले सम्पूर्ण आम्दानीको स्रोत यही हो ।’ अरू बाली लगाउन छोडेर अलैंची खेती सुरु गर्न उनले लिएको जोखिम कार्य आखिरमा सफल सावित भएर छाडेको छ । अलैंची खेतीका लागि लगानी र श्रम धेरै नचाहिने, अन्नबालीको तुलनामा तेब्बर बढी आम्दानी पनि हुने भएपछि यहाँका धेरै किसानले अन्नबाली छोडेर अलैंची खेती गर्न थालेका छन् । अलैंची खेती गरेपछि भएको फाइदाले लालिगुराँस नगरपालिकाका सोल्मा, सुङ्गनाम र फुलेकका धेरै किसानले सदरमुकाम म्याङलुङ्ग र वाहिरी जिल्ला मोरङ, सुनसरी र झापाका बजारमा घर/घडेरी किनेका छन् । त्यस क्षेत्रका केही कृषकहरुले अहिले चिया खेती पनि सुरु गरेका छन् । छोराछोरी विद्यालय नपठाउने अभिभावकले अहिले छोराछोरीलाई बोर्डिङ भर्ना गरेका छन् ।

मेन्छ्यायेम गाउँपालिका मोराहाङ्ग निवासी पणनाथ गुरागाई भन्छन्, ‘खेत मासेर अलैंची खेतीमा नलागेको भए गुजाराका लागि अहिले ज्याला–मजदुरीको काम खोज्नुपथ्र्यो ।’ १० वर्ष अघि २ हजार लगानी गरेर १० रोपनी जग्गाबाट सुरु गरेको खेती अहिले उनले ३० रोपनीमा पुर्याएको गुरागाई बताउछन । वार्षिक तीन देखिी चार लाख हाराहारीको आम्दानी यसबाट हुँदै आएको उनी बताउछन् । परम्परागत खेती–प्रणालीबाट गुजारा नचलेपछि तेह्रथुम साविकका सोल्मा, सुङनाम, आम्वुङ्ग, मोराहाङ, श्रीजुङ्ग, पौठाक, सम्दु, ईसिव गाविसका किसानले डेढ दशक अघिदेखिको अन्नबाली छाडेर अलैंची खेती सुरु गरेका हुन् । यो क्षेत्र अहिले तेह्रथुमकै सबैभन्दा बढी अलैंची उत्पादन हुनेमा पर्दछ । अन्नबाली लगाउँदा प्रतिरोपनी एक मुरी अन्न उत्पादन हुने यो ठाउँमा अलैंचीबाट वार्षिक रु. २० हजारदेखि ३० हजारसम्म आम्दानी हुने गरेको छ । स्थानीय किसान भन्छन्, ‘अलैंची जति पुरानो भए पनि सड्दैन, गल्दैन । त्यसैले फाल्नुपर्ने समस्या आउँदैन । जति उत्पादन गरे पनि खेर जाँदैन । त्यसैले पनि धेरै किसान अलैंची खेतीतर्फ तानिएका हुन् ।’

नेपाल अलैंची निर्यात गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो । सुगन्धित तेल, औषधी, मसला लगायतका सामान उत्पादनका लागि अलैंची भारतीय बजार हुँदै खाडी मुलुक पुर्याउने गरिएको छ । जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरे खाडी मुलुकमा पुगेको अलैंची सुगन्धित तेल, आयुर्वेदिक औषधी र मसलाको रूपमा प्रयोग हुने गरेको बताउछन । जिल्ला कृषि विकास कार्यालयका अनुसार अलैंची खेती तेह्रथुमको आम्दानीकै पहिलो स्रोत बनेको छ । यहाँका सोल्मा, सुङ्गनाम, आम्वुङ्ग, मोराहाङ्ग, श्रीजुङ्ग ओयाक्जुङ्ग लगायतका गाविसमा तीन हजार तीन सय हेक्टर जग्गामा अलैंची खेती गरिएको छ । यसबाट वार्षिक एक अर्ब ५० करोड रुपैयाँको कारोबार हुने गरेको छ ।  तेह्रथुमको अलैँची खेतीले देशकै आर्थिक विकासमा योगदान पुर्याएको छ । तर, अझै पनि यहाँ आधुनिक तरिकाले खेती गरिएको छैन । अर्थात् उन्नत खेती–प्रणाली अपनाइएको छैन । रोपेको तेश्रो वर्षदेखि फल्न थाल्ने अलैँची खेतीमा अलिकति मात्रै स्याहार पुर्याएमा लामो समयसम्म यसबाट उत्पादन लिन सकिन्छ । पछिल्लो समय नर्सरीमा बिउ राखेर पनि खेती गर्न थालिएको छ । तर, यो प्रविधिबाट रोपेको अलैंची पाँच वर्षपछि मात्रै फल्छ ।

तेह्रथुम धनकुटा, संखुवासभा, भोजपुर, पाँचथर, ईलाम लगायत अरु धेरै जिल्लामा अलैंची खेती विस्तार हुँदै गए पनि कहीँकतै प्रशोधन गर्ने, आयुर्वेदिक औषधी र सुगन्धित तेल बनाउने कुनै कारखाना छैन । सरकारले त्यसका लागि अहिलेसम्म सोचेको देखिँदैन । उत्पादित अलैंची कच्चा पदार्थका रूपमा सिधै भारत पठाउनुपर्ने बाध्यता छ । भारतमा प्रशोधन भएपछि त्यसमा भारतकै ‘लेभल’ लगाएर विदेश पठाइन्छ । यसले गर्दा नेपाली अलैंचीको आर्थिक तथा टे«डमार्क फाइदा भारतले लिने गरेको छ । नेपालमा चेप्टो आकारको रामसाई, गोलो गोलसाई र सानोे चिबेसाई प्रजातिका अलैँचीको बढ्ता खेती गरिन्छ । नेपालमा वार्षिक ५ देखि ७ हजार मेट्रिक टन अलैंची उत्पादन हुने र जसबाट ५ अरव भन्दा बढी रुपैया भित्रिने नेपाल अलैची ब्यवसायी महासंघ केन्द्रिय कार्यालय विर्तामोटका अध्यक्ष निर्मल भट्टराईले बताए । उत्पादन भएको अलैची सवै विदेशमा निर्यात गरिन्छ ।

२०२२ सालदेखि सुरु भएको अलैंची खेती क्रमशः व्यावसायिक बन्दै गए पनि उन्नत तरिकाले खेती गर्ने परम्परा भने अझै सुरु भएको छैन । उद्योग वाणिज्य सङ्घ तेह्रथुमका पूर्व अध्यक्ष शभा पौडेल जिल्लाका किसानमा अलैंची खेतीबारे सामान्य प्राविधिक ज्ञानसमेत नभएको बताए । खेती–प्रणालीमा लाग्ने रोगबारे पनि उनीहरू बेखबर छन् । किसानले अनुभवका आधारमा अलैंचीमा लाग्ने रोग पत्ता लगाउने गरेका छन् । दुई वर्षअघिदेखि अलैंचीमा डढुवा रोग देखिन थाले पनि रोकथामको पहल नहुनु त्यसकै प्रमाण हो । कृषि विकास कार्यालयले अलैची सम्वन्धि उचित परामर्श, रोगथामका उपाय र अलैचीमा आधुनिकिकरणका लागि पहल गर्ने हो भने तेह्रथुम लागायत धेरै जिल्लाका किसानहरुले आफ्नो जिवन स्तर हराभरा बनाउनेमा दुईमत नहोला ।