वासिङ्टन/ थाई प्रधानमन्त्री प्रच्युत चान ओचाले अमेरिकाको औपचारिक भ्रमण गर्ने भएको समाचार छ ।

थाई सैनिक सरकारका प्रमुख ओचा आगामी अक्टोबर ३ मा अमेरिका पुग्ने कार्यक्रम रहेको बताइएको छ । सो भ्रमणबारे अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आज जानकारी गराएको छ ।

उनले सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि ह्वाइट हाउसद्वारा दिइएको समाचारमा जनाइएको छ ।

थाई सैनिक सरकारका प्रमुखले पछिल्लो पटकको थाइल्याण्डमा भएको सैनिक ‘कू’ पछि अमेरिकाको भ्रमण गरेको यो पहिलो अवसर भएको पनि समाचारमा जनाइएको छ ।

तीन बर्षअघि सन् २०१४ मा ओचा थाइल्याण्डको सेनाको कू पछि सत्तामा आएको हो । त्यस समय भने अमेरिकाले उनको कदमको विरोध गरेको थियो ।

त्यस समयका थाइल्याण्डका निर्वाचित प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई अपदस्थ गरी सरकार कब्जा गरेको थाई सरकारको कदमको अमेरिकाले विरोध गरेको थियो । त्यस कदमको प्राय विश्वका कैयौँ देशले विरोध गरेका थिए ।

तर आगामी अक्टोबर ३ मा अमेरिकी राष्ट्रपति ट्रम्पले नै राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा उनलाई स्वागत गर्ने कार्यक्रम रहेकोले अमेरिकाले थाइल्याण्डसँगको सम्बन्धमा सुधार ल्याउन चाहेको रुपमा लिइएको छ ।

यही सम्बन्ध सुधारका लागि थाई प्रधानमन्त्री ओचा पनि अमेरिकाको भ्रमणमा जान लागेकाे थाई सरकारले जनाएको छ ।

थाइल्याण्डमा अहिले पनि सैनिक कानुन छ । त्यहाँ विरोध प्रदर्शनहरु प्रतिबन्धित छन् भने राजनीतिक दलका कैयौँ नेतालाई जेल हालिएको छ ।

थाई सैनिक सरकारका प्रमुख ओचालाई अमेरिकी राष्ट्रपति ट्रम्पले गत अप्रिल महिनामा फोनबाटै आमन्त्रण गर्नुभएको समाचार आएको थियो ।

यस भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्धमा सुदृढिकरणका साथै द्विपक्षीय सहयोग र साझेदारीका विविध आयामका बारेमा पनि कुराकानी हुने ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।