धरान/धरान–१३ स्वस्तिका गौराटोलकी ४८ वर्षीया जयकुमारी लिम्बू १२ वर्ष अघिसम्म घरायसी काममै समय ब्यतित गर्थिन् । बिहान खाजा, खाना, साँझमा खाना यस्तै घरायसी काममा उनको दैनिकी बित्थ्यो । तर, १२ वर्षअघिदेखि पकेट खर्चको लागि थालेको कुखुरा पालनले उनलाई व्यवसायिक बनाएको छ । २०६३ सालमा २० हजार रुपैया खर्चेर एकसय कुखुराबाट पाल्न थालेकी थिइन् । त्यही कुखुराले अहिले उनलाई दैनिकी गुर्जान मात्रै हैन, आम्दानीको भरपर्दो स्रोतसमेत बनेको छ । ‘पैसा आउने बाटो नै यही हो । स्रोत नै यही बनेको छ ।’ उनले भनिन् । घरायसी काम सकेपछि बचेको समय त्यसै खेर जान्थ्यो । तर, अहिले घरायसी कामपछिको समय कुखुराको स्याहारसुसारमा बिताउने गरेकी छन् । उनी हरेक आमाहरुलाई केही न केही काम गर्न सुझाउ दिने भएकी छन् । भन्छिन्, ‘त्यतिकै बस्नु भन्दा केही हुन्छ । दुईपैसा आम्दानी हुन्छ ।’ एकसय कुखुराबाट सुरु गरेकी उनले अहिले १ हजारसम्म कुखुरा पाल्ने गरेकी छन् । अहिले पनि दशैंका लागि उनको खोरमा ४ सय कुखुरा छन् । उनको दुईवटा खोरहरु छन् । अहिले एउटा खोर खाली छ । दशैं लगत्तै उनी त्यसमा फेरि नयाँ चल्लाहरु हाल्ने सोचमा छिन् । कुखुरा पाल्न सुरु गर्दा टोलभरीमा उनको मात्रै कुखुरा हुन्थ्यो । उनले गरेको देखेर अहिले टोल भरी नै कुखुरा पाल्नेहरुको लहड चलेको छ । उनको सिको गरेर गर्नेहरुप्रति खुसी छिन् । ‘सुरुमा मैले पाले । त्यसपछि अहिले गाउँ नै भरिएको छ ।’ उनी भन्छिन्, ‘म खुसी छु । काम गरेर खानु नराम्रो होइन् ।’ उनले पनि गोर्खा पोल्ट्री फार्ममा कुखुरा पालेको देखेरै यतातिर लागेकी हुन् । गोर्खा भन्दा अघि धरान–१३ का बनेपालीले कुखुरा पाल्थे । उनकै घरबाट बेला बेला ल्याएर खान्थे पनि । दुई ठाउँमा देखेपछि उनलाई पनि कुखुरा पाल्ने सोच आएको उनी बताउँछिन् । १२ वर्षको अवधिमा उनले दुईपटक नराम्ररी घाटा पनि बेहोरिन । एकपटक ३ लाख रुपैया र एकपटक ४८ हजार रुपैया घाटा खेपिन । तर, पनि उनले हिम्मत हारिनन् । तीनलाख रुपैया घाटा दुईपटक पाल्दा मै पूर्ती गर्न सफल बनिन् । जुन बेला चारो, चल्ला सस्तो थियो । औषधि सस्तो थियो । सबैकुरा सस्तो थियो । तर, अहिले सबैकुरा महंगिएको छ । ‘दुई रुपैया पर्ने भ्याक्सिन अहिले ६–७ रुपैया पर्छ ।’ उनी भन्छिन्, ‘२९ रुपैया केजी पाउने चारो अहिले ६० नाघेको छ ।’ तर, उनले कुनै बेला एक लटमा ढेडलाख रुपैयासम्म नाफा पनि कमाएकी छन् । भन्छिन्, ‘घाटा मात्रै हुँदैन । कुखुरा मरिदिएन भने चाही नाफा हुन्छ । मैले ढेडलाख रुपैयासम्म कमाएको छु ।’ ६ जनाको परिवार उनले कुखुराले नै धानेकी छन् । तीनवर्ष अघिसम्म उनका श्रीमानले मिस्त्री काम गरेर घरखर्च चलाउँथे । तीनवर्ष यतादेखि बिरामी परेका कारण उनी मिस्त्री काम छाडेका छन् । घरमै बस्छन् । ‘श्रीमान मिस्त्री काम गर्नुहुन्थ्यो, तीनवर्षदेखि घरमै हुनुहुन्छ ।’ उनी भन्छिन् । कुखुराबाटै कमाएको पैसाले एकलाख ३५ हजार रुपैयामा ७ वर्ष अघि ऐलानीमा जग्गासमेत किनेकी छन् । त्यही एउटा खोर र घर निर्माण गरेकी छन् । ‘कुखुराले पैसा कमाउने बाटो देखायो । कुखुरा नहुँदा पैसा खेलाउन पाउदैन । हुँदा आइरहन्छ ।’ उनी भन्छिन् । उनी कुखुरा पालनबाट सन्तुष्ट मात्रै छैनन् । अहिले कुखुरा काट्ने फ्रेस हाउससमेत खोलेकी छन् । तीनवर्षदेखि फ्रेस हाउस सञ्चालनमा छ । दुईपटक घाटा खाएपछि त्यति धेरै घाटा बेहोरेको अनुभव उनीसँग छैन् । सुरुमा प्राविधिक ज्ञान नभएकी उनीसँग अहिले प्राविधिक ज्ञान पनि छ । कुखुरामा गम्बारो, रानीखेत लगायतका रोगहरुले संक्रमण ग¥यो कि डाक्टर बोलाएर उपचार गराइहाल्छिन् । उनीजस्ता महिलाहरुलाई उनको एउटै सुझाव छ, ‘सानो ठूलो नभनी काम ग¥यो भने सफलता पाइन्छ ।’