चितवन / चितवनको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानामाथि मोविल खन्याएर कालोमोसो दलेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मंगलबार चितवनको भरतपुरबाट नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता नारायण न्यौपानेलाई पक्राउ गरिएको हो। उक्त घटनामा पाँचजना संलग्न देखिएकाले सबैको पहिचान भइसकेको र खोजी जारी रहेको थापाले जानकारी दिए। पक्राउ परेका न्यौपानेलाई मंगलबार नै केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ।

अघिल्लो हप्ता इन्जिनियर ढुंगानालाई भ्रष्टाचार गरेको आरोप लगाउँदै कोलोमोसो दलिएको थियो । केही सार्वजनिक अपराध तथा सजाय ऐन अन्तरगत सबै विरुद्ध मुद्धा दर्ता भइसकेको प्रहरीले जनाएको छ। यसैबीच प्रहरीले जिल्लामा दसैं केन्द्रित सञ्चालन गरेको विशेष सुरक्षा योजना अन्तर्गत विभिन्न होटलमा अवाञ्छित क्रियाकलाप सञ्चालन गरेको आरोपमा तीनजना होटल सञ्चालक सहितका व्यक्तिहरु नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै मापसे गरेर सवारी चलाउनेलाई विभिन्न ठाउँमा प्रहरी परिचालन गरी नियन्त्रण अभियान चलाएको, सादा पोशाकमा प्रहरी परिचालन गरेको तथा चेकजाँचलाई कडाई पारिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। प्रहरीले शान्ति सुरक्षा कायम गर्दै अपराधि नियन्त्रणका लागि प्रहरकिो विशेष अनुसन्धान टोलीलै खटाएर सुरक्षा चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्लाका नाकाहरुमा समेत विशेष निगरानी बढाएको जनाइएको छ।

थाहाखबर