चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी चितवन शाखाले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताएका छन् । वामपन्थी तालमेलका विषयमा नेकपा माओवादी केन्द्र तयार रहे एमाले तयार रहेको उनले बताए । केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीयस्तरबाट पनि तालमेल गर्नुपर्ने बताए । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने उनले बताए । फरक प्रशंगमा उनले प्रदेश नं २ मा मत र वडाध्यक्षको हिसाबले एमाले दोस्रो शक्ति रहेको दाबी गरे । प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भएपनि २ नं प्रदेशमा समग्रमा एमाले दोस्रो भएको उनले बताए । पार्टीको आन्तरिक कमीकमजोरी, सरकारी बदमासी र अन्य दलको गठबन्धनका कारण २ नं प्रदेशमा एमाले पछि परेको पनि बताए । उनले काठमाडौँ वा रौतहटमध्ये एक ठाउँबाट आफू उम्मेदवार बन्ने बताए । उनले भने, “जहाँका जनताले माया गर्छन् त्यहीँबाट निर्वाचन लड्छु ।” स्थानीय तहको निर्वाचनको समयमा भएका कमीकमजोरीका कारण खोज्दै अघि बढ्ने नेता नेपालको भनाइ थियो ।