गौशाला/ बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको छ ।

औरही नगरपालिकामा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेकोे सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताए । बडादशैँको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजाराैँ पीडित (कारनी) र दर्शनार्थीको भीड । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् । सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनविश्वास छ ।

वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको अर्का पुजारी झगरु झाले बताए ।

मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेका छन् ।  सोनामाई शक्तिपीठमा थुपै्र धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् ।