‘हामीले १५ वर्षमा आमा भइसक्नुपर्छ’

विष्णु परियार

प्रभा (नाम परिवर्तन) १४ वर्षकी भइन् । उनकी हजुरआमालाई अब नातिनीको बिवाहको चिन्ताले दिनैपिच्छेले टाउको दुख्न सुरु भइसकेको छ । एक साँझ उनको घरमा पाहुन लाग्दै गर्दा हजुरआमाले हामीसँग यसरी गुनासो पोखिन् ‘आप जानते हो ना सर/मिस, उन लोगोको लैका सें हमरी प्रभाकी शादीकी बात चलरहि हंै, लड्का पुरा एसएलसी पास बा ।’

उनले अध्यारो अनुहार बनाउदै थपिन् ‘दहेज में एगो मोटरसाइकील औंर सवा पाँच लाख मगा हैं । हम इतना गरिब लोग बाटे कैसे देसकेम् इतना ढेउवा (पैसा) । आपको तो उनसे जानपहिचान बा कुछ बोलदियोना सर/मिस जी ।’ अगेनाको छेउमा बसेकी प्रभाले हजुरआमाको कुरा सुनिरहेकी थिइन् ।

उनले हजुरआमाको कुरामा न सही थपिन न त अस्वीकार । उनी हाम्रा लागि खाना पस्कदै थिइन् । उनीमा अलिकति पनि विद्रोहको भाव थिएन । ‘कति पढेकी छौ, की छैनौं ?’ मेरो प्रश्नले उनले मुख खोलिन् ‘पाँच कलासमा पढ्छु ।’ धन्न स्कूलको मुख देख्न त पाएकी रै छे मनमनै सम्झँे ।

‘अझै पढ्नु नी ?’ उनले भनिन् ‘दिदि यहाँ त धेरै पढ्यो भने त बिहे गर्न ढेउवा (पैसा) धेरै लाग्छ, हाम्रो ठाउँमा यस्तै हो, अब मेरो बिहे हुनैपर्छ ।’ मानसिक रुपमा ऊ पनि बिवाहको लागि तयार भइसकेकी रहिछ ।

‘घाँस काट्न, कपडा धुन, रोटी पकाउन, घर सफा गर्न सिकीसकेको छ, घरमा बिहेपछि त्यहि गर्ने हो, अनि छोरा पाइदिएपछि त पुगिहाल्यो नी ।’ हजुरआमाले नातिनीका गुणहरू सुनाइन ।

  प्रभा मात्र होइन यहाँका गाउँका अधिकांश बालिकाको १२/१३ वर्षदेखि बिहेको कुरा चल्छ । दाइजोको लागि कसीकसाउ हुन्छ । अनि १४/१५ वर्षमा विवाह भै बच्चाका आमा पनि बनिसक्छन् । यो हाम्रो देशको तराईको गाउँको परिवेश हो । जहाँ सयौं बालिकाको किशोर अवस्थाअघि नै बिवाह हुन्छ । आफै नानी बनेर खेल्ने कुद्ने उमेरमा नानीका आमा बन्नु पर्ने बाध्यता छ ।

निम्न र मध्यमवर्गीय अधिकांश परिवारको बाध्यता हो बालबिवाह । यहीका सम्पन्न परिवारका छोरीहरूले अबसर पाएकै छन् । तर गाउँका गरिब, अशिक्षित र बाध्यताले जकडिएको परिवार के गरोस् । तराई क्षेत्रमा छोरी पढाउन र दाइजो प्रथाविरुद्ध धेरै ठाउँबाट प्रयासहरू नभएका होइनन् । तर, किशोर अवस्थामै बिवाह गर्नु २० वर्ष पुगी सक्दा ३/४ वटा बच्चा जन्माइसक्नु यहाँका गाउँका (निम्न वर्गका) बालिकाको बाध्यता हो । अझ त्यसमाथि छोरा जन्मिए त फेरी गर्भवती हुनु नपर्ला ।

तर छोरी जन्मिए छोराका लागि पटकपटक गर्भवती बन्नै पर्छ ।  कम्तीमा २/३ वटा छोराको आश दुलाहा परिवारले राखेका हुन्छन् । फलस्वरुप तराईका गाउँका रिकान्ती, फुलमतिया, रुपझरिया र प्रभा जस्ता कलिला बालिकाले छोरी पेटमा रहेको कारण कयौंपटक गर्भपतन गराउनुर्छ । आफ्नो इच्छा नहुँदा नहुँदै र कमजोर स्वास्थ्यका बाबजुद पनि अनिच्छित गर्भधारण र सन्तान जन्माउनु पर्ने हुन्छ ।

तर २/३ छोरा त चाहिन्छ नै । गर्भनिरोधका अस्थायी साधनको प्रयोग अत्यन्तै न्युन छ । कोहि आए पनि छोरा छोरी कति छन् भनी सोध्दा ३ छोरी, ४ छोरा छन् भन्छन् । उमेर जम्मा २१/२२ ।  २५/२६ वर्षकै उमेरमा ६÷७ वटा सन्तानको जन्म, पटकपटकको गर्भपतन आदिले महिलाको स्वास्थ्यमा दीर्घकालिन समस्या धेरै हुन्छन् ।

त्यसमध्ये पाठेघर खस्ने, आमाको पाठेघर स्वस्थ नभएको कारण सुस्त मनस्थिति र अपांगता भएका सन्तान जन्मिने, जन्मिएका बच्चाको तौल कम हुनु सामान्य जस्तंै छ ।

उमेर अनुसारको शारीरिक र मानसिक विकास नहुनुले छोरा जन्मेर पनि परिवारको जिम्मेवारी लिन सक्छ भन्ने कसरी आशा राख्न सक्छन् ? यस्तो बच्चा जन्मेपछि पुनः अर्को सन्तान जन्माउने थप भार पनि तिनै कलिला आमाले ब्यहोर्नुपर्छ ।   यी सबै कारणले गरिबी, र निम्न चेतना नै हो ।

बच्चा नराम्रो जन्मिए भाग्यलाई दोष, अकालमा मातृ मृत्यु, सानै उमेरमा शिशु मृत्युको पिडा सधै खेप्नु परिरहेको छ । स्वास्थ्य र सरसफाई कमीले बच्चामा झाडापखाला, नियोनिया जस्ता समस्या  वर्षेनी दोहोरीरहेका छन् ।

 महिलामा ख्याउटेपना, रक्तअल्पता र प्रजनन् प्रक्रिया सम्बन्धी समस्या थपिइरहन्छन् । जसले गर्दा परिवार र सामाजिक रुपमा झन्ै पछाडि हुन्छ । धेरै सन्तान त्यसमाथि छोरीहरू, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको पहुँचबाट सधै टाढा र पछि परिरहन्छ ।

चेतनाको कमीले सेवाको उपयोग गर्नुबाट सधैं बञ्चित रहिरहन्छ । तराई सुन्दर छ र यहाँका मानिस पनि । सिंगो देशलाई पाल्ने अन्न यही उत्पादन हुन्छ । तर स्वस्थकर र सन्तुलित भोजनको अभाव प्रस्टै देखिन्छ तराईका गाउँबस्तीमा ।

ताजा अपडेट