धरान/भूमाफियाले धरानको खानेपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा स्वीकृतिबिना जथाभावी प्लटिङ तथा किनबेच गरिरहेका छन् । स्थानीय तह एवं सरोकारवाला निकाय मौन बसेपछि अवैध काम गर्न भूमाफिया अघि सरेका हुन् । जग्गा प्लटिङ गर्दा स्थानीय तहबाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी प्रावधान भए पनि जलाधार क्षेत्रमा पर्ने धरान–४ स्थित छोटीमोरङ डाडाँमा भूमाफियाले स्वीकृति नलिई प्लटिङ र किनबेच गरिरहेको पाइएको छ । जलाधार क्षेत्रसँगै कोसी राजमार्गसमेतमा क्षति पुग्नेगरी प्लटिङ र किनबेच भएको थाहा पाएर पनि धरान उपमहानगरपालिका र वन कार्यालयले रोक्न कुनै पहल गरेको छैन । नागरिक दैनिकका अनुसार, गैरकानुनी प्लटिङको जग्गा किनबेचमा उपमहानगरपालिका कार्यालयले नै सिफारिस गरिदिने गरेको पाइएको छ ।